अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 02:26

केसन्या र कार्लोसको कथा

कपिल सुबेदी २०७५ पुष २९ गते १४:३१ मा प्रकाशित

केसन्यालाई ज्वरो आयो । साधारण हो रुघा खोकी को । सनकी भएकीले कामै छाडेर आराम गर्ने ढिपी गरी । यस्ता कुरामा केसन्याको अगाडि कार्लोसको केही लाग्दैन थियो। कार्लोसलाई यद्यपि केही ठिकै किन लाग्यो भने, इन्सुरेन्स नभएकोले रोग बढेर ठुलो आपत् पर्नु भन्दा आराम गरेकै जाती । केसन्याले तीन दिन आराम गरी चौथो दिन तन्दुरुस्त भई र पाँचौँ दिन काममा गई । तर दुई मात्र दिन छोरीलाई र बिहा नगरेकी स्वास्नीलाई कुर्न बस्दा तेस्रो दिन जुवा कार्लोसकै पो काम चट भएछ । तर उसले चौथो दिन दिनभर बासिगंटन पार्कमा क्रिष्टा मर्फी, जोसुवा क्याम्पवेल, अलवर्ट आइन् सटाइन र फिडेल क्याष्ट्रोहरु सँग बरालिएर बितायो, बेलुका काममा गएको बहाना गर्‍यो, तर केसन्यालाई भनेन । किनकि उ यो आशामा थियो कि, पाँचौँ दिन केसन्या काममा हिँडेको घण्टा भरमै थाहा हुन्छ कि उसको पनि काम चट, अनि त्यही दिन बेलुका म पनि भनुँला हेर त्यो इन्डिएन मेनेजरले मलाई पनि फायर गर्‍यो । यसरी दुवैको कुरा बराबर हुँदा केसन्या भुनभुनिदै बाउको घर जान्न थी । परन्तु कुरा त्यस्तो नभइदिएपछि, कार्लोस बिलखबन्दमा पर्‍यो । यस्ता आपतका वेला अघि अघि गरेका धेरै उपायहरू घुमी फेरी उसका मानसगृहमा खेलिरहे तर नयाँ केही सुझेन । हरे उ अक्कल मन्द, हरे उ उपायनास्ती ।

तर हेर त संयोग कस्तो जुरिदियो भने महिनाको अन्तिम दिन थियो र भाडा तिर्ने पालो यस्पाला केसन्याको थियो । पहिला जस्तो सन्किएर केसन्याले “तिर्दिन तैँ तिर” भन्न सक्ने अवस्था अव भने कदाचित किन थिएन भने यो आलोपालो भाडा तिर्ने सम्झौता यी दुईका बिच अनन्त घटिरहने झगडा झुगुडीहरूक़ा बिच एक काल खण्डमा उसकै बाउको पहलमा सम्पन्न भएको हो । केसन्याले आइन्दा यसो गरे आपतघडिमा अल्प शरण को लागि बाउको घर जाने बाटो बन्द हुन सक्छ । सहमतिको यो शर्तनामा थियो ।

कम्तीमा केसन्याले भाडा तिर्ने दिन सम्म कार्लोसलाई काममा गएको बहाना गरिरहन पर्ने भयो । हप्ता दश दिनमा कतै उसले अर्को काम पाउन सक्थ्यो तर उसको लाइसेन्स फुकुवा हुन अझै पाँच महिना छ ।

पाँचौँ दिन उसले धेरै समय पछि ल्योरी म्यूसलमानलाई अकस्मात भेट्यो । धीमा गतिको गल्लीको सडक किनारामा हाइ गर्दा गर्दै म्यूसलमानले रोकुँला रोकुँला झैँ गरेको ट्रकमा फुत्त चढ्यो र दिनभर म्यूसलमानको रुख काट्ने काममा पानी र स्न्याकको भरमा सघाएर आयो ।

छैटौँ र सातौँ दिन चेरी क्रिक मलको पश्चिम पट्टिको आँगनमा भइरहेको रिनाइसा फेष्टिबलमा बराल्लिएर बितायो ।

सातौँ दिन अर्को एउटा काम पनि सम्पन्न गर्‍यो । बेलुका पख खुसुक्क एपार्टमेन्ट अफिसमा गएर सोध्यो र निश्चिन्त भयो, केसन्याले भाडा तिरिछ ।

आर्ठाैं दिन क्रिष्टा मर्फीले फोन गरेर बोलाए पछि उ बोलाएको ठाउँमा गयो । सबै थिए — जोसुवा क्याम्पवेल, अल्वर्ट आइन् सटाइन, फिडेल क्याष्ट्रो आदि । तर ल्योरी म्यूसलमान त्यो भीडको होइन ।

अनि क्रिष्टाले भनी तँलाई अझ पचास डलर छुट, जम्मा दुइसय पचास मात्रै भो अझै आउन्नस् । हेर कार्लोस, यो मौका हो तलाई यैले यस्तो अप्ठेरो परेको बेला ,अल्बर्ट आइन् सटाइन तीन महिनाको लागि गए पनि कहिले फर्कन्छ थाहा छैन । आमा नै बिरामी भए पछि, उसलाई तेत्ती सजिलो कहाँ छ र ? अनि केसन्यालाई हामीले नचिनेको होइनौँ । जति धाक लगाएर छोरीको मायाको कुरा गरे पनि तेरो बायोलाजिकल हैन त । ठिकै छ तिमीहरू बिच कुरा मिले फेरि गै जानु ।

कुरा कार्लोसलाई कति मन पर्‍यो भने, उसलाई पहिल्यै धन्यवाद भन्न मन लाग्यो तर नखरा भने पारिरह्यो ।

कार्लोसले जे जति बाहिर नखरा गरे पनि उसमा उस्कों नशामा बगेको भित्रको खुसी कसैगरी देखिएला भन्ने चिन्ता थियो । किनभने काम विहीन भएर केसन्या सँग बसिरहने चेष्टाका अनवरत परीक्षहरुमा उ फेलै मात्र भएको थियो । त्यसैले कति दिन देखि दुखिरहेको टाउको अकस्मात टाइलनलको चक्की खोज्दा खोज्दै चट्ट निको भएको जस्तो उसलाई भएको यिथो ।

अनि पाँच महिना जति मात्र अघि निस्केर गएको, कहिले चार त कहिले पाँच जना मिलेर बस्ने दुई कोठाको अपार्टमेन्टमा पुरानै साथीहरूसँग मिली बस्न सिर्फ एउटा सग्लो ज्यान लिएर कार्लोस फेरि डेरा सर्‍यो ।

हो, हुँवा कार्लोस फेरि पाँच महिना पछि उही, क्रिष्टा मर्फी, जोसुवा क्याम्पवेल, अल्बर्ट आइसटाइन, फिडेल क्याष्ट्रोहरु सँग मिलेर बस्न गयो । बस यस्पाला अल्बर्ट आइन् सटाइन थिएन । यतिखेर चार जना मात्र छन् पहिला पाँच थिए ।

यो नवौँ दिनकै कुरा हो । किनकि उस्लाइ केही फत्ते गर्नै पर्ने थियो आजै । फत्ते भयो । र उसले छोरीलाई लामो समय सम्म पुग्ने गरी चुम्मा खाएर आएकै छ ।


तर कार्लोसको खुसीको सम्पन्नता क्षण भंगुर छ भन्ने कुराको बोधले उसलाई घरी घरी निस्तेज पारिरहन थाल्यो । अनि त्यही कर्कश क्रिष्टा सँग कुरा नमिलेर पहिला निस्केर गएको उ आज फेरी उसैको लापते पराइ ,सबै चटक्क बिर्सेर गरेको मित्रालापको यो नाटक गराइ, उ छक्क पर्छ । झसङ्ग हुन्छ । डर जस्तो लाग्छ । यो चाँदीको घेराको अस्थायित्व सँग उसलाई रिसै मात्र उठ्छ तर उपाय के छ त ?

अर्को मन सोच्छ, अलि उमेरकी भएकीले जे भए पनि क्रिष्टा बुद्धिमानी त हो । जीवनका मूर्खताहरूलाई हप्काइ हप्काइ, यसका नीरसताहरु पिउने थरी थरीका चटनीहरु तयार गरी गरी कस्तरी यो सहसा सजिलो देखिने गरी जिन्दगी जिउँछे । क्रिष्टा परिपक्व भने हो बाबै ।

दिनहरू बित्तै गए । ग्यास स्टेसनका ढोकाहरूमा पैसा मागेर उसले एकाध सय डलर बनायो । अनि कार्लोसको कोठा सरेको दिनदेखि गन्ती गर्दा उनान्तिसौ दिन भएछ । यति बेला सम्म ट्रेश पासको नोटिस उल्लङ्घन गरे बापत तेइसौ दिनमा जोसुवा क्याम्पवेललाई पुलिसले लग्यो । छव्विसौ दिन तीनसय डलर क्रिष्टाको हातमा थमाइदिएर फिडेल क्याष्ट्रो गाई काट्ने कम्पनीमा राम्रो काम पाए भनेर बेरा बिस्तरा लिएर अर्कै सहर गयो । तीसौ दिनको रात अबेर सम्म कोठामा कार्लोस आएन। क्रिष्टा मात्रै एक्लै भई । एकतिसौ दिन देखि तेत्तिसौ दिन सम्म, खोजतलासको बाबजुद कार्लोस भेटिँदैन,भेटिएन क्रिष्टा अझै एक्लै भई । अन्तमा अरूसँगै कार्लोस सहितको क्रिष्टाले माया मार्नुपर्ने भयो, मारिदि । “कम्तीमा भनेको भए म कार्लोसलाई त एक महिना अरू छुट दिन सक्थे नि, बदमासै रहेछ, पहिल्यै झगडा गरेर निस्केकै त हो किन फेरि गुहारी गुहारी ल्याइछु” यस्तै कुराहरू मनमा खेलाइरही क्रिष्टाले, त्यो रात भर ।

पन्ध्र वर्षमा हाइस्कूल ड्रप गरेदेखि क्रिष्टाले दुख धेरै भोगेकी छ । उसको बायोलोजिकल आमा मात्र छ तर ऊसँग हैन टाढा अर्कै राज्यमा । बाउ को हो थाहा छैन उसलाई । साना दुख आपत् सङ्कट वा झन्झटहरूले घबराउने मान्छे हैन ऊ । उ ठान्छे साना तिना बेचैन, अप्ठेरा, आपतधर्म उसको आत्मबलको सामने पर्नै सक्तैनन् । पानी पानी हुन्छन् आफै हराउँछन्, विलाउछन्, पर भाग्छन् । उ निदाउनै नसक्ने गरी बेचैन हुन्न ।

चौतिसौ दिन अर्थात् अर्को महिनाको सात गते । एपार्टमेन्टको भाडा तिर्नुपर्ने अन्तिम दिन हो । कार्लोसको पनि अब खबर नभएपछि क्रिष्टा बैक गई । बैकमा भएको लगभग सुब्बै पैसा, अर्थात् नौ सय पचास डलरमा फिडेल क्याष्ट्रोले दिएको तीन सय डलर थपेर बारह सय पचासको मनी अर्डर बनाई । एपार्टमेन्ट गई, भाडा चुक्ता गरी । कोठामा पुगी, बेरा बिस्तरा कसी आधा रङ्ग खुइलेको ७३४ एच एक्स क्यू नम्बरको कालो गाडीको पछाडि सामान हाली, गई — कहाँ ? कता ?— हो, खातामा एक डलर छैन, गाडीमा थोरै ग्यास बाँकी छ, पसेन्जर साइडको मिरर भाँच्चिएर झुण्डिएको छ, सहरमा चिनेका कोही छैनन्, उसले ब्वाइ फ्रेन्ड बनाउन छाडेको जुगौ भइसक्यो—तर पनि गई — क्रिष्टा गई, कोही चिन्तित हुनु पर्दैन, दुखलाई हप्काउन सक्ने क्रिष्टा तुरुन्तै फिर्ने अर्को चहकिलो सुहावना भोरको गीत गाउँदै गई । जीवन मोती खोज्ने काम नभएको ठान्ने क्रिष्टा, एउटा सामान्य कायाक (सानो एक हाते डुङ्गा) कै भरमा समुन्द्रको अर्को यात्रामा निस्की, कानको एयरफोनमा बजेको जष्टिन बाइबरको मन पर्ने गीत सँगै मुन्टो हल्लाउँदै खुसीले सहरको त्यो टोल छाडेर क्रिष्टा गई, हुन सक्छ सहरै छाडेर गई ।


कार्लोस कुनै क्षोभ र ग्लानिले भरिएको छैन । क्रिष्टालाई धोका दिँदा उसलाई कसैलाई अन्याय गरे जस्तो लागेको छैन । तर मजै पनि आएको त कहाँ छ र ? यद्यपि सानो फाइदा भएकै हो । उ हुर्केको सभ्यताले उसलाई यस्ता कुरा प्रति बिलौनामय विश्लेषण गर्न थोरै सिकाएको छ । ती थोरै पनि जीवन सँगको यस्तै अनवरत घम्साघम्सीले बोदो, नलाग्ने भुत्ते भैसकेको छ । आदर्शमा चल्ने जिन्दगी उसले केही फिल्ममा देखेको छ । त्यसको आत्मसात् गराइका लागि उसले कहिल्यै तालीम लिने न मौका पायो न जाँगर नै देखायो न कोही भए । उसको बाउ त छ तर अर्कै आमासँग । उसको आमा त छ तर अर्कै बाउसँग। सानै देखि उसले सबभन्दा राम्ररी सिकेको के हो भने जीवनको चलचित्रमा अनिर्मित बाध्यताहरू सँग जुध्न निर्माण गरिने निर्मित काइदाहरू, जुक्तिहरू बस नियम हो यसलाई न प्रेमको आँखाले हेर्नु जरुरी छ न न्यायको आँखाले । उ आफ्नो कर्तुत लाई न्याय गर्न थरी थरिका विचारका बिम्ब केशरी निर्माण गर्छ र सन्चोको श्वास फेर्छ।

केसन्या नै बोलाउन आएपछि, आफ्नो हुनसक्ने यथार्थकी जब्बर स्वास्नी नै पग्लेर बोलाउन आएपछि, एक महिना सम्म नियाश्रोले सताएको गर्लफेन्ड आफै लिन आएपछि उ फेरी केसन्याको डेरामा नफर्कने किन ?

एक माइल पर बस्ने दिदीसँग छोरी हेर्ने आलोपालो नमिलेपछि होला, बाउले आएर फेरि हप्काए पछि होला, छोरीले बाबा भनेकीले होला, एक मन उ आफैंलाइृ कार्लोस प्रति अलिकति माया जस्तो केही लागेर होला, वा कार्लोसको नियाश्रोले सताएर होला, वा कुनै नौलो क्रान्तिकृत जीवन बोधले मुटु र कलेजाका हिस्साहरू मुलायम भएर होला केसन्याले आइज साना कुरामा झगडा नगरु भनेपछि कार्लोस क्रिष्टालाई एक्लै पारेर आफ्नो भागको भाडा पनि नदिई फेरि केसन्या सँग बस्न फर्केको हो ।

अनि अर्को कुरा के थाहा लाग्यो भने आलोपालो छोरी मिलाएर हेर्ने दिदी सँगको बाचा भङ्ग भए पछि, भनेको कार्यतालिकामा काममा जान नसक्ने भएपछि केही दिन पहिले केसन्याको पनि काम चट भएको रहेछ । त्यसैले पनि होला उ फेरि कार्लोसलाई निम्ता गर्न गएकी ।

“म गएर तेरो इन्डिएन मेनेजरलाई रोई कराइ गरी काम दिन भनेर आउँछु त्यो आखिर असल प्रौढ हो मलाई आशा छ । तँ छोरी हेरेर घरै बस । ” कार्लोसलाई यति आदेश गरेर केसन्या कार्लोसले एक महिना र केही दिन अघि मात्र काम छाडेको ग्यास स्टेसनमा फेरि काम पाइने हृदयाशाले भरिएर गई ।

सर्कल के ग्यास पम्पलाई गाडीले दुई फन्का मारी तर उसले पार्क गर्ने ठाउँ पाइन ।

रियाको गाडी देखेपछि ठावैँ भए पनि उस्लाइ भित्र जान मन लागेन । “मन नपरेको मान्छेको मुख किन हरिरहनु” झन् यो शुभको प्रत्यागमित घडीमा । एकाध वर्ष पहिले रिया सँग कुरा नमिलेर उसले यही काम छाडेर हिँडेकी हो । कार्लोसलाई तेस्रो ब्वाइ फ्रेण्डको रूपमा उसले यही भेट्टाएकी हो । यो स्टोर सँग उसको आत्मीयता साटिएको छ । उसलाई यसको इन्डियन मेनेजर मन पर्छ । उसको बाक्लो लवज मन पर्छ । इन्डियन मेनेजरले पनि उसलाई मन पराउँछ । उसको यो प्रयत्नको हिम्मत यी नै पृष्ठभूमिहरू हुन् ।

एकै छिन क्यूडब्बाको छेउमा पार्क गरेर बसी । काठको अग्लो बिजुलीको पोलको छेउमा । ठुला हाँगा भएको अग्लो सल्लाको रुखको छेउमा । चार्लीच्याप्लीन जस्तो अनुहार भएको मान्छे चित्रित एम एन्ड एम क्यान्डीको ठुलो होर्डिगं बोर्डको छेउमा, जहाँबाट रियाको गाडी स्पष्ट देखिन्थ्यो । काम भएन । समय बिताउन उसले सिट अलिकति पछाडि ढल्काई, मुन्टो माथि फर्केपछि अनायास आकाश देखिई हाल्यो । बार्नमा हुर्केकी केटी हो । प्रकृतिको परख गर्न उसले जानेकी छे । । सहरको विचलित जिन्दगीको मारले उसलाई चलाख, छुच्ची मुच्ची, चचंल, झोंकी आदि जे बनाए पनि उसको विचारधारामा गाउँले पन को आधिक्यता अझै छ । बेलाबेलामा यस्ता शहरोत्तर विशेषता उ मन बहलाउने प्रयोजनार्थ स्मृतिको पुराना तखताहरूबाट खोजेर निकाल्छे ।

आँखाका गतिले आकाशको गाउँ चहार्दा सफा आकाशमा सानो बादलको टुक्रा पनि थिएन । उल्लेखनीय केही थिएन । धेरै माथि हवाईजहाजले छाडेका बिग्रन लागेका भेपोर ट्रेलका कुनै अवशेषमय कुनै स्पष्ट आकृतिहरू बाहेक । तर एउटा भोटे कौवाले कावा मारिरहेको छ । एक्लै छिन पछि उसले चिनी त्यो लाटोकोसेरो पो हो । दिउसै । हो दिउसै पनि कहिलेकाहीँ यिनीहरू सक्रिय हुन्छन् । त्यसको आकृतिको स्पष्टता उ भयतिर प्रगतिमय भयो । कावाका केही घुम्ती रचेर त्यो तुफानले ओरालो लाग्दै पोलको टुप्पामा ठुलो तौलले बस्यो । बस्न नपाउँदै फेरि उडेर सल्लाको रुखको हाँगामा चल्मलाइरहेको लोखर्के माथि च्याप्प नग्रा गाड्यो । ठुलो लोखर्के उसको पन्जाबाट खस्यो, हुकुचिल कावाको घुम्तीमा फेरि उकालो लाग्दै बिलायो तर घाइते लोखर्के तल भुईँमा झर्‍यो।

“ओहो यो त अप शकुन हो ।” केसन्यालाइ लाग्यो । “आज काम पो हुँदैन कि ।” उसले गमी । एक मन उसलाई लाग्यो फर्कूँ आज काम हुन्न । अर्को मनले सोची हैट उस्ता कुरामा कसैले विश्वास गर्छ । यो बार्न हो र । यो उहिलेको समय हो र।

रियाको गाडी हटेपछि उ भित्र पसी । बाक्लो लवजको इन्डिएन मेनेजर त्यति वेला स्टोरमा हुन्छ भने उसलाई थाहा छ । मेनेजरलाई कम्तीमा हाइ भन्नुपर्ने होइन र ? । अहँ उसले हाइ साइ केही भनिन । आँसु खसाल्न खोजेका मोहडा बनाई । विषादले भिजेको नाज—नखरा बनाई ।

“लामो समय पछि आइस, के भयो केसन्या तँ किन उदास ?” मेनेजरले सोध्यो ।

ज्यानका सबै कर्तुतमा निम्सरो प्रस्तुत भएर उसले भनी “कार्लोसलाई काम दिनु होस हामी दुवैको काम छैन अब खान पनि गाह्रो हुने भयो, हामी धेरै कृतज्ञ हुनेछौँ ”

उसले साँच्चीकै दुई थोपा आँसु खसाली । आँखाको कोषमा औला पुराएर अनि भनी “मैले पनि पहिला यहाँ काम गरेकै हुँ, कार्लोसलाई तपाइले नो कल नो सो मा निकाल्नु भएको हो फेरि हायर गर्न मिलिहाल्छ, कृपया, हामी अनन्य आभारी हुनेछौँ ”

“ ए हो र म दुखित छु सुनेर त्यो, तर केसन्या तँ भाग्यमानी रहिछस्, ठिक बेलामा आइस, हिजै मात्र एउटाले छाडेको छ फटाइदे भोलि ल ”

धन्यवाद दिएर केसन्या दौडिन लाग्दा मेनेजरले केही सान्टियागो बरिटो लैजा भन्यो ।

उसले दुई वटा टिपी ।

अघि हाइ नभनेपनि अहिले धन्यवाद भनेर निस्की ।

अघि रुन खोजेकी मैयाँ अहिले हाँस्न हाँस्न खोज्दै निस्की ।

अघि मन्द गतिमा भित्र छिरेकी मैयाँ अहिले छिटो कदम गरी निस्की ।

अघि डर र शङ्काले भरिएकी केसन्या अहिले उत्फुलता र प्रसन्नताले भरिएर निस्की।

गाडीको सिटमा बसी । चेष्टाको सफलताले प्रफुल्ल मुद्रामा रहेकी केसन्याले सोची त्यो हुकुचिल होइन पो रहेछ क्यारे काम त बन्यो बाबै ।

बाटामा जाँदै गर्दा उसलाई पनि नयाँ कामबाट भोलि आउन भनी फोन आयो। तर उसले फोनमा कसरी र के के बोली उसलाई हेक्का भएन। ऊ कोठामा पुगिसकेको पनि उसलाई थाहै भएन । कार्लोसलाई हप्काएर भनी “भयो काम, भोलि जानूँ ” मलाई पनि पनेरा ब्रेड बाट चारली चाप्लिन् ले भोलिबाट आइज भनी बोलायो।

लामो नाकको टुप्पो हत्केला बिचका तीन औलाले देब्रे पट्टि बटारेर कार्लोसले भन्यो “काम भयो त ठिक भयो, अलि मीठो गरी बोले हुन्छ नि”

केसन्याले भनी “बानी कस्तो छ नि”
कार्लोसले भन्यो “बानी कस्तो छ नि”
केसन्याले भनी “बानी कस्तो छ नि”
कार्लोसले भन्यो “बानी कस्तो छ नि”
तिनीहरूले भनाभन गरे
तिनहिरुले हात हालाहाल गरे
तिनहिर जिस्के
तिनीहरू चले
खाटमा गएर डगंरग ढले


केसन्या र कार्लोस यसरी फेरि मिले । अनि बासिंगटन पार्कको उत्तरपट्टिको एपार्टमेन्टमा केसन्या र कार्लोस मिलेर अरू कति बसे होला, क्रिष्टा मर्फी त्यसपछि कहाँ पुगी होली र तिनका बाँकी कथा कसले लेख्यो होला ।

समाप्त