अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

नेपाल सांस्कृतिक सङ्घद्वारा नेपाली काँग्रेस विधान मस्यौदा समितिलाई १५ बुँदे सुझाव तथा माग पत्र हस्तान्तरण

बिआरटीनेपाल २०७५ भदौ २१ गते ८:२५ मा प्रकाशित

काठमाडौँ, नेपाल सांस्कृतिक सङ्घले विभिन्न आफ्ना १५ बुँदे माग तथा सुझाव सहित नेपाली काँग्रेस विधान मस्यौदा समितिका संयोजक तथा नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्कालाई माग पत्र हस्तान्तरण गरेको छ l उक्त अवसरमा नेपाल सांस्कृतिक सङ्घका टोलीले नेपाली काँग्रेसका उप सभापति बिमलेन्द्र निधि, नेता रमेश लेखक लगायतका अन्य नेताहरूलाई भेटी आफ्ना मागहरूको बारेमा प्रष्टाएको थियो l

नेपाल सांस्कृतिक सङ्घका सभापति तीर्थबहादुर थापा नेतृत्वको टोलीले नेपाली काँग्रेसको अब बन्ने विधानमा आफ्ना मागहरू समेटिनु पर्ने र नेपाल सांस्कृतिक सङ्घलाई पार्टीले पहिचान सहित अगाडी बढाउनु पर्ने कुराको माग राखेको थियो l

विस्तृत विवरणको लागि यहाँ हेर्नुहोस् :

श्रीमान् संयोजकज्यू,
विधान मस्यौदा समिति
नेपाली काँग्रेस
विपी स्मृति भवन, सानेपा, ललितपुर

महोदय,
संस्कृति, साहित्य, नाट्य, कला (नृत्य कला, वास्तुकला र चित्रकला) धर्म परम्परा, भेष भूषा, रीति थिति, खानपान,रहनसहन, जस्ता सांस्कृतिक वाङमयका विविध विधाका माध्यमबाट नेपाली काँग्रेस पार्टीको आदर्श, मूल्य–मान्यता एवं यसका तीन महत्त्वपूर्ण आधार– राष्ट्रियता, प्रजातन्त्र, समाजवादबारे आम जनतालाई सुसूचित गर्दै पार्टीका पक्षमा व्यापक जनमत सिर्जना गर्ने उद्देश्यका साथ २०६३ सालमा पार्टीको शुभेच्छुक संस्थाका रूपमा गठन गरिएको ‘नेपाल सांस्कृतिक सङ्घ’आज आएर एउटा मजबुत र प्रभावशाली सङ्गठन बनेको छ ।भनिन्छ, संस्कृतिले नै मानव जाति र राष्ट्रको सार्वभौम चिनारी बोकेको हुन्छ । समाजको प्राण र आत्माका रूपमा स्विकारिन्छ संस्कृतिलाई ।

संस्कृति र सभ्यता एक अर्काका पूरक मानिन्छन् । संस्कृति आत्मा हो भने सभ्यता शरीर हो । संस्कृतिले मानसिक एवम् बौद्धिक विकास गर्छ भने सभ्यताले भौतिक तथा शारीरिक । यस प्रकार सांस्कृतिक क्षेत्रको महत्त्व र गरिमालाई सूक्ष्मतापूर्वक अध्ययन विश्लेषण गर्दा नेपाल सरकार र राजनीतिक दलहरूले पनि यस क्षेत्रलाई प्रहार होइन, संरक्षण र सम्बद्र्धन गर्न आवश्यक छ । राष्ट्रको पहिचान र अस्मितालाई बचाउने हो भने सांस्कृतिक क्षेत्रलाई उपेक्षा गर्न मिल्दैन । नेपाली काँग्रेस बहु भाषी, बहुजातीय एवं बहु सांस्कृतिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने महान् ऐतिहासिक–लोकतान्त्रिक सङ्गठन हो ।

लोकतान्त्रिक पद्धतिको स्थापना र रक्षामा नेपाली काँग्रेसको मात्र महत्त्वपूर्ण भूमिका रहेको छ । तसर्थ नेपाली काँग्रेसले सांस्कृतिक क्षेत्रको गरिमा र महत्त्वलाई मनन गरेर जनताका घर आँगनमा पुग्न सकेका खण्डमा लोकतन्त्रको रक्षा हुने कुरा सुनिश्चित छ । जनतालाई आश्वासन र नारा मात्र प्रवाह गर्ने होइन, लोक जीवनका दुःख, दर्द, पीडा, कष्ट, अभाव, कठिनाइ, विरह, वेदना, कुण्ठा वा हर्ष उमंगहरूमा आत्मसात् गरेर साक्षात्कार गर्दै हातेमालो गर्ने माध्यम यसै सांस्कृतिक क्षेत्रलाई बनाउन सकिन्छ । सांस्कृतिक क्षेत्रलाई अवमूल्यन गरेर जनताको साथी सहयोगी हुन सकिन्न । किनभने भाषा, साहित्य, कला, नृत्य, सङ्गीत नाट्य, आदि क्षेत्रका विषयवस्तुहरू सांस्कृतिक धरोहरले मात्र समेट्न सक्ने हुँदा जनताका लोकलय र अभिव्यक्तीकरणमा सामेल हुने उत्तम माध्यम यसै सांस्कृतिक क्षेत्रलाई मात्र लिन सकिन्छ । समृद्धि र विकासको अभियान, सम्मान, सुरक्षा र पहिचान’को मूल नारासहित हालै सम्पन्न दोस्रो महाधिवेशनबाट यसको साङ्गठनिक स्वरूप मुलुकको वर्तमान संविधान र पार्टीको मौजुदा विधान अनुरूप सङ्घीय ढाँचाको भएको छ ।

साथै सङ्घ अब प्रतिनिधित्वका हिसाबले व्यापक र समावेशी त बनेको छ नै यो नेपाली समाजको पिँधको तहसम्म फैलिएको पनि छ । समाजको गहनाका रूपमा लिइने सांस्कृतिक अगुवा– कलाकार, स्रष्टा, सांस्कृतिक अभियन्ता साहित्यकारहरूको यो संस्थाको विकास, विस्तार र सुदृढीकरणका लागि पार्टीका तर्फबाट हामीले आवश्यक संरक्षण र सहयोगको अपेक्षा गरेका छौँ । यस सङ्घको प्रभाव वृद्धि प्रकारान्तरमा मूल पार्टीकै मजबुतको एउटा आधार हुनेछ भन्ने हामीले विश्वास गरेका छौँ । यिनै कुराहरूलाई ध्यानमा राख्दै पार्टीका तर्फबाट निम्न निर्णय हुन विधान मस्यौदा समितिको माध्यमबाट अब नेपाली काँग्रेस महासमिति बैठकमा पेस गरी पारित गर्नका लागि तपसिल बमोजिमका विषयवस्तुहरू समावेश गर्न अनुरोध गर्दछु ।

तपसिल बमोजिमका विषयवस्तुहरू
१. नेपाली काँग्रेसबाट आगामी दिनमा निर्माण हुने विधानमा नेपाल सांस्कृतिक सङ्घलाई भ्रातृ संस्थाका रूपमा मान्यता प्रदान गरी विधानमा समावेश गर्नुपर्ने ।
२. नेपाली काँग्रेसको विद्यमान विधानमा विभिन्न विभागहरूको संरचनामध्ये संस्कृति विभाग र सांस्कृतिक विभाग कायम रहेकोमा दुवैलाई एकै ठाउँ गाभी ‘सांस्कृतिक विभाग’ कायम हुनुपर्ने ।
३. पार्टी सङ्गठनको सम्पूर्ण तह (तह र निकाय– गाउँपालिका, नगरपालिका, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र)मा नेपाल सांस्कृतिक सङ्घको अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने ।
४. प्रत्येक गाउँ र नगरपालिकाबाट क्षेत्रीय प्रतिनिधिका रूपमा सांस्कृतिक क्षेत्रको आरक्षण कोटाको सुनिश्चितता हुनुपर्ने । कम्तीमा एक–एक जना हुनुपर्ने ।
५. प्रत्येक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि नेपाल सांस्कृतिक सङ्घका तर्फबाट आरक्षणका रूपमा कम्तीमा एक एक जना सुनिश्चित हुनुपर्ने ।
६. नेपाली काँग्रेसको विद्यमान विधानबमोजिम कायम भएका तीन जना महाधिवेशन प्रतिनिधिलाई बढाएर सङ्घको विधागत संरचना वृद्धि भएको हुँदा सो तीनजनाका ठाउँमा कम्तीमा ११ जना कायम हुनुपर्ने ।

७. नेपाली काँग्रेसको तर्फबाट जिल्लाबाट वितरण हुने क्रियाशील सदस्य नेपाल सांस्कृतिक सङ्घका तर्फबाट पनि वितरण गर्न पाउनुपर्ने ।
८. नेपाली काँग्रेसको कुनै पनि संरचनामा आरक्षणबाट गरिने मनोनयन, नियुक्ति एक पटक भन्दा बढी दोहर्याएर दिन नमिल्ने कुरा विधानमा उल्लेख गर्नुपर्ने ।
९. नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन तल्लो तह तप्काबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिनुपर्ने ।
१०. नेपाली काँग्रेसको सिफारिसमा राज्य वा पार्टीले प्रदान गर्ने सम्मान, पुरस्कार, नियुक्ति, मनोनयन, सुरक्षा, पदवी नेपाल सांस्कृतिक सङ्घको सिफारिसमा मात्र प्रदान गरिनुपर्ने ।

११. गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेपाल सांस्कृतिक सङ्घको सिफारिसमा उम्मेदवारीको प्रतिनिधित्व चयन गर्ने प्रबन्ध मिलाउनुपर्ने ।
१२. पार्टीको नीति र कार्यक्रम निर्माण प्रक्रियामा नेपाल सांस्कृतिक सङ्घलाई पनि समावेश गराउनुपर्ने ।
१३. देशको असल छवि निर्माण गर्न पार्टीको तर्फबाट सिफारिस गर्दा नेपाल सांस्कृतिक सङ्घको सिफारिसमा स्रष्टा, कलाकार, साहित्यकारहरूलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय सांस्कृतिक दूत नियुक्ति गर्न पहल गर्ने विषयमा पनि व्यवस्था मिलाउनुपर्ने ।

१४. नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा बढीमा १५० सदस्य हुनुपर्ने । प्रत्येक प्रदेशमा केन्द्रीय समितिको सदस्य सरह बढीमा २१ सदस्यीय प्रदेश समिति हुनुपर्ने, त्यसमा एक जना संयोजक हुनेछ ।
१५. नेपाली काँग्रेसको सदस्यहरूमा तलदेखि माथिसम्म मर्यादाक्रम निश्चित गरी विधानमा उल्लेख गर्नुपर्ने ।

दोस्रो महाधिवेशनपछि नेपाल सांस्कृतिक सङ्घको विधान बमोजिम विभिन्न विधागत संरचना तयार गरी सो बमोजिम सङ्गठन निर्माण भई कार्य गर्दै आएको छ । ती विधागत संरचना यस प्रकार छन् :
क) भाषा साहित्य सङ्घ
ख) ललितकला सङ्घ
ग) चलचित्र कलाकार सङ्घ
घ) संगीतकर्मी सङ्घ
ङ) नाट्यकर्मी सङ्घ

च) चलचित्र प्राविधिक सङ्घ
छ) वाद्यवादन सङ्घ
ज) लोकदोहोरी सङ्घ
झ) नृत्यकार सङ्घ
ञ) वैदेशिक सम्पर्क समिति सङ्घ

यसमा विधागत रूपमा रीति रिवाज, भेष भूषा, परम्परा, धर्म संस्कृति आदिलाई पनि समेट्दै सङ्गठन निर्माणमा योजना अनुरूप सहभागी हुँदै जाने जानकारी गराउन चाहन्छौँ । राजनीतिक एवम् सामाजिक रूपमा राज्यस्तरीय रूपबाट सांस्कृतिक क्षेत्रलाई प्राथमिकतामा नराखिएको र सांस्कृतिक पक्ष भनेको नाच्ने र गाउने मात्र विषयमा सीमित तुल्याइएको परिप्रेक्ष्यलाई स्मरण गर्दै सांस्कृतिक क्षेत्रभित्र माथि उल्लिखित विषयहरू रहेको पुनः स्मरण गराउन चाहन्छौँ । विश्वमा जुन राष्ट्रमा सांस्कृतिक क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ र लगानी पनि गरिएको छ, ती राष्ट्रहरू नै बहुआयामिक दृष्टिकोणबाट समृद्धिमा रहेको देखिन्छ । तसर्थ यो क्षेत्रलाई उपेक्षा, अपमान, तिरस्कार नगरी नेपाली काँग्रेस जस्तो नेपालको भविष्य बोकेको पार्टीले सांस्कृतिक क्षेत्रलाई विशेष सम्मान र प्राथमिकता प्रदान गरी नेपाली काँग्रेसका हरेक संरचनामा महत्त्वपूर्ण स्थान दिनेछ भन्ने विश्वास लिएका छौँ ।

आदरणीय संयोजकज्यू,
हामी संस्कृतिकर्मी, कलाकर्मी, स्रष्टा, कलाकारहरूलाई नाच्ने, गाउने र नौटङ्की गर्ने दृष्टिकोणबाट मात्र हेरिने र यो सम्पूर्ण क्षेत्रको अपमान उपेक्षा र अवमूल्यन गरिँदै आएको परिवेशमा यहाँहरूले पनि हाम्रा उपरोक्त मागहरूलाई अध्ययन पनि नगरी, महत्त्व पनि नदिने परिस्थितिमा तपाईँहरूलाई यसतर्फ विशेष ध्यानाकर्षण गराइन्छ । आशा छ विधान मस्यौदा समितिका संयोजक एवं पदाधिकारीज्यूहरूबाट देशका समग्र सांस्कृतिक स्रष्टाकर्मीहरूको भावनाको कदर गर्दै नेपाली काँग्रेसको नीति र उद्देश्य परिपूर्ति गर्न यी महत्त्वपूर्ण पक्षहरूलाई सहभागी गराउन अनुरोध गर्दछु । स्मरण रहोस्, समावेशी र समानुपातिकको सिद्धान्तलाई नेपालको संविधानमा समेत प्राथमिकताका साथ समावेश गर्न सक्ने नेपाली काँग्रेसले पक्कै पनि नेपाल सांस्कृतिक सङ्घलाई पनि नेपाली काँग्रेसको विधानमा सोही अनुरूप सम्मानपूर्वक समावेशी र समानुपातिक आधारमा समावेश गर्नेछ ।

 

धन्यवाद ।
जय नेपाल
तीर्थबहादुर थापा
सभापति

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू