अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३३ | Colorodo: 18:48

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा, पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालय रहने

बिआरटीनेपाल २०७५ साउन २४ गते ९:२३ मा प्रकाशित

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भएको छ । बिहिबार बसेको पार्टी हेडक्वार्टर बैठकले उक्त निर्णय गरेको हो । बैठकले पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु रहने निर्णय गरेको छ ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा निर्माण हुनुअघि धुम्बाराहीमा एमाले र पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको थियो । त्यस्तै, बैठकले केही समयअघि पारित गरिसकिएको पार्टीको विधान र नियमावलीलाई थप व्यवस्थित ढंगले संगठन सञ्चालन गर्नका लागि त्यसका विभिन्न विनियमहरु, निर्दशिकाहरु, आचारसंहिताहरु निर्माण गर्ने प्रयोजनका लागि कार्यदल निर्माण गर्ने निर्णय समेत गरेको छ ।

कार्यदलमा नेताहरु सुवास नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा र बेदुराम भुसाल रहनुभएको नेकपाले जनाएको छ । यसअघि पार्टी एकता लगत्तै विधान र नियमावली पारित भएको थियो । बैठकले प्रादेशिक सांसद र सभाका सदस्यहरुलाई जिल्ला पार्टी वा त्योभन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय गरेको छ भने साउन मसान्तभित्र राजनीतिक प्रतिवेदन प्रकाशित गरिसक्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी बैठकले भदौ ७ र ८ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय समेत गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठ नेतृत्वको टोलीलाई चीन भ्रमणमा पठाउने निर्णय समेत गरेको छ । सो टोलीले सेप्टेम्बर १२ देखि १९ सम्म हुने चीन भ्रमण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू