अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

हाम्रो पालाको दसैँ

पेशल आचार्य २०७५ असोज २१ गते ९:१४ मा प्रकाशित

अनुभूति

दसैँ भन्ने बित्तिकै म बाल्यकालीन सम्झनामा पुगिहाल्छु । ऊ बेलामा दसैँ अग्र्यानिक हुन्थे अचेल ब्रोइलर हुन थालेका छन् । म तराईमा जन्मेको मानिस हुँ । दसैँको तयारीका लागि गृहस्थीहरू भदैया धान काटेर बजारमा लगी बेच्ने गर्थे । सनपाटको खेती ऊ बेलाको तराईमा उधुमै हुन्थे । सनपाटलाई सडक छेउका पानीले भरिएका खाल्डाखुल्डीमा पानीभित्र छोपेर माटाले थिचिन्थ्यो । त्यो सोर श्राद्धका बेला त्यो सनपाट पानीबाहिर निकालेर धुने बेला हुन्थ्यो । किसानहरू त्यसलाई बेचेर पैसा पाउँथे । अनि सुरु हुन्थ्यो दसैँका खिच्रिङ्मिच्रिङ् किनमेलहरू । मारवाडीका पसलमा दसैँका लुगा किनिने र बालीघरे दमाईलाई सिउन दिइने चलन थियो । थानका लुगाबाट आउने मिठो बास्ना, चिउराका हरक, पाकेका केराका सुस्वादु रौनक र कोठेवारिमा साँचिएको घाँसले दसैँलाई एकतिरबाट आमन्त्रण गर्दथ्यो भने अर्कोतिर दसैँका आगमनमा घरघरमा आएर दमाईले बजाउने सनाई र तराई तिरका चमारेहरूले बजाइने ढोलकले दसैँको सूचना दिएको भान हुने । 

गाउँभरिका बासिन्दाहरू मिलेर लिङ्गे पिङको लठारो बाट्ने त्यसका लागि पैसा र सनपाट उठाउने चलन हुन्थ्यो । जागिरेहरू नयाँ कट्कडिया नोट साट्न बैङ्कतिर दगुर्थे भने गृहलक्ष्मीहरू चुन र गेरुले घर पोत्न व्यस्त । जति जति दसैँ घर करेसाबारी आउँथ्यो उति उति बाहिर गएर विभिन्न पेसा र व्यवसायमा लागेका मानिसहरू घर फिर्थे । नयाँ स्थान, विषय र रुचिका गफ सुरु हुन्थे । हामी मन लगाएर सुन्ने गर्दथ्यौँ ।

हामी केटाकेटीहरूको काम भने ससाना काम आमाबालाई सघाउने हुन्थ्यो । दसी चराउने र तिनीहरूलाई डाले घाँस दिने काम हाम्रो भागमा आउनाले स्कुल र टिउसनलाई छोट्याएर हामी पनि घरका काममा लाग्थ्यौँ । दाउरा चिर्ने मानिसलाई सघाउने, दाउरा बटुलबाटुल पारिदिने, आमा र फुपूहरूलाई ढिकीमा सघाउने काम हुन्थ्यो । साँझ बिहान पिङ्मा झुत्ती खेल्थे नानी केटाकेटीहरू । घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म स्कुल बिदा हुन्थ्यो ।

दसैँ केटाकेटी उमेर र आफूले टार्नु पु¥याउनु नपर्ने बेलामा उधुमै रमाइलो हुन्छ । जब जब मानिस व्यवहारमा फस्दै जान्छ अनि उसलाई दसैँ एकप्रकारले बोझ हुँदै जान्छ । मैले चार वर्षदेखि करिब १० वर्षसम्म भोगेका दसैँका किस्साहरू लेख्ने हो भने एउटा राम्रो बाल उपन्यास तयार हुन्छ । त्यो पनि म सोचिरहेको छु ।

अहिलेको दसैँ पुरै हाइ टेक भइसक्यो । घरभरि जहान परिवारहरू जम्मा भए पनि मानिसहरू कोही कसैसँग बोल्दैनन् । पूराका पूरा सबै मोबाइलमा झुम्मिरहेका हुन्छन् । अहिले विदेश जाने बाध्यता भएकाले परिवारका सबै सदस्यहरू एकै ठाउँमा छैनन् । घर देश र परदेशमा मानिसहरू विभाजन भएकाले सबैका आआफ्ना बाध्यताहरू हुन्छन् । अहिले दसैँ फूलपातीदेखि मात्र लाग्छ । ऊ बेलामा दसैँ आउनु भन्दा एक महिना अघिदेखि नै दसैँको सबै प्रकारको तयारी हुन्थ्यो । अहिले ‘कुखुरो काट्यो दसैँ, झोला बोक्यो बसै’ भन्ने उखान चरितार्थ भएको समय छ ।

विगत र वर्तमानको दसैँको तुलना गर्दा म एक प्रकारले ‘नोस्टाल्जिक’ हुने गर्नु । मलाई मेरो बालापनको दसैँ अब झनै सम्झनामा रमाइलो लाग्छ । हामीले कम खर्चमा सबै परिवारका सदस्यहरूलाई भरपुर आनन्द हुने गरी दसैँ मनाउनु पर्छ भन्ने मेरो मान्यता छ ।

।।समाप्त।।