अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 17:08

नेकपाको राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित

बिआरटीनेपाल २०७५ पुष १३ गते ८:३४ मा प्रकाशित

पुसभित्र एकता टुंग्याउन पौडेलको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजनीतिक प्रतिवेदन पारित गरेको छ । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले २ साताअघि स्थायी कमिटी बैठकमा पेश गर्नुभएको प्रतिवेदन शुक्रबार परिमार्जन शर्तसहित पारित भएको हो । स्थायी कमिटीका नेताहरुले राख्नु भएको विचार र सुझावहरुलाई समेटेर परिमार्जनसहित अध्यक्षद्धयले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन पारित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । मंसिर २९ गतेबाट शुरू भएको स्थायी कमिटी बैठकमा नेताहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकार र एकीकरण टुंग्याउन नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।

शुक्रवारको बैठकमा नेकपा अध्यक्ष ओलीले विवादित बनेका विषयहरु, पार्टीभित्र एक व्यक्ति एक पद, एसिया प्यासिफिक बैठकमा सरकारको कमजोर प्रस्तुतिवारे आफ्नो धारणा राख्नुभएको थियो । स्थायी समितिमा पार्टीका नेता बामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा असहमति जनाउँदै बैकल्पिक प्रतिवेदन पेश गर्नुभएको थियो । पार्टीका नेताहरु भीम रावल, घनश्याम भुसालले समेत अध्यक्षद्वयको प्रतिवेदनमाथि प्रश्न उठाउनुभएको थियो । नेकपाको नेतृत्वमाथि पार्टी तथा सरकार सञ्चालनका सम्वन्धमा धेरै कमिकमजोरी भएको भनि स्थायी समिति सदस्यहरुले आक्रोश पोखेका थिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नेताहरुको सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिवद्धता जनाएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

यसैवीच, बैठकले तल्ला कमिटी गठन र जनवर्गीय संगठनको एकीकरण पुसभित्रै सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेल को संयोजकत्वमा ९ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा रामबहादुर थापा, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य रहनुभएको छ । कार्यदलले दिएको सुझाव स्थायी कमिटीले अनुमोदन गरेपछि एकीकरणले पूर्णता पाउने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू