अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

मानवअधिकार, मिडिया र सुरक्षा विधेयक फिर्ता लिन कांग्रेसको सरकारसंग माग

बिआरटीनेपाल २०७६ जेठ १ गते ४:१७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। नेपाली कांग्रेस संसदीय दलको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले संविधान प्रतिकूल हुने गरी आएका विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो।

संविधानको प्रस्तावना र भावना प्रतिकूल हुनेगरी आएका ती विधेयकहरू तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय दलको बैठकले गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । कांग्रेसले सरकारले ल्याएको मिडियासम्बन्धि विधेयकले प्रेस स्वतन्त्रताको हनन् गर्ने, मानव अधिकारसँग सम्बन्धित विधेयकले मानव अधिकारको खिल्ली उठाउने र राष्ट्रिय सुरक्षा परिषदसँग सम्बन्धित विधेयकले नेपाली सेनालाई नै प्रयोजनहीन बनाउने निष्कर्ष निकाल्दै त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो।

बैठकले ती विधेयक तत्काल फिर्ता गरेर संसदलाई सहज ढंगले संचालन नगरे सरकारविरुद्ध सडक र संसदमा संघर्ष गर्ने चेतावनी पनि दिएको छ। ती विधेयक तत्काल फिर्ता नभए सरकारविरुद्ध सदन र सडक दुवै ठाउँबाट संघर्ष गर्ने निर्णय पनि गरिएको प्रमुख सचेतक खाँणले बताउनुभयो ।नेपाली कांग्रेसले सरकार निरंकुशताको यात्रामा निरन्तर अघि बढिरहेको आरोप पनि लगाउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू