अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

तेस्रो लिङ्गीले नागरिकता सच्याउन ‘मेडिकल प्रमाण चाहिने

बिआरटीनेपाल २०७५ फागुन २६ गते ९:३७ मा प्रकाशित

नागरिकतामा उल्लेखित नाम र लिंग परितर्तन गर्न चाहे तेस्रो लिङ्गीले चिकित्सकबाट प्रमाणीकरण मेडिकल प्रमाण पेस गर्नुपर्ने भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आज तेस्रो लिंगीलाई ‘अन्य’ नै भनेर नागरिकता दिने र यसअघि नागरिकता लिइसकेकाले आफ्नो लिङ्ग परिवर्तन भएको भनी लैङ्गिक पहिचान र नाम फेर्न चाहेमा चिकित्सकले प्रमाणीकरण गरेको कागजात पेस गर्नुपर्ने प्रावधान राख्ने सहमति गरेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो ।

समितिमा केही सांसदले ‘तेस्रो लिङ्गी’ भनेर वा अन्य केही भनेर नागरिकता दिने कि भन्ने प्रस्ताव राखेका थिए । तर, गृहसचिव प्रेमकुमार राईले विश्वमै ‘अन्य’ भनेर तेस्रो लिङ्गीलाई नागरिकता दिने अभ्यास रहेको उल्लेख गर्दै नेपालले पनि त्यही व्यवस्थालाई निरन्तरता दिँदा उपयुक्त हुने सुझाउनुभएको थियो । छलफलमा नेकपाका सांसद जनार्दन शर्माले आफू तेस्रो लिङ्गी हुँ भन्दै निवेदन दिने सबैलाई त्यस अनुसारको नागरिकता दिन नहुने, त्यसो गरिए विकृति बढेर जाने बताउनुभएको थियो ।

नेकपाकै सांसद यसोदा सुवेदीले तेस्रो लिङ्गी हुँ र नाम फेर्न चाहन्छु भनेको अवस्थामा तेस्रो लिङ्गी हो वा होइन भन्ने चिकित्सकले प्रमाणित गरेको कागजात पसे गर्नुपर्ने प्रावधान राख्न प्रस्ताव गर्नुभएको थियो । अन्य भनेर नागरिकता प्रदान गर्दा पनि पुरुष रूपको महिला, महिला रूपको पुरुष वा दुबै लिङ्ग भएको हो, के हो त्यसको विवरण भने सरकारले आफ्नो रेकर्डमा राख्ने सहमति पनि समितिले गरेको छ ।

यसैविच नेपाल नागरिकता ऐन, २०६३ को दफा १७ मा नागरिकतामा उल्लेखित विवरण सच्याउन सकिने व्यवस्था संशोधन गर्दै समितिले एक पटक मात्रै सच्याउन सकिने व्यवस्था राख्ने सहमति गरेको छ । छलफलमा नेकपा सांसद विजय सुब्बाले नागरिकता जारी भएको एक वर्षभित्र एक पटक मात्रै नागरिकतामा विवरण त्रुटि भए सच्याउन सकिने व्यवस्था राख्नुपर्ने बताउनुभएको थियो ।
सांसद रेखा शर्माले उमेर नमिलेका कारण धेरै बृद्धबृद्धाले भत्ता पाउन नसकेको उल्लेख गर्दै नागरिकता जारी भएको एक वर्षभित्र मात्रै भन्न नसकिने बताउनुभएको थियो । सांसद पम्फा भुसालले ‘एक पटक सबैलाई दिउँ एक वर्ष भन्ने बाध्यकारी व्यवस्था नराखौं’ भन्ने प्रस्ताव गर्नुभएको हो ।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले विगतमा एकै व्यक्तिले धेरै पटक नागरिकतामा उल्लेखित विवरण सच्याएको र त्यसले विकृति समेत फैलाएकोले विवरण सच्याउने सन्दर्भमा कसिलो व्यवस्था गर्ने सरकारको उद्देश्य रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू