अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

भर्खरको रहेछ, मरयो हगि

कपिल सुबेदी २०७५ पुष २४ गते २०:४६ मा प्रकाशित

कथा

हरे शिव, यसलाई जीवनको कत्रो मोह थियो होला, भर्खरको रहेछ, मरयो हगि । कैलाशतर्फ फर्केर नोर्माले भनी,

दुईचार दिन देखि लड्खडाएर हिँडिरहेको कैलाशले त्यसलाई देखेको हो । आज भाले पोथी दुवैसँग त्यो थियो । त्यसको बिजोगको अन्तिम छेउ थाहा पाएर होला, त्यसको दीन ताको अन्त्यको सन्निकटता आभास भएर होला । सल्लाका तिखा पातहरूबिच दरफरिदै त्यो भुइँमा बजारिए पछि एकैछिनमा मर्‍यो । छेउमा बसेका दुइटा मध्य एउटा अलि बढी करायो । नोर्माले भनी त्यो पोथी हो । फट्ट उडेर ती दुवै खरीको हाँगामा चढेपछि कैलाशले मरेको त्यो चराको बच्चालार्ई डम्पस्टरमा लगेर फालिदियो । एउटा चरा मरेकोमा द्रविभत हुने नोर्मा अवश्यै संवेदनाहरूले धनी छे मनको सम्पत्तिले उदार छे ।

पैँतिस वर्षीया नोर्माको मुहार एउटा हिस्सीको लावाले लपेटिए पछि यो दिन पनि पुरुषका पाप छेकिदिने दिवारहरु चर्कन प्रयास गर्छन् । उसलाई अठार वर्षको नानामा उतारेर कल्पनाको राजसी पीगंहरुमा सहभागी हुन तीनलाई मन पर्छ । प्रेमको परिभाषालाई पलभरलाई होस् पुर्नब्याख्या गर्न हौसिन्छन् । किनकि नोर्मा सुन्दर छे । आवश्यक ढाँट सँग उ कहिल्यै उदासीन पनि छैन । उसको पहिरन र श्रृगांर उसको बौदिकतालाई शर्मामा परिदिने खालको पनि यद्यपि हुँदैन । उसको वासहीनतालाई अतार्किक बनाउने खालको पनि हुँदैन ।

अर्को दिन पनि सदा झैँ उ कैलाशको बिहानको कार्यतालिकाको अबिछिन्नता खोस्ने पहिली ग्राहक भई । मूलढोकाबाट असाबधान दौडेको एउटा कारलाई सरापी र त्यो अपशब्दहरूको असभ्यताले निम्त्याउने अपसकून मा लक्ष्य गर्दै कैलाश सँग माफ पनि मागी । के तँ अन्धविश्वासमा भर गर्छेस् । कैलाशलाई सोध्न मन लाग्यो तर सोधेन । किनकि एउटा शालीन तर्क बाजीमा ईश्वर पनि त अन्ध विश्वास भइरहेकै छ नि भनिसकेकी थिई उसले केही दिन अघि ।

हामी अब ब्राड्ली तिर लाग्छौ बुझिस्स । उसको तर्कको आधार मजाकको निकास मात्र हो भन्ने बुझ्न सकिन्थ्यो ।

किन ? कैलाशले सानो झोकको छाप उसको उत्तरको सहकारी भएको नोर्माले देखोस् भनेर नै भन्यो, अलि सिधै । उसले तर कैलाशको आशयको महसुस भयेको जनाऊ दिइन । उ साँच्चै पारिपट्टिको स्टोर गएकी थिइन, कफी घोल्दै हाँस्दै थिई ।

तर एउटा कुरा भने थपी — ब्राडली ले स्वदेशी तेल बेच्छ । अनि सस्तो पनि तिमीहरू भन्दा । तर म अनावश्यक राष्ट्रवादी त होइन है ।
गए हुन्छ – कैलाशले भनिदियो, फेरी उस्तै झोक जस्तो न्यून अधिरता र खरो पनमा ।

तँलाई छाडेर म कहीँ जान्न नोर्माले भनी, मेरो कुरा तँ कस्तरी सुनिदिन्छस् । कहाँ पाइन्छ र संसारमा कुरा सुनिदिने मानिस, कैलाश । मान्छेका स्वार्थहरू नमिलेसम्म कसैले कसैको कुरा सुन्दैन ।


जीवनको चलचित्रको प्रेरणा बुझ्न येस्को मोह सूत्रको भूमि बुझ्न कत्ति पनि अलमलमा रहेकी आइमाई नोर्मा होइन । नापरीश्रम उसले चाहिने जति बुझेकी छे । उसले खेपेका शासनाहरुको असामान्यतासँग कस्तै पनि जीवन आफै नतमस्तक छ भन्ने उसको तर्क छ । बाँच्न चाहे तँ सतहमा हेर । गहिराइमा त मृत्युका पोषकहरु मात्र हुन्छन् । गहिराई वा आदर्शमा जिउने काम थोरै भए पुग्छ । यसको आधिक्यले हामीलाई हाम्रो प्रकृतिसँग विच्छेद गर्छ यो खुसीको लागि अनपयोगी छ । सतहका तुच्छताहरुमा नै जिन्दगीको अधिकांश मोहनी हुन्छ, उ भन्दछे, खुद्रा मसिना कुराहरू सङगको हामरा लाचारीहरू नै जीवन्को प्राथमिक स्वाद हो, उसका तर्क हुन्छन् । कानुनको पोस्ट ग्राजएटमा उसले किन जनरल एजुकेसन पढेकी छैन र । उसमा समृद्य विचारहरूको भर मार उपस्थिति नभएको भए उ घरबार विहीन जिन्दगीको परित्रासबाट हारी थाकी सकेकी हुन्थी, यति बेला सम्म । याने पाँच वर्षहरूमा ।

तथापि उसको साबिक जिन्दगी पनि हैरान र अफशोचका अभिलेखहरूले नै सतृप्त थिए, जति वेला उ रातमा छतमुनि सुत्न​पाउथी र दिनमा भान्छामा खान पाउँथी । आमा उसले देखिन । इतर भाषी सौतेनी आमा सँग उसको कहिल्यै पटेन । नबिग्रने शिक्षाले सुनौली बनाउन खोजेकी छोरी पन्ध्र वर्षमै कुमारी आमा बनी र उ सँग बोल्दिन र उसले कहिल्यै एउटा सुन्दर लोग्ने बनाउन पनि सकिन । तर उ आफूमा जीवनको सदासयको अभाव महसुस गर्दिन । उसले बनाउन खोजेको संसार नै उसको आशीर्वादको अभावमा असफल छ । उसको परिभाषा छ । र यो भन्दा उ सधैँ गौरवको रङ्गमै रंगमंगिएर भन्छे ।

पहेँलो रङ्गको एक सय दुई डब्लु डब्लु टी नम्बरको कार उसको पूर्ण जगत् हो अहिले ।

जीवनको मोह कुनै विशेषता होइन । यो स्वभाव हो ।यसको सम्मानमा बनेका नियम काइदा हरूको नाम नै सभ्यता हो अर्को नाम सृष्टि हो । उसले बितायका अप्रितकर, शहनसिलता उस्पारका जीवनका भोगाइ हरू उसका तर्कहरूका साछीमा अबस्ये उभियेका हुन्छन् । एकताकाकी वरिष्ठ कानुन व्यवसायी, कानुनकी स्नातकोत्तर नोर्मा विलियम आज भूमीसात् भएकी छे तर जीवन्को मोहनी ले हीन भएकी छैन ।

तँ किन घरबारहीन भईस भन्दा उ भन्छे — फेडेरल गभर्मेन्टको जागिर थियो, एउटा केस उजागर गर्न हौसिँदा बदलामा परे ।

अनि त्यत्रो काम गर्दा पैसा बचाइनस् त ।

अहँ । हामीलाई त्यस्तो संस्कृति दिइएकै छैन । मलाई पनि लाग्थ्यो त्यो आवश्यक पनि छैन । तर म आज अध्धयन गर्दैछु बचत को आवश्यकताको बारेमा — उ भन्छे ।

आज राम्रो निन्द्रा लागेन । एकहातले ढोका घचेट्दै जीउ उता टाउको यता गरेर उसले भनी । तिनीहरूले मेरो पूर्व बोसलाई सोधेनन् भने आजको अन्तरवार्ता सफल हुन्छ बुझिस् । फेरी भेटौँला ।

उ डाएबिटिक हो । उसले स्तनको भर्खर प्रस्फटित क्यान्सरबाट छुटकारा पाएकी हो, भन्थी अक्सर भेटहरूमा ।

मेरो जीवन चर्यालाई एउटा आली सान महल मान्ने हो भने, उसका दैनन्दीका प्रत्यागमनहरु मेरा सामुन्ने मेरा आँगनका केही यस्ता फुलहरू बन्दछन् जसको अघि एक छिन टक्क अडिन घुरेर हेर्न र संसारका ममताहीनताहरुलाई न्याय गर्ने द्रिष्टकोणको सानो प्रतिनिधि बन्न मलाई मन लाग्छ । अर्थात् मूर्खताहरूको बोलवाला सँगको हाम्रा पाकृतिक पराधिनतामा हाम्रो भोगको सुन्दरता कस्तरी टिकेको छ, उसले मलाई सिकाएकी छे । केही मेरा मनका सम्मतीहरु उसले छिन्न सफल भएकीले उसको प्रतीक्षाको मेरो अधिरतामा म सानो आनन्द खेल्छु र अलिकति मात मात्तिन्छु, उ राम्री पनि छ ।

कैलाश कोही सँग बोल्छ । गोविन्द । तर उ आफै सँग बोलिरहेको छ ।

एक घण्टा पछि नोर्मा फर्की ।
क्या बात । हा हा । राम्रा मान्छे यहाँ धेरै नै छन् बुझिस् कैलाश । सबै नराम्रा मान्छेहरू, राम्रा बन्न चाहेर पनि बन्न नसकेका हुन् ।
म बुझ्दिन केही — कैलाश ले फर्कायो ।

आज एउटा भलादमीले मलाई पोर्चमा सुत्न दियो । ठिकै भो किनकि रात ठन्डा थिएन ।

त्यति बला कैलाशलाई पनि राम्रो बन्न मन लाग्यो र भनिदियो — नतिर भई गो । एउटा गिलास कफी त हो ।
उसले भनी -जिन्दगी आधा भागये हो भन्ने कुरा गलत होइन, कैलाश ।


अनि नोर्मा लामो समय हराई ।

गुडी हिँड्ने पृथ्वीलाई चक्करहरू मार्न नोर्मालाई कुर्नु पर्ने थिएन । मौसमलाई परिवर्तन हुन​ नोर्मासंग स्विटर बर्सादी र कम्बल छ कि छैन भनी सोध्न पर्ने थिएन । एक महिना बित्यो । मौसममा उल्लेखनयि बदली आयो । अक्टोबरको अन्ततिर पहिला भन्दा अलि चिसो एउटा बिहानीमा उ फेरी आई ।

उसको मुहारमा केही मलिनता छ । तौल केही फेरि घटाएकी जस्ती देखिन्छे । तर पहिला नै सुहाउँदी थिई । तर उसलाई राम्री नराम्री भनिदिने पनि को नै छन् र । नत्र अरूको मूल्याङ्कन लाई आदर गर्न उ सजग हुने केटी हो ।

कहाँ गएकी तिस यति लामो सम्म ।

बिमारी भए ।
के भयो ।
त्यो रोग फेरि बल्झ्यो । तर निको हुन्छ बुझिस् । म त्यस्तो होइन । म आत्मबल निर्माण मात्र होइन निर्यात गर्ने मान्छे हुँ ।
तर ठुलो कुरा त तँलाई खोइ भनेको । मैले काम पाएकी थिए तर एक महिना भन्दा बढी टिकिन । छाडे । आफ्नै पेसाको काम नपाए सम्म यो साधारण काममा जाँगर नलाग्ने भएछ ।

एकैछिनमा एउटा भलादमी आयो । अलि चुच्चे चिउँडो भएको दारी पालेको त्यो पैँतालिस घटीको होइन । नोर्माले पसल भित्रै लामो कुरा गरी । फोर ल्बड मुनको कुरा गरी । धर्मको कुरा गरी । खराब एन्जेल हरूको कुरा गरी । कैलाश सँग थेगो थाप्दै बुद्ध धर्मको कुरा गरी । बाहिर गए दुवै । अझई धेरै गफ गरे । अनि उ भित्र आई ।

कैलाश, त्यो मान्छे मलाई ठिक लाग्यो । किनकि उसको र मेरो कथाको समानताको पर्याप्त उदेक लाग्दो थियो । उ दशाहरूको लगानीमा सफल भइसकेछ म अझई पिडाहरू त्यस्तै प्राप्तिहरूको लागि भेटी चढाउँदै छु । भोलि बेलुका डिनरमा बोलाएको छ, यो ठेगानामा त पनि आइज है ।

यस्तो स्वरै निर्णय तेरो प्रवृत्तिको विपरीत भएन र — ऐ नोर्मा । कैलाशले भन्यो ।

नडरा— मैले खेपेका पीडाका झञ्जाबातहरु मरो कदमका कवच हुन । अविदित सँगको डर बुद्धि वा कमजोरी दुवै हुन सक्छ, तर जोख्न तौलिन अघि नपरी कसरी थाहा हुन्छ । तलाई परीक्षा मन पर्दैन कैलाश ।

म नेभर सेकेन्ड हुँ यार । यो झाले कामको आँखाले पो तँ मलाई आज पर्यन्त हेरिरहेकी छस् । ठिक छ, म आउँछु – कैलाश ले भनिदियो ।
नोर्माले कुच्चो लाउँदै गरेको कैलाशलाई धाप मारी र हाँसेर भनी — तँ जिनियस लाग्छस् भनेर मैले कति भनेकी छैन र । तर त तँ सँग मेरो कुरा मिल्छ । मलाई यहाँ आउन मन लाग्छ । आइपनिरहन्छु ।

त्यो सँग बिहे नै गर्छे कि क्या हो, कैलाशले मनमनै गुन्यो ।
तर यो त्यस्ती त हैन है । फेरि प्रतिवादमा सोच्यो ।

कैलाशलाई पनि देख भेटका अखिल आवृत्तिहरूले गर्दा होला नोर्मा प्रति माया जस्तो केही लाग्छ । उसप्रतिका सबै सोचहरू ममताहरूका प्रधानताले सिँगार्न मन लाग्छ । यद्यपि यो हुन गइरहेको जस्तो सघन मुलाकात विगतमा भइसकेको भने होइन । एकाध समय नितान्त अल्प घडीहरूको लागि उ मेरिण्डा डेवाराको रेष्टरेण्टमा गएको छ, नोर्मा सगं, एलान बाँदर को सिगरेट स्टपमा भेटेर गफ गरेको छ, नोर्मा सँग बस् । उस्लाइ नोर्मा सँग हिँड्नमा एउटा अविदति खुसीहरूले अवश्य घर गर्छ, तर यसलाई विकसित र स्पष्ट पार्न खोज्दा उ जुन अप्ठेराहरूमा पर्न सक्छ ती सम्भाव्य अप्ठेरोहरूको आवश्यकतालाई लत्याउन हुन्न भन्ने उसलाई थाहा छ । अमेरिकाको समाज बुझौँ न त भन्ने हिसाबले उ कतै गइरहेको हो – के भो त — आजको लागि उ सँग चित्त बुझाउन यो तर्क छ ।


गाडीमा एक जोर राम्रा लुगा हालेर कैलाश भोलिपल्ट स्टोर खोल्न हिँड्यो । बुढी क्याप्ची के टटलले जुन नोर्मा जस्तै एका बिहानै झुल्किञ्न्छे प्राय हरदिन, कैलाशको गाडी रोक्दै भनी — उता जा । पुलिसहरू पनि भएकोले तर्कातित बनेर कैलाश पर गयो । ओल्र्यो र सोध्यो टटल लाई , बुढीले भनी कोही मरेको छ तेरो स्टोर पछाडि कारमा, पुलिसहरू छानबिन गर्दछन् । कैलाश नजिक गयो त्यही पहेँलो कार एक सय डबल डब्लु टी । उसका मनस्थितिका सबलागंताहरु अवरुद्ध हुने निकटतालाई जानिसकेपछि त्यसलाई हम्मेसि पन्छाउँदै उसले सोध्यो टटललाई, को रहेछ त — नोर्मा भन्ने नाम पुलिसले कसैगरी पत्ता लगाएको छ । अरू थाहा छैन । केही क्षणमै दुईवटा सिक्री पाँचै औलामा औँठी लगाउने अर्की बुढी सारा जेनकिन आई, जेफ्री फर्गुसन आइपुग्यो, तिमोथी जे वेदान आयो, र सानो भीड जस्तो गन्जागोलको नेपथ्यबाट एउटाले भन्यो — हरे शिव, यसलाई जीवनको कत्रो मोह थियो होला, भर्खरकी रहिछ मरी हगि ।

एक महिना जति अघि एउटा कौवाको बच्चा मर्दा नोर्माले त्यही भनेकी थिई – हरे शिव, यसलाई जीवनको कत्रो मोह थियो होला, भर्खरको रहेछ, मरयो हगि । फरक के थियो भने एउटा चरा मर्दा उसका सामुन्ने दुई माउहरू थिए आज एउटा मान्छे मर्दा — उसका कोही थिएन— कैलाशलाई लाग्छ उसले चिच्यायर यो भन्यो, तर भन्यो कि भनेन उसलाई थाहा भएन ।

समाप्त