अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

सरकार गैर–जिम्मेवार देखियो – विवेकशील नेपाली

बिआरटीनेपाल २०७५ माघ ४ गते ५:०८ मा प्रकाशित

विवेकशील नेपाली दलले डा.गोविन्द केसीको अनसनमा सरकार गैर–जिम्मेवार बनेको आरोप लगाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै दलले अघिल्ला सत्याग्रहका बेला डा.केसीसित गरेको सम्झौता कार्यान्वयन नगरेका कारण यो अवस्था आएको स्पष्ट पारेको हो ।

’आज डा केसीको अनशनको दशौँ दिन पुगिसक्दा पनि सरकारका तर्फबाट उहाँको जीवन रक्षाका लागि कुनै पहल नहुनुले सरकारको चरम गैर–जिम्मेवारीपन र संवेदना विहीनता देखाउँछ’ दलको विज्ञप्तिमा भनिएको छ,’डा केसीले उठाउनुभएका स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्र सुधारका मुद्दाहरुमा समेत सरकारको ध्यान पुगेको देखिंदैन जबकि ती क्षेत्रको विकास र सुधार राज्यकै जिम्मेवारीको कुरा हो।’

यससँगै विज्ञप्तिमा हालै खोज पत्रकारिता केन्द्र (खोपके)ले विदेशमा शङ्कास्पद लगानी गर्ने नेपालीहरूको खोजबिन गर्ने क्रममा ज्युरिकको स्विस नेसनल बैङ्कमा मात्र ५२ अर्बभन्दा बढी रकम नेपालीको नाममा रहेको भेट्टाएको विषयमा पनि दलले गम्भीर ध्यानाकर्षण गरेको छ ।
’भ्रष्ट्राचार विरोधी अभियानमा निरन्तर लागेका हिसाबले हामी यस खोजविनमा उल्लेख्य काम गरेकोमा खोपके नेतृत्व लाई धन्यवाद दिन चाहान्छौं । स्विस बैङ्कमा जम्मा रकमको अझै मिहिन छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं’ दलको विज्ञप्तिमा भनिएको छ,’विदेशमा लगानी गरेका भनिएका नेपालीहरूका बारे पनि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाहीको लागि माग गर्दछौं’।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू