अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

प्रधानमन्त्री र रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिवबिच भेटघाट

बिआरटीनेपाल २०७५ भदौ २२ गते ९:५५ मा प्रकाशित

काठमाडौँ,  प्रधानमन्त्री के.पी. शर्मा ओली र रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एल्हाद एस सीबीच आज प्रधानमन्त्री कार्यालयमा एक औपचारिक भेटघाट भएको छ । भेटको क्रममा नेपालमा रेडक्रसले गरिरहेका गतिविधिहरू अति प्रशंसनीय रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो “रेडक्रसका कार्यहरूले नेपाल सरकारका धेरै कार्यक्रमहरूमा सहयोग पुगेको छ ।” 

भूकम्पपछि अन्तर्राष्ट्रिय रेडक्रसले पुर्याएको सहयोगको प्रशंसा गर्दै नेपालले विगत लामो समयसम्म भोगेको सशस्त्र द्वन्द्वमा पनि रेडक्रसले निष्पक्ष रूपमा पुर्याएको मानवीय सहयोग अति नै उल्लेखनीय रहेको समेत उहाँले बताउनुभयो ।

“विपत् र अप्ठ्यारो परेको जुनसुकै समयमा सबैले रेडक्रसलाई पहिले सम्झन्छन् ।” प्रधानमन्त्री ओलीले भन्नुभयो? कतिपय अवस्थामा रेडक्रसले अगाडी पुगेर मानवीय सेवा पुर्याएको छ, आगामी दिनमा यसको निरन्तरता रहने विश्वास व्यक्त गर्दछु ।” त्यसै गरी नेपाल रेडक्रसप्रति नेपाल सरकारको सदैव विश्वास र भरोसा रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एल्हाद एस सी ले भूकम्प प्रतिकार्यमा अन्तर्राष्ट्रिय रेडक्रसले पुर्याएको सहयोग साँच्चै प्रभावकारी भयो की छैन भन्ने कुराको प्रत्यक्ष जानकारी लिन आफू नेपाल आएको बताउँदै नेपालबाट प्राप्त प्रतिवेदनबाट भन्दा पनि आफ्नै आँखाले भूकम्प प्रतिकार्यका गतिविधि र त्यसले लाभान्वितहरूमा आएको खुसी हेर्न पाउँदा सन्तोष मिलेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपाल सरकारले अन्तर्राष्ट्रिय रेडक्रसलाई काम गर्ने वातावरण तयार गरिदिएको कारण आफूहरूले समयमा नै भूकम्प प्रभावितहरूको उद्धार राहत तथा प्रतिकार्यमा काम गर्न सक्यौँ, नेपाल सरकारप्रति अन्तर्राष्ट्रिय रेडक्रस आभारी छ ।”

नेपाल सरकारसँग रेडक्रस अभियानले सहकार्य गर्न सफल भएको, विपत्भन्दा पूर्व, विपद्को अवस्थामा र विपद्पछि पनि सदैव सरकारको सहयोगीको रूपमा रही पीडित र प्रभावितहरूलाई सहयोग पुर्‍याउनु नै रेडक्रसको मुख्य उद्देश्य रहेको र सो कार्यमा रेडक्रसले उपलब्धि हासिल गर्न सकेकोमा उहाँले सन्तोष व्यक्त गर्नुभयो । सरकारको तर्फबाट मानवीय सेवाका निम्ति अनुकूल वातावरण उपलब्ध गरी काम गर्ने अवसर प्रदान गरेकोमा पनि उहाँले नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

आजै, महासचिव एस सी ले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि औपचारिक भेटघाट गर्नुभयो । सो अवसरहरूमा पनि द्विपक्षीय सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो । उक्त भेटमा पनि महासचिव एस सी ले नेपाल सरकारको तर्फबाट र सम्बन्धित मन्त्रालयहरूबाट प्राप्त सहयोगका निम्ति धन्यवाद एवं आभार व्यक्त गर्नुभयो । सबैसँगको भेटमा उहाँले व्यक्तिगत र संस्थागत रूपमा सहयोगलाई निरन्तरता दिने विषयमा प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो यी भेटघाटहरू र वास्तविक रूपमा फिल्डमा भएको काम तथा लाभान्वितहरूसँगको अन्तरक्रियाबाट आफू अत्यन्तै खुसी भएर फर्कन लागेको पनि उल्लेख गर्नुभयो ।

सबै भेटघाटमा क्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, महामन्त्री देव रत्न धाख्वा, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रतिनिधि जुजा किम तथा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालका साथै नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

छलफलका क्रममा कतिपय विषयहरूमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले प्रकाश पार्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू