अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

अफगान सुरक्षा केन्द्रमा तालिवानको आक्रमण, कम्तीमा ६५ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ माघ ८ गते ८:३५ मा प्रकाशित

अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको छ । अफगान सुरक्षा निकायले जनाए अनुसार गुप्तचर निकायको तालिम केन्द्रमा शुरुमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधन विस्फोट गराइएको थियो । त्यसलगत्तै कारमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको सुरक्षा स्रोतले जनाएको छ ।

आफ्नो नाम बताउन नचाहने एक जना उच्च सुरक्षा अधिकारीले आक्रमणबाट ७० जनाभन्दा बढी मारिएको हुनसक्ने बताएका छन् । यसअघि प्रान्तीय अधिकारीहरुले उक्त आक्रमणबाट १२ जना मात्र मारिएको बताएका थिए । तर, केही सञ्चार माध्यमले १०० जनाभन्दा बढीको मृत्यु भएको समाचार सार्वजनिक गरेका छन् ।

राष्ट्रिय सुरक्षा विभाग (एनडीएस)को तालिम केन्द्रमा आक्रमण भएकाले मृतकको वास्तविक संख्या बाहिर आएको छैन । राजधानी काबुलबाट करिब ५० किलोमिटर दक्षिणको मैदान शाहरमा उक्त तालिम केन्द्र रहेको छ । आक्रमणबाट तालिम केन्द्रको भवनको छाना आंशिक ध्वस्त भएको छ ।

आइतबार मात्र तालिबानी आत्मघाती आक्रमणबाट लोगार प्रान्तका गभर्नरको सुरक्षामा खटिएका सात जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । सुरक्षा फौज र तालिबान लडाकूबीचको सङ्घर्ष पछिल्ला दिनमा अझ बढेको अनुभव गरिएको छ । विगतमा अफगानिस्तानमा चिसो मौसममा प्रत्यक्ष युद्धका घटना कम हुने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू