अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

वकर ईद मनाईयो/ ईद मनाउने क्रममा महोत्तरीमा झडप, कम्तीमा १५ जना घाईते

बिआरटीनेपाल २०७५ भदौ ६ गते ९:२५ मा प्रकाशित

मुश्लिम धर्मावलम्बीले आज मौलिक पर्व बकर इद मनाएका छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ । नमाज पढिसकेपछि घरमा गई बली दिने र एक आपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ । बकर इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आइरहेको भए पनि यस वर्षबाट कटौती भएको छ । यद्यपि, प्रदेश १, २ र ५ ले भने प्रदेशस्तरीय निर्णय गरेर आज छुट्टी दिएका छन् ।

यसैवीच, महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका ३ स्थित महदैया तपनपुरमा बकर–इद पर्वको अवसरमा ‘इदुल जोहाको नमाज कुन इमामले पढाउने’ भन्नेबारे दुई समूहबीच विवाद हुँदा कम्तीमा १५ जना घाईते भएका छन । दुई पक्षीय झडपमा सोही ठाउँका ४५ वर्षीय रिस्तम राईन, १८ वर्षीय सुनि राईन, ३५ वर्षीय अतावुल राईन, ४५ वर्षीय अहमद राईन, ५० वर्षीय युनिस राईन, अनिश राईन, मञ्जुर कवारी, अख्तर राईन र जलाउदिन राईन घाइते भएका डिएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको र अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन २ राउण्ड हवाइ फायर समेत गर्नुपरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बकर ईदको समयमा यसअघि पनि त्यहाँ दुई समूहबीच सोही विषयलाई लिएर झगडा हुने गरेको थियो । महोत्तरीको महदैया तपनपुरमा पहिल्यैदेखि मुस्लिम समुदाय दुई भागमा विभाजित रहेको र बुधबार बिहान ईदको अवसर पारेर नवाज पढ्ने क्रममा कुन समूहले पहिले दान दिएर नवाज पढ्ने विषयमा विवाद सुरू भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू