अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

दुवै अनशनकारीलाई एकै ठाउँमा राखेर उपचार गर्न सकिँदैन – त्रि.वि.शिक्षण अस्पताल

बिआरटीनेपाल २०७५ माघ ४ गते ३:३५ मा प्रकाशित

त्रिवि शिक्षण अस्पतालले एउटै अस्पतालमा दुई जना अनशनकारीलाई राख्न नसकिने बताएको छ। डा. गोविन्द केसीका मागका विरुद्ध अनशन बसेका विजय थापालाई पनि शिक्षण अस्पतालमा भर्ना गर्न नसकिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम खड्गीले बताउनुभयो । उहाँले शिक्षण अस्पतालमा आइसियु नभएकाले थापालाई अन्यत्र राख्नका लागि आग्रह गर्नुभएको हो । अस्पतालमा ११ वटा बेड भएता पनि सबै फुल भएकाले अनशनरत थापालाई टिचिङमा राख्न नसकिने उहाको भनाई थियो ।

यसैगरी, विपरीत माग राखेर अनशन बसेका दुवैलाई एक ठाउँमा राख्दा आउने दबाबलाई झेल्न गाह्रो हुने भन्दै खड्गीले अन्यत्र राख्दा राम्रो हुने बताउनुभएको हो । तर अनशनरत थापालाई टिचिङमै आपत्कालीन कक्षमा राखिएको उहाको भनाई छ । दुईविपरीत माग राख्नेहरु एउटै अस्पतालमा भर्ना भएकोले आइपर्ने सुरक्षा संवेदनशीलतालाई मध्यनगर गर्दै अस्पताल परिषरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । अहिले शिक्षण अस्पतालमा व्यापकरूपमा प्रहरी परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पूर्वसहमतिअनुसार विधेयक पारित नभएको भन्दै डा. केसीले पुस २५ गतेदेखि अनशन सुरु गर्नुभएको थियो । उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उहाँलाई शुक्रबार बिहान सेनाको नाइटभिजनबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिँदै छ । डा.केसीको उपचारका लागि पाँच जनाको टोलीसमेत गठन गरिइएको छ। त्यस्तै अनशनरत डा केसीका भन्दाविपरीत माग राखेर अनशन बस्नुभएका थापाको पनि स्वास्थ्य अवस्था बिग्रिएपछि शुक्रबार दिउँसो सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। थापालाई अहिले शिक्षण अस्पतालको आपत्कालीन कक्षमा भर्ना गरिएको शिक्षण अस्पतालले जनाएको छ। डा. केसी अनशन बसेको दोस्रो दिनपछि थापाले अनशन सुरु गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू