अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

निर्मला हत्या प्रकरण – परिवारमा राहत लिने विषयमा विवाद, आमा दुर्गादेवीमाथि कुटपीट

बिआरटीनेपाल २०७५ पुष २६ गते ८:४७ मा प्रकाशित

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोर निर्मला पन्तको परिवारमा राहतको रकम बाँडफाँटको विषयमा विवाद चुलिएको छ । निर्मलाकी आमा दुर्गादेवी पन्तले डिएनए म्याच गर्नका लागि रगतको नमूना दिँदै राहतको रकम बुझ्न तयार रहेको बताएपछि विवाद सुरु भएको हो। निर्मला पन्तकी आमा दुर्गादेवि पन्तलाई उहाँकै श्रीमान् यज्ञराज पन्तले राहतकै विषयलाई लिएर कुटपिट गरेका छन् ।

निर्मलाकी आमा दुर्गाले डिएनए म्याचका लागि रगत दिएसँगै राहत बुझ्ने बताएपछि यज्ञराजले उनलाई कुटपिट गरेका हुन् । बुधबार निर्मलाकी आमा दुर्गाले प्रहरीमा निवेदन दिएर निर्मलाकै भेजाइनल स्वाब निकालिएको हो, वा होइन भनी यकिन गर्नका लागि रगतको नमुना दिनुभएको थियो । बिहीबार बिहानै निर्मला र दुर्गाकी छोरी बस्ने भीमदत्त नगरपालिका– २ उल्टाखाम घरमै पुगेर यज्ञराजले निर्मलाकी आमा दुर्गालाई कुटपिट गरेका हुन । ‘दुवै छोरी स्कुल गएका थिए, म भान्साका भात पकाइरहेकी थिए,’ दुर्गाले भन्नुभयो , ‘यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट र्गयो।’ भान्सामै यज्ञराजले दुर्गालाई कुटपिट गर्न थालेपछि दुर्गा भात पकाउन छाडेर भागेकी थिइन्। प्रेसर कुकरमा राखिएको भातसहित भाँडो जलेको थियो । भान्सामा कुटपिट गर्न थालेपछि आफू बाँच्नका बाहिर आएको उहाँले बताउनुभयो ।

यज्ञराजले दुर्गाको मोबाइलसमेत खोसेर आफूसँगै राखेका थिए । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले यज्ञराजबाट मोबाइल मागेर दुर्गालाई बुझाइदिएको छ । निर्मलाका बाबु यज्ञराज र कान्छी आमा लक्ष्मीले घरपरिवारसँग सरसल्लाह नै नगरी अरूले उस्काएको भरमा रगत दिएको र राहत बुझ्न सहमत भएको आरोप लगाएका छन्। तर, निर्मलाकी आमा दुर्गाले न्याय पर्खिँदापर्खिँदा दुई छोरीमाथि पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्ने बताउनुभयो । निर्मलाकी कान्छी आमा लक्ष्मीले आफूलाई राहत र पैसाको रतीभरको लोभ नभएको र छोरीको न्यायका लागि धर्नामा बसेको बताउँदै उनले छोरीले न्याय नपाउँन्जेलसम्म आन्दोलन जारी राख्ने अडान राख्नुभएको छ ।

त्यस्तै निर्मलाकी आमा दुर्गाले राहतको रकम बुझे घरमै आएर आत्महत्या गर्ने यज्ञराजले चेतावनी दिएको बताउनुभएको छ ।सरकारले निर्मलाको परिवारलाई १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । तर, निर्मलाका बाबु यज्ञराजले आफूले श्रीमतीलाई कुटपिट नगरेको दाबी गरेका छन् । सल्लाहविना नै रगत दिएको र राहत बुझ्ने भनेर सोधेको मात्रै उनले बताए । ‘मैले शुरुदेखि छोरी निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेको थिएँ,‘ यज्ञराजले भनेका छन् , ‘अहिले आएर अरूको उक्साहाटमा लागेर राहत बुझ्ने रगत दिने ।’ आफू पुषको महिनामा धर्नामा बसेर चिसो खाइरहेको भन्दै रगत नदेऊभन्दा भन्दै दिएको र सरकारले घोषणा गरेको रकम कहीँ नजाने भन्दै आफ्नो सहमतिबिनै बुझ्छु भनेपछि आपत्ति जनाएको यज्ञराजको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू