अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

लमजुङमा बाढीपहिरोमा परी कम्तीमा ४ जनाको मृत्यु, ३ बेपत्ता –खोजी कार्य जारी

बिआरटीनेपाल २०७५ भदौ २८ गते ९:५७ मा प्रकाशित

गएराति देखिको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी लमजुङमा चारजनाको मृत्यु भएको छ । घटनामा अन्य ३ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा मस्र्याङदी गाउँपालिका, ३ खुदी पल्लोटारीकी ६० वर्षीया अतिरुपा थापा, उनकी १० वर्षीया नातिनी शिरिषा, वडा नं. ३ को अर्खलेबेसीकी ७० वर्षीया ललितमाया गुरुङ र मस्र्याङ्दी गाउँपालिका ५ की विष्णुकली गुरुङ रहेका छन् । अतिरुपा र शिरिषा पहिरो छल्न भाग्दै गर्दा पुरिएको प्रहरीले जनाएको छ ।

ललितकलालाई तोप्रोखोलामा आएको बाढीले बगाएको हो । उनको शव बिहीबार बिहान मात्र फेला परेको थियोे । विष्णुकली बाख्रा चराउन जाँदा पहिरोमा परेकी हुन् । उनका ४० बाख्रामध्ये १३ वटा मरेको अवस्थामा फेला परेका छन् भने २७ वटा बाख्रा अझै हराईरहेका छन् ।

बाढीमा परी तीनजना बेपत्ता भएका छन् । बेसीसहर ११ स्थित दोर्दी खोला हाइड्रोपावरमा काम गर्ने २ जना मजदुरलाई मस्र्याङ्दीले बगाएको हो । मस्र्याङ्दीमा वेपत्ता हुनेमा बर्दियाका ठाकुरद्धारा नगरपालिका ५ का ३२ वर्षीय वलिराम चौधरी र २५ लक्षमण थारु रहेका छन् । यस्तै मस्र्याङ्दी गाउँपालिका ४ नासकुचेका ५५ वर्षीया राजु लामा स्थानीय तोप्रो खोलामा आएको बाढीमा बेपत्ता भएका छन् ।

बाढीले १ ट्याक्टर, ३ वटा मोटरसाइकल, एउटा मिनीट्रक र एउटा जीप बगाएको छ । वाढी तथा पहिरोमा परी ७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मस्र्याङ्दी ३ खुदी तरापुका टुकमाया खत्री, कृष्ण थापा, रसीव थापा, सिजन थापा, सोही वडाको अर्खलेबेसीका फुलमाया गुरुङ रहेका छन् । यस्तै वडा नं. ४ श्रीचौरका मेनका घले र समिर विक पनि घाइते भएका छन् । घाइतेहरुको लमजुङ जिल्ला सामुदायिक अस्पताल र खुदी स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू