अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

चिकित्सकको आन्दोलन – देशैभर आकस्मिक बाहेकका सेवा बहिस्कार

बिआरटीनेपाल २०७५ फागुन १० गते ९:०१ मा प्रकाशित

आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन् । स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।

उनीहरुले शुक्रबार बिहान करिव १० बजेतिर वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरेका थिए । स्थानीय तहको मातहत रहने तथा आफूहरुको वृत्ति विकास समेत नहुने गरी ल्याएको सो ऐन सच्याउन सरकारलाई बाध्य पार्न एक दिन अस्पतालको सेवाहरु बहिष्कार गर्नु परेको सरकारी चिकित्सक संघ, नेपाल (गोदान)का अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

सरकारी चिकित्सकहरुले आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन विगत १ महिनायता विरोध प्रर्दशन र धर्नासहितको कार्यक्रम गर्दै आएको थियो। अध्यक्ष पाण्डेले सरकारले शान्तिपूर्ण आन्दोलन गरिरहेका आफूहरुको माग सुनुवाई नगरेपछि अस्पतालको सेवा नै बहिष्कार गर्ने लगायतका आन्दोलनका कडा कार्यक्रम सुरु गर्नु परेको स्पष्ट पार्नुभएको छ । सरकारी चिकित्सकहरुले अस्पतालको सेवा बहिष्कार गर्दा पनि आफूहरुको माग सम्बोधन गर्न सरकार तयार नभए सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन्।

यसैबीच, शुक्रबार वीर अस्पताल पुगेका विरामीहरुले आफूहरुलाई बिचल्लीमा पारेको भन्दै सरकारी चिकित्सकहरुप्रति आक्रोश व्यक्त गरेका छन् । अस्पतालमा पुगेका विरामीहरुले आफूहरु अस्पताल आएको तर टिकट काउन्टरनै बन्द भएको भन्दै गुनासो समेत गरेका छन् । अस्पताल आएका विरामीहरुले उपचार गर्न समेत नपाउने अवस्था आएकोमा आपत्ति समेत जनाएका छन् । सरकारले स्थानीय तहको मातहत रहने व्यवस्थासहित निजामती कर्मचारी ऐन ल्याएपछि त्यसलाई सच्याउन माग गर्दै सरकारी चिकित्सकहरुले आन्दोलनको कार्यक्रमलाई झनै सशक्त बनाउँदै लगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू