अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 06:33

आउने भयो “शब्दालय” साहित्यिक पत्रिका

बिआरटीनेपाल २०७५ फागुन १ गते १०:५७ मा प्रकाशित

नेपाली साहित्यिक पत्रिका “शब्दालय” प्रकाशन हुने भएको छ । हाललाई त्रैमासिक ई- पत्रिकाकाको रूपमा प्रकाशन गरिने र निकट भविष्यमा साप्ताहिक रूपमा प्रकाशन हुने सम्पादक समूहका गोवर्धन पूजाले बताए । साहित्यिक पत्रकारितामा लामो अनुभव सँगालेका पूजाले शब्दालय साहित्यिक सम्पूर्ण पत्रिका हुने बताउँदै वेब साइट तयार भइरहेकाले आगामी दिनमा यसलाई सबैको पत्रिका बनाउन प्रयास गर्ने बताए ।

नेपाली साहित्यलाई विश्व पाठकमाझ पुरयाउने, घर देश र परदेशका साहित्यिक सिर्जनालाई समन्वय गरेर साहित्यिक विकासमा टेवा पुरयाउने उद्देश्य बोकेको उक्त प्रयासले नेपाल र काम विशेष प्रवासमा रहेका सर्जकबिच पुलको काम गर्ने उनको दाबी छ । अन्नपूर्ण पोस्ट दैनिकमा आठ वर्ष वरिष्ठ उपसम्पादकका रूपमा काम गरेका पूजाले आकाश, अनावरण, वृष्टि, अन्तर्दृष्टि, कालान्तर, समानान्तर ण, मधुरसलगायतका दर्जनौँ विविध पत्रिकाका सम्पादकका रूपमा अनुभव सँगालेका छन् । पूजाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिवका रूपमा दुई कार्यकाल काम पनि गरेका थिए ।

सम्पादक मण्डलका कृष्ण कुसुमले शब्दालय पत्रिकालाई उत्कृष्ट बनाउन सबै प्रयास गरिने बताउँदै साहित्यकारको कलमको सम्मानार्थ वर्षभरिमा प्रकाशित सिर्जना मध्ये गद्य र पद्धबाट एक एक सिर्जनालाई २५०/ २५० अमेरिकी डलरसहितको सम्मान पनि दिइने बताए ।

सम्पादक मण्डलकै अर्का सदस्य राजकुमार पुडासैनीले शब्दालयले विदेशमा रहेका साहित्यकारहरूको कृति प्रकाशनमा पनि सहयोग पुरयाउने बताउँदै कृति प्रकाशन गर्न चाहने सर्जकको कृति प्रकाशन गर्न सहयोग गर्ने, सम्पादन, छापाखाना र डेक्सटपको काममा शब्दालय परिवारले सहयोग गर्ने बताए । 

साहित्यकार सतिश त्रिपाठीले शब्दालयले प्रवासी साहित्यकारको प्रकाशित कृति वितरणमा सहयोग गर्ने उद्देश्य राखेको बताउँदै नेपाली साहित्यको फैलावटमा विशेष काम गर्ने बताए । त्रिपाठी पनि सम्पादक समूहमा रहेका छन् ।

विश्वका विभिन्न मुलुकमा रहेका साहित्यिक सर्जकहरूको आवद्दता रहेको शब्दालय प्रकाशनले नेपालमा छिट्टै प्रकाशन गृह सञ्चालन गरेर नेपाली साहित्यको सेवामा लागेका सर्जकको कृति प्रकाशनमा सहयोग गर्ने उद्देश्य राखेर काम आरम्भ गरेको छ । 

प्रतिक्रिया