अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

मुलुकमा परिवर्तनलाई संस्थागत हुन नदिने प्रयास जारी– प्रचण्ड

बिआरटीनेपाल २०७६ वैशाख १० गते ९:३९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा भइरहेका पछिल्ला गतिविधिले परिवर्तनलाई संस्थागत गर्न नदिन प्रयास भइरहेको बताउनुभएको छ । उहाँले आफू अमेरिका जाँदा भएका गतिविधि र मुलुकमा पूर्वराजादेखि केही राजनीतिक दलहरूले गरिरहेका गतिविधिले नेपालको इतिहासदेखि भइरहेको अस्थिरतालाई सम्झाएको बताउनुभयो ।

राजधानीमा मंगलबार आदिवासी आयोगका मुद्दा, चासो र अधिकारका बिषयमा आयोजित उच्चस्तरीय बहस कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिबन्धित नेकपाका प्रमुख नेत्रविक्रम चन्द विप्लव आदिवासी जनताजाती र संघीयताको पक्षमा नभएको समेत बताउनुभयो । अधिकारका लागि अब हतियार उठाउन आवश्यक नभएको प्रचण्डको भनाई थियो । अब पनि हिंसाबाट अधिकार प्राप्त हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने उहाको भनाई थियो ।

२००७ सालमा विपीले गरेको क्रान्तिलाई २०१७ सालमा उल्ट्याइएको र २०४७ सालमा गणेशमानसिंहहरूले गरेको परिवर्तन संस्थागत हुन नपाउँदै उल्टिएको प्रचण्डको भनाइ थियो । उहाँले नेपालमा ८/१० वर्षमा राजनीतिक परिवर्तन उल्ट्याइने गरेको बताउनुभयो । प्रचण्डले २०६२ मा भएको परिवर्तन गुणात्मक भएको भन्दै यसलाई उल्ट्याउन खोज्नेलाई रोक्ने क्षमता आफूहरूसँग भएको पनि दावी गर्नुभएको छ ।

मुलुकमा रहेका आदिवासी जनजातीको पक्षमा विगतमा विद्रोह गर्नुपरेको र संविधानमा पनि ती समुदायका पक्षमा आफूले फरक मत राखेको भन्दै प्रचण्डले थारु, दलित, मुस्लिम, समावेशी, आदिवासी आयोगहरूलाई सबल बनाउनुपर्ने धारणा राख्नुभयो । अधिकार प्राप्तिको लागि शान्तिपूर्ण प्रदर्शन गर्नुपर्ने र नेतृत्वलाई बेलाबेला झक्झक्याइरहनुपर्ने प्रचण्डको धारणा थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू