अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

नेपाली कम्युनिस्ट आन्दोलन आक्रामक – प्रचण्ड

बिआरटीनेपाल २०७६ वैशाख ९ गते ९:२१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल नेपाली कम्युनिष्ट आन्दोलन सामाजिक, राजनीतिक र वैचारिक हिसाबले आक्रामक रुपमा अघि बढेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलन आक्रामक रुपमा अगाडि बढेको बताउनुभएको हो ।

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकतापछि जिल्ला तहको नेतृत्व टुंग्याउनु फलामे ढोका फोर्नु सरह भएको प्रचण्डले बताउनुभयो । एकतापछि निकै जटिल बनेको जिल्ला तहको नेतृत्व चयन गर्न धेरै मेहनत गर्नुपरेको उहाँको भनाई थियो ।

एकता प्रक्रियामा ढिलाइ भएको स्वीकार्दै अब यो प्रक्रियाले पूर्णता पाउने प्रचण्डको दावी थियो । विगतका बनिबनाउ विचार र सिद्धान्तले मात्र सामाजिक रुपान्तरण सम्भव नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जरुरी पर्दा गुणात्मक फड्को मार्ने आँट नगर्नेले क्रान्ति र परिवर्तनको नेतृत्व गर्न नसक्ने ठहर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले अवको एक बर्षभित्र पार्टीको महाधिवेशन गरिसक्ने दावी पनि गर्नुभएको छ । ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षमा महाधिवेशन गर्ने उहाको भनाई थियो । जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको पनि प्रचण्डले दावी गर्नुभयो । पार्टीका अधिवेशनलाई भ्रष्टाचार, ढिलासुस्ती, बेइमानी, जालझेलका विरुद्ध अभियानको रुपमा लैजानुपर्ने उहाँको ठहर छ ।

आफूहरु सन्तुष्टि लिएर मात्रै बस्न नहुने भन्दै प्रचण्डले नेकपाभित्रका कमीकमजोरीलाई समीक्षा गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । नेपाली कम्युनिष्ट आन्दोलनलाई विश्वले अनुकरण गर्ने गरी अगाडि बढ्नु पर्ने पनि उहाँले बताउनुभयो । विगतका विकृति र विसङ्गतिबाट शिक्षा लिँदै पार्टीलाई शुद्धीकरणको बाटोमा लैजानु पर्ने प्रचण्डको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू