अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 11:14

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना – एकै दिनमा फर्कियो जाँचबुझ टोली

बिआरटीनेपाल २०७५ फागुन २६ गते ९:३६ मा प्रकाशित

गत फागुन १५ गते ताप्लेजुङको सिस्नेखोला स्थित तारेभीरमा भएको हेलिकोप्टर दुर्घटना जाँचबुझका लागि सरकारले गठन गरेको समिति एकैदिनमा काठमाडौं फर्किएको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको विषयमा छानविन गर्न सरकारद्धार गठित जाँचबुझ समिति आइतबार बिहान राजधानीबाट पाथीभरा मन्दिर पुगेको समितिले दिउँसो घटनाका प्रत्यक्षदर्शी,स्थानीय बासिन्दा र प्रहरी टोलीसँग सुकेटारमा छलफल गरेको थियो ।

घटनाका प्रत्यक्षदर्शी, स्थानीय बासिन्दा र प्रहरी टोलीलाई हेलिकोप्टरमा काफ्लेपाटीबाट सुकेटार ल्याएर त्यहिँ छलफल गरेपछि टोली काठमाडौं फिर्ता भएको हो । पाथीभरा मन्दिर पुगेको टोलीले त्यहाँका पुजारी र घटनासँग सरोकार राख्ने अन्यसँग मन्दिर परिसरमै जानकारी लिएको थियो । दुर्घटना भएकै दिन नेपाल सरकार, मन्त्रीपरिषद् बैठकले नेपाल सरकारका पूर्व सचिव यज्ञ गौतमको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बाँस्तोला, नेपाली सेनाका अवकासप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिवको जिम्मेवारीमा रहनुभएको छ ।

ताप्लेजुङमै २०६३ साल असोज ७ गते तत्कालीन वन राज्यमन्त्री गोपाल राई सहित २४ जना सवार हेलिकोप्टर दुर्घटना हुँदा सरकारले गठन गरेको जाँचबुझ समितिमा पनि गौतम सदस्य हुनुहुन्थ्यो । गत बुधबार नै घटनास्थलमा जाने लक्ष्य बनाएको समितिले जाँचबुझको गृहकार्य नसकिएको भन्दै स्थलगत भ्रमणलाई केहिदिन पर सारेको थियो । यसअघि नागरिक उड्यन प्राधिकरणको टोली समेत आन्तरिक जाँचबुझका लागि घटनास्थल खटिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू