अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

मोदी आउने बाटोमा लुकाइयो तीनकुने पार्क, जोगियो लाज [भिडियो कथा]

बिआरटीनेपाल २०७५ भदौ १४ गते ७:३३ मा प्रकाशित

काठमाडौँ । विमिस्टेक सम्मेलनको रौनकले काठमाडौँ रंगिएको छ । त्यसमा पनि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको छेउमै रहेको तीनकुने पार्क बिहेकी बेहुली झैँ चिटिक्क पारिएको छ ।

तीनकुने पार्क भएर विशिष्ट पाहुनाहरूको सवारी कुँद्ने भएकोले हरेक यस्ता महत्त्वपूर्ण अवसरमा तीनकुने पार्कको स्वरूप केही दिनकै लागि भए पनि चमत्कारिक ढङ्गले फेरिन्छ ।

तर बिचरा तीनकुने पार्कको अन्तर कथा बेग्लै छ । कति विशिष्ट पाहुनाहरू आए, गए तर यो पार्कले उनीहरूलाई देख्नै पाएको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकै वर्षमा कति पटक आए र गए, तर तीनकुने पार्कले उनको अनुहारसम्म देख्न पाएन । आजको आगमनलाई समेत जोड्दा भारतीय प्रधानमन्त्री मोदीको यो चौथो भ्रमण हो ।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको छेउमै भएकोले नेपाल आउने जो सुकै विशिष्ट पाहुनाका लागि यो तीनकुने पार्क फन्को मारेर जानुको विकल्प छैन ।

विमिस्टेक सम्मेलनका लागि मोदी मात्रै हैन, उनीसँगै विमिस्टेक सदस्य देशका सरकार प्रमुखहरू पनि आएका छन् ।

तर दुर्भाग्य ती पाहुनाहरुकाे नजर छलाउन तीनकुने पार्कमा उही पुरानै प्रपञ्च रचिएको छ । जस्ता पाताले घेरेर तीनकुनेलाई कैद गरिएको छ ।

काठमाडौँ छिर्ने बित्तिकै तीनकुने पार्कलाई देख्यो भने साइत बिग्रने डर सत्ताका शासकहरूलाई छ । उनीहरू ठान्दछन् यो कुरूप पार्कले देशको र सत्ताको लाज उडाउँछ रे । त्यसैले आफ्नो लाज छोप्न हरेक शासकले तीनकुने पार्कलाई कहिले जाली कपडाको सप्कोले कहिले जस्ता पाताले छोपेर कैद गरिदिन्छन् ।

दुई तिहाइको ओली सरकार बनेपछि पनि तीनकुनेको लाज छोपिएको यो पहिलो पटक हैन । एउटा पार्क व्यवस्थापन गर्न इच्छा शक्ति भए यो शक्तिशाली सरकारका लागि कति नै ठुलो विषय हो र । तर तीनकुने पार्कलाई खाँचो पर्दा शासकहरूले तत्क्षणको आफ्नो स्वादका लागि लागि सिँगार पटार गरिदिन्छन् र पाहुना गएपछि नि वस्त्र पारिन्छ दिन्छन् । पाहुना गएपछिको नवस्त्र पार्क देखेर शासकहरूको लाज लजाउँदैन ।

विमिस्टेक सम्मेलनका लागि आएका पाहुनाहरू यही पार्कको छेउ भएर कुँदेका छन् । मोदी पनि भर्खरै यही बाटो कुँदेका छन् ।

तीनकुने पार्कको पीडादायि भित्री यथार्थ उतार्न त्यहाँ पुगेर तयार पारिएको यो विशेष भिडियो सामग्री हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू