अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

यातायात विभागका पूर्वमहानिर्देशक श्रेष्ठविरुद्ध अकुत सम्पतिको मुद्दा

बिआरटीनेपाल २०७५ पुष २५ गते ८:५१ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक तथा हाल वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा एक करोड ३४ लाख ५७६ रूपैयाँ अवैध आर्जन गरेको जिकिरसहित मुद्दा दायर गरेको हो ।

सहसचिव श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार आरोपपत्र दायर गरिएको अख्तियारका उपसचिव एवं सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो । श्रेष्ठले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक हुँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ। आयोगका अनुसार श्रेष्ठले २०३८ माघमा सार्वजनिक पद धारण गरेयता २ करोड १० लाख ७७ हजार रुपैयाँ आयआर्जन गर्नुभएको थियो ।

सोही अवधिमा आफ्नो र परिवारका सदस्यहरूको नाममा विभिन्न शीर्षकमा ३ करोड ४४ लाख ७७ हजार खर्च गरेको अख्तियारको दाबी छ । स्रोत नखुलेको बाँकी १ करोड ३४ लाख विगो कायम गरी जरिवाना र कैद सजाय गर्न माग दाबी गरिएको सहायक प्रवक्ता कोईरालाले जानकारी दिए। अख्तियारले श्रेष्ठकी श्रीमती जमुना तण्डुकार र जिल्ला नवलपरासी स्वाठीकी भगवती योगीको नाममा राखेको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ । यस्तैगरी तण्डुकार र योगीलाईसमेत प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू