अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

३३ के जी सून प्रकरणका मूख्य अभियूक्त चूडामणि उप्रेती पक्राउ

बिआरटीनेपाल २०७५ जेठ ८ गते ८:३८ मा प्रकाशित

गृह मन्त्रालयले सुन तस्करी, मानव अपहरण र कर्तव्य ज्यान समेत सङ्गठित अपराध सम्बन्धमा मोरङ जिल्ला अदालतमा दायर गरिएको मुद्दाका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गोरेलाई आज बिहान काठमाडौँको गौरीघाटबाट पक्राउ गरिएको आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो ।

साढे ३३ किलोग्राम सुन अवैध रूपमा भित्रिएपछि विभिन्न अपराध भएको र सो सङ्गठित अपराधको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन मन्त्रिपरिषद्ले गत चैतमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो । विशेष टोली संयोजक सहसचिव पौडेलले पक्राउपछि गोरेसँग गरिएको सोधपुछबाट थप सूचना प्राप्त भएको र त्यसले सङ्गठित अपराधसम्बन्धी अनुसन्धानको विश्लेषणमा थप सहयोग पुग्ने बताउनुभयो ।

उक्त मुद्दामा ६५ जना प्रतिवादी रहेकामा ३२ जनालाई अदालतमा पेस गरिएको । ३३ जना फरार रहेको पनि सहसचिव पौडेलले उल्लेख गर्नुभयो । मुख्य अभियुक्त गोरेलाई यथाशीघ्र मोरङ जिल्ला अदालतमा बुझाउन लागिएको पनि उहाँले पत्रकारहरूलाई जानकारी दिनुभयो ।

गत माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै ल्याइएको साढे ३३ किलो सुन बोकेर गएका भरिया सनम शाक्यको हत्या भएसँगै प्रहरीले सुन तस्करीको अनुसन्धान सुरु गरेको थियो । सुन तस्करीमा संलग्न भएको आरोपमा हालसम्म नेपाल प्रहरीका पूर्व डिआर्इजी गोविन्द निरौला,  महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् । एसएसपी श्याम खत्री अझै फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू