अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५१ | Colorodo: 11:06

पूर्व तयारीको लागि थप कार्य गर्न आग्रह

दिब्यराज पौडेल, ललितपुर २०७५ असार १६ गते १०:४० मा प्रकाशित

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले भविष्यमा आउनसक्ने विपद्को अवस्थालाई ध्यानमा राखी अझ बढी पूर्वतयारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को ललितपुर जिल्ला शाखाको स्वर्ण महोत्सव समापन समारोहलाई आज सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री थापाले भन्नुभयो: मानवीय समस्याहरू समाधान गर्न विद्यालय र समुदायस्तरमा जनसमुदायलाई सङ्गठित गरी समाजसेवामा लाग्न प्रेरित गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

पुल्चोकमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथि नेरेसोका अध्यक्ष सञ्जीव थापाले समुदायको सँकटासन्नता न्यूनीकरण, उद्यार राहत, स्वास्थ्य प्रवर्धनलगायतका क्षेत्रमा रेडक्रस संलग्न भइआएको र समुदायको आवश्यकता परिपूर्ति गर्न स्रोत साधनको उपलव्धता एउटा चुनौती रहिआएको बताउनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले रेडक्रसका गतिविधिबाट आफू विद्यार्थीकाल देखि नै परिचित भइआएकोले ठोस उपलब्धि देखिने क्षेत्रमा रेडक्रससँग सहकार्यगर्न तत्पर रहेको बताउनुभयो ।

सो अवसरमा मन्त्री थापा लगायत नेरेसोका अध्यक्ष थापा तथा पूर्व अध्यक्ष रमेश कुमार शर्माले स्वर्णमहोत्सव स्मारिका विमोचन गर्नुभएको थियो । कार्यक्रममा ललितपुर रेडक्रसको विकासमा योगदान दिनुहुने र स्वर्णमहोत्सव अवधिमा प्रतियोगितात्मक गतिविधिका विजेता विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको नेरेसोका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

ललितपुर शाखाका सभापति बाबुराजा महर्जनको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा पूर्व सभापतिहरूको तर्फबाट बोल्दै देवेन्द्र बहादुर प्रधानले शाखाको भवन निर्माण लगायत शाखाको गतिविधिहरूमा सबैको सहयोग अपेक्षा गर्नुभयो ।

नेपाल रेडक्रसका महामन्त्री देवरत्न धाख्वाले कसैको पनि एक्लो प्रयासले समुन्नती हासिल हुन नसक्ने हुँदा रेडक्रसले स्थानीय निकायहरुसँको सहकार्यलाई जनतासम्म पुग्ने एउटा सशक्त माध्यमबनाइरहेको बताउनुभयो ।

कार्यक्रममा सङ्घीय सांसद पम्फा भुसाल, कृष्णलाल महर्जनलगायत विभिन्न नगरपालिकाका मेयरहरू, नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन समितिका सभापति मनोज थापा, जुनियर युवा समितिका सभापति सपुत बहादुर कार्की, ललितपुर रेडक्रसका स्वयंसेवक र कर्मचारीहरू तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । फोटो: दिव्यराज पौडेल, नेरेसो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू