अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना – ६ जनाको मृत्यु, १ जना घाइते

बिआरटीनेपाल २०७५ भदौ २३ गते ९:२७ मा प्रकाशित

गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गरेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । दुर्घटनामा एक जना यात्रुको भने जीवितै उद्धार गरिएको नवाकोट प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका ७ जना सवार नाइन एन ए एल एस कल साइनको हेलिकोप्टर दुर्घटनामा परेको हो । शनिबार बिहान ६ः५७ मा उडेकोे हेलिकोप्टर उडेको केही बेरमा धादिङ र नुवाकोटको सीमा क्षेत्रमा आइपुगेपछि सम्पर्क बिहिन भएको थियो । काठमाडौँबाट पर्यटक लिएर शनिबार बिहान गोरखाको सामागाउँ पुगेको हेलिकोप्टरले पर्यटक छाडी त्यहाँबाट क्याप्टेनसहित ७ यात्रु लिएर काठमाडौँका लागि उडेको थियो ।

प्रत्यक्षदर्शी स्थानिय वासिन्दा अनुसार बिहान ७ बजेतिर नुवाकोटको मेघाङको जंगलको कुहिरोभित्र ठुलो आवाजमा विस्फोट भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा जापानी नागरिक हिरोमी कामात्सु, रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी रहेका छन् । गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकीलाई भने दुर्घटनाग्रस्त हेलिकोप्टरवाट जीवितै उद्धार गरिएको थियो ।

दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको वताएपछि त्यसैका आधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू