अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

फोरम नेपालसँग वार्ता गर्न राजपा नेपालद्धारा वार्ता समिति गठन

बिआरटीनेपाल २०७५ चैत ६ गते ९:४२ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय समाजवादी फोरम नेपालसँग वार्ता गर्नका लागि एक समिति गठन गरेको छ । फागुन २९ गतेदेखि चैत १ गतेसम्म काठमांडौंको एक होटलमा बसेको राजपा नेपालको गोप्य बैठकले यो निर्णय गरेको हो । चैत १ गते फोरम नेपाललगायत विभिन्न दलसँग वार्ता गर्नका लागि राजेन्द्र महतोलाई संयोजक तोकेको थियो तर सो वार्ता समितिले चैत ५ गते मात्र पूर्णता पाएको हो ।

वार्ता समितिमा संयोजक महतो रहनुभएको छ भने अन्य सदस्यहरुमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा हुनुहुन्छ । फोरम नेपालले मंसिर २३ गते केन्द्रीय समितिको बैठकबाट पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । वार्ता समिति गठन गरेपनि हालसम्म राजपा नेपालसँग औपचारिक वार्ता भएको छैन ।

फोरम नेपालले वार्ता समिति गठन गरेको कुरा आफूहरुलाई औपचारिक जानकारी नआएको राजपा नेपालले प्रतिकृया दिएपछि फोरम नेपालले एक महिनाअघि औपचारिक पत्र नै पठाएको थियो । सो पत्रको आधारमा नै राजपा नेपालले आफ्नो तर्फबाट पनि वार्ता समिति गठन गरेको हो । स्रोतका अनुसार राजपा नेपालले फोरम नेपाललाई वार्ताका लागि पत्र पनि पठाएको छ ।

यसैबीच अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवको संयोजकत्वमा प्रदेश सरकार संयोजन समिति पनि गठन गरेको छ । अनिल कुमार झाको संयोजकत्वमा स्थानीय तह संयोजन समिति समेत गठन गरेको छ । त्यसैगरि, राजकिशोर यादवको संयोजकत्वमा केन्द्रीय प्रशिक्षण विभाग गठन गरेको छ ।

त्यसैगरि, चक्रिय प्रणाली अनुसार अध्यक्षमण्डलको संयोजकमा शरतसिंह भण्डारीलाई नियुक्त गरेको छ । दुई दुई महिनामा अध्यक्षमण्डल संयोजक फेर्ने प्रावधान अनुसार भण्डारी संयोजक बन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू