अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

पैसाको चलखेलमा धरहरा भन्दा टहरा निर्माण तीव्र भएको भन्दै स्थानीय आन्दोलित

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ११:१४ मा प्रकाशित

काठमाडौँ, राष्ट्रिय सम्पदा धरहरा भन्दा धरहराको अस्तित्व नै नामेट पार्ने व्यावसायिक टहरा निर्माण तीव्र भएको भन्दै स्थानीय आन्दोलितहरू आन्दोलित भएका छन् । राष्ट्रिय सम्पदा बचाउ अभियान स्थानीय सङ्घर्ष समितिमार्फत स्थानीयहरू आन्दोलित बनेका हुन् । 

स्थानीयलाई बिना सूचना, बिना जानकारी गुठी संस्थानले दादागिरी शैलीमा निर्माण कार्य अगाडि बढाएको स्थानीयको आरोप छ । पैसाको चलखेलका कारण पटक–पटक अदालत र सरकारी निकायलाई समेत हवाला दिँदै बिदाको दिन पारेर निर्माण कार्य अगाडि बढेको भन्दै सङ्घर्ष समितिले सरकारी निकायको ध्यानाकर्षणसमेत गराएको छ ।

स्थानीय सङ्घर्ष समितिका अनुसार गुठी संस्थानले प्रधानमन्त्रीको कार्यालय, पुरातत्व विभाग, महानगरपालिका, महानगरपालिकाको वडा नम्बर ११ कार्यालय लगायत कसैको पनि स्वीकृतिबेगर उक्त निर्माण कार्य अगाडि बढेको हो । यसअधिका यी सबै निकायको निर्माण नगर्नु भन्ने निर्णय र उच्च अदालत पाटनले समेत गरेको आदेशको समेत अपहेलना गर्दै गुठी संस्थान व्यावसायिक टहरा निर्माणमा लागेको उनीहरूले बताएका छन् । स्थानीयले सबैतिरको निर्णय लत्याउँदै वैकुण्ठ रेग्मीको नेतृत्वमा गुठी संस्थानका महानिर्देशक नारायण चौधरी र प्रहरी प्रशासनको उपस्थितिमा उक्त अवैध निर्माण अगाडि बढेको पनि आरोप लगाएका छन् ।

स्थानीय क्लबका साथै सङ्घर्ष समितिका वेदप्रकाश गौतम, रामेश्वर सिवा, राजेश डङ्गोल लगायतले जबरजस्तरुपमा पुरातात्विक क्षेत्रभित्र बिना नक्सा कम्पाउन्ड वाल लगायत अन्य जुनसुकै व्यावसायिक भवन निर्माण भए पनि बल प्रयोग गरेर त्यसलाई भत्काइने चेतावनी दिएका छन् ।

यसअघि ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने सरकारको अभियानलाई सफल पारौँ भन्दै धरहराका स्थानियबासीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दसौँ हजारको हस्ताक्षरसहित ज्ञापनपत्रसमेत बुझाएर सरकारको ध्यानाकर्षण गराएपछि उक्त निर्माण कार्य रोकिएको थियो ।

राष्ट्रिय सम्पदा धरहरा वरिपरि अन्य कुनै व्यापारिक भवनहरू निर्णण हुन नहुने र उक्त स्थललाई पर्यटकीय स्थल बनाइनुपर्ने उनीहरूको माग रहेको छ । अहिले एकातिर धरहरा निर्माण कार्य अगाडि बढेको छ भने अर्कातिर सडककासमेते मापदण्ड मिचेर भीम मुक्तेश्वर गुठी संस्थाले भाडामा लिई व्यापारिक भवन निर्माण तीव्र पारेको उनीहरूले बताएका छन् । राष्ट्रिय सम्पदा बचाउने अभियानमा स्थानीय खिचापोखरी युवा क्लब, संकटा क्लबका साथै अन्य स्थानीयहरू लागिपरेका छन् । स्थानीयले गुठी संस्थानको जग्गालाई पार्किङमा प्रयोग गर्न सक्ने तर व्यापारिक भवन बन्न नदिने बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू