अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

प्रमुख प्रतिपक्षी कांग्रेसद्वारा प्रतिनीधिसभा बैठक बहिस्कार, बहिस्कारकै वीच सदन सुचारु

बिआरटीनेपाल २०७५ साउन १७ गते ८:२१ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । यो संगै प्रतिपक्षीको बहिस्कारबीच पनि सभामुख कृष्णबहादुर महराले संसदको कार्यसूची अघि बढाएपछि विपक्षी दल सभामुखसँग रुष्ट वनेको छ । सामान्यतः संसदमा उभिएर विरोध गरेपछि संसद बैठक अवरुद्ध भएको मानिन्छ । तर, बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक नै बहिस्कार गरेर हिँड्दा पनि बैठक सन्चालन गरेपछि सभामुख कृष्णबहादुर महराले यस्तो अभ्यासलाई ‘ऐतिहासिक घटना’ भएको टिप्पणी गर्नुभएको छ ।

विहीवारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आ–आफ्ना मन्त्रालयको कामबारे संसदलाई जानकारी गराइसकेपछि प्रतिपक्षी कांग्रेस सांसदहरुले थप प्रस्ट हुन प्रश्न सोध्न खोज्दा सभामुख महराले समय उपलब्ध नगराएपछि कांग्रेस सांसदहरुले विरोध जनाएका थिए ।

 

कांग्रेस सांसदहरु उभिरहेकै बेला सभामुख महराले संसदीय समितिमा रहने सदस्यहरुको नाम सुनाएर संसदीय समिति गठनलाई अनुमोदन गराउनुभयो । त्यसबीचमा पनि कांग्रेस सांसदहरु उभिएर गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई संसद नियमावलीअनुसार नै प्रश्न गर्न माग गरिरहेका थिए ।

तर, सभामुख महराले नियमावलीको नियम १५ अनुसार मन्त्रीलाई बोल्न दिएको भन्दै प्रश्न सोध्ने व्यवस्था नभएको दलिल गर्दै बैठक अघि बढाएपछि कांग्रेस सांसदहरु बैठकबाट बाहिरिएका थिए । प्रमुख प्रतिपक्षीको बहिस्कारपछि पनि संसदले आफ्नो कार्यसूची अघि बढाएको यो पहिलो घटना हो ।

बैठक बहिस्कार गरेपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस नेताहरुले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आफूहरुको आरोप पुष्टि भएको जनाएका छन । सभामुख महराले भने नियमावलीअनुसार नै आफूले काम गरेको भन्दै यो विषय बहिस्कार नै गरेर निस्कनुपर्ने अवस्थाको नभएको जिकिर गर्नुभएको छ । आजको घटना एउटा ऐतिहासिक घटना भएको भन्दै सभामुख महराले अब भने त्यस्तो नहुने वताउनुभएको छ ।

यसअघि, बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले सांसदलाई धम्की दिनुको पछाडि राजनीतिक अस्थिरता फैलाउने उद्देश्य रहेको दाबी गर्नुभएको थियो । मन्त्री थापाले कन्चनपुरमा १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कठोर कारबाही गरिने पनि बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरुदेवी पालले संसदमा आफूलाई पेस्तोल देखाएर धम्की दिएको जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको विहीवारको बैठकले १० ओटा संसदका विषयगत समितिहरु गठन गरेको छ । त्यस्तै, राष्ट्रियसभाको बैठकले पनि चारओटा विषयगत समिति गठन गरेको छ । संसदको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

 

प्रतिक्रिया