अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

निर्मलाका आमाबाबुले निर्दोष छोरीको हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारबाही गर्न माग

बिआरटीनेपाल २०७५ भदौ २८ गते ९:३८ मा प्रकाशित

काठमाडौँ, बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई चाँडो खोजी गरेर कारबाही गर्न माग गरिएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजना गरिएको साक्षात्कारमा पन्तका आमाबाबुले निर्दोष छोरी निर्मलाको हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारबाही गर्न माग गरेका हुन् । 

निर्मलाका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता लगाउन प्रहरीले आवश्यक सहयोग नगरेको गुनासो गर्नुभयो । “प्रहरी मेरो साथी भनेर नारा लगाइन्छ तर दुःख पर्दा प्रहरीबाट असहयोग हुन्छ,” उहाँले भन्नुभयो । छोरी हराएपछि तत्काल प्रहरीलाई खबर गर्दा प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न आलटाल गरेको उहाँले आरोप लगाउनुभयो ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले हत्या भएको ५०औँ दिन पुग्दा पनि दोषी पत्ता नलागेपछि न्यायको खोजीमा काठमाडौँ आएको बताउनुभयो । “जसरी पनि हामीलाई न्याय चाहिएको छ, कञ्चनपुरमा न्याय नपाएर हामी यहाँ आएका हौँ,” उहाँले भन्नुभयो ।

मानवअधिकारकर्मी शारदा चन्दले घटनाको छानबिनका लागि बनाइएको समितिमा सरकारी मान्छे मात्र राखेर घटनाको प्रमाण नष्ट गर्न खोजिएको आरोप लगाउनुभयो । उहाँले पीडित परिवारलाई समेत ज्यानको खतरा रहेको भन्दै सुरक्षाको माग गर्नुभयो । अर्का अधिकारकर्मी मिना भण्डारीले सरकारले अपराधीलाई जोगाउन खोजेको आरोप लगाउनुभयो ।

मानवअधिकारकर्मी माया नेगी, अधिवक्ता पुष्पराज पौडेलले सरकारले घटनाको अनुसन्धान गर्न तीन/तीन वटा समिति बनाउँदा पनि अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु दुःखद भएको बताउनुभयो । निर्मला साउन १० गते हराएको र ११ गते मृत भेटिएपछि उक्त घटनाबाहिर आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू