अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

आमा बेचेर सानिमा भित्र्याउन खोज्ने चलखेल समितिलाई चेतावनी

बिआरटीनेपाल २०७५ जेठ ५ गते १८:३४ मा प्रकाशित

नेपाली विषय बचाउ अभियान–२०७५, एम.एड., एम.ए. तथा एमफिल शिक्षाशास्त्र सङ्कायको आयोजनामा त्रि.वि.कीर्तिपुरमा कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषयको आवश्यकता र औचित्य विषयक विचार गोष्ठी सम्पन्न भयो । उक्त कार्यक्रममा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले केही पैसामा आमा बेचेर सानिमा भित्र्याउनतिर लागेका चलखेल समितिका पदाधिकारीलाई कडा चेतावनी दिए । उनले आफू विशुद्ध भाषा पाटीको भएकाले जसरी पनि कक्षा ११ र १२ का तीनै धारका सङ्कायमा १००/१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषय राखेरै छाड्ने उद्घोष गरे । लुइटेलले भने ‘नेपाली मेरो भाषा हो म जसरी पनि बचाउँछु, नेपाली भाषाका कालीपोके अब भागे हुन्छ ।’ लुइटेलले लोकसेवामा पनि व्यावहारिक नेपाली भाषा राख्न पहल गरिरहेको कुरा सार्वजनिक गरे ।
उनले नेपाल शिक्षक महासङ्घ, सङ्घ, सङ्गठनका साथै विभिन्न विद्यार्थी सङ्गठनले हामीलाई साथ दिएकामा धन्यवाद दिए । अहिले पाठ्यक्रम विकास केन्द्रले प्रस्तावित पाठ्यक्रमबारे अति छोटो समय राखेर सुझाव माग गरेको हुँदा सबैलाई तत्काल सुझाव पठाउन आग्रह गर्दै सञ्जालले यसबारे सम्बन्धित निकायमा निगरानी राख्ने बताए । 

नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख तथा विषय समिति अध्यक्ष प्रा.डा. देवीप्रसाद गौतमले नेपाली विषय राष्ट्रिय सरोकारको विषय भएकाले कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्कको हुनैपर्छ भनेर आफूले मातहतका सबै आङ्गिक तथा सम्बन्धन प्राप्त निकायमा परिपत्र गरी पाठ्यक्रम विकास केन्द्रलाई सुझाव दिन आग्रह गरेको कुरा समेत बताए । उनले नेपाली भाषा संवैधानिक भाषा र सबै नेपालीको साझा सम्पर्क भाषा भएकाले कुनैहालतमा पछि नहट्ने अडान राखे । विगतमा पनि नेपाली विषय जोगाउन लाग्दा विद्यार्थीको हात भाँचिएको प्रसङ्ग जोड्दै उनले विद्यार्थीको तागतको प्रसम्सा पनि गरे ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले यो नेपाली विषय बचाउ अभियान मात्र नभएर नेपाल बचाउ अभियान हो भन्दै साधारण, संस्कृत र प्राविधिक तथा व्यावसायिक तीनै धारमा कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्कको नेपाली विषय राखिनु पर्छ भन्ने कुरामा जोड दिँदै आफ्नो ठाउँबाट सक्दो लागिपर्ने प्रतिबद्धता समेत जाहेर गरे । उनले भने ‘मकैवारिमा मकै मात्र नभएर कालीपोके पनि फल्दो रहेछ । हामीले कालीपोकेलाई पहिचान गरेर अगाडि बढ्नु पर्दछ ।’ उनले पाठ्यक्रम विकास केन्द्रको नेपाली विषय समितिका अध्यक्ष कालीपोके भएको र उनकै गैरजिम्मेवारपूर्ण क्रियाकलापले नेपाली भाषा बिगारिएकोप्रति आक्रोश व्यक्त गर्दै अब त्यसो हुन नदिने बताए । कालीपोके जस्ता पदाधिकारी नेपाली भाषा मास्न लागिपरेका छन् भन्दै उनले चलखेल समितिको कडा आलोचना गरे । उनले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल र नेपाली विषय बचाउ अभियानले उठाएका मागप्रति नेपाल शिक्षक महासङ्घको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको बताए । 

प्रा.डा. पारसमणि भण्डारीले धेरै वर्षदेखि नेपाली भाषाले बर्बर प्रहार खेप्नुपरेको तितो यथार्थ पोख्दै आफूभित्र भएको कमजोरीलाई हटाएर भाषा र विषय जोगाउन लाग्नुपर्ने कुरा गरे । भण्डारीले नेपाली भाषा बचाउन मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले खेलेको भूमिकाको प्रशंसा गरे । अभियन्ताहरूले आँखा खोलिदिएकोमा आभार प्रकट गर्दै उनले आफू पनि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरे । उनले पाठ्यक्रम विकास केन्द्रको नेपाली विषय समितिका अध्यक्षले देखाएको दोहोरो चरित्र र गैरजिम्मेवारीप्रति आक्रोश व्यक्त गरे । नेपाली भाषा शिक्षा विभागका विभागीय प्रमुख प्रा.डा. रामप्रसाद भट्टराईले भाषामा ठुलो षड्यन्त्र भएको कुरा गर्दै स्नातक तहसम्म हरेक सङ्कायमा अनिवार्य नेपाली विषयको आवश्यकता रहेको पुष्टि गरे । 

नेपाली भाषा शिक्षा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिका अध्यक्ष डा. नेत्र न्यौपानेले नेपाली भाषा विश्वका समृद्ध भाषामध्ये एक भएको हुनाले यसको संरक्षणका लागि सबै एक भएर लाग्न आह्वान गरे ।
त्रिचन्द्र क्याम्पसका प्राध्यापक गङ्गाधर अधिकारीले संवैधानिक र व्यावहारिक दुवै रूपले कक्षा ११ र १२ मा १००÷१०० पूर्णाङ्कको नेपाली विषय राखिनुपर्छ भन्ने विचार प्रस्तुत गरे ।

नेपाली विषय बचाउ अभियान–२०७५, मूल समितिका संयोजक सविन लम्सालले नेपाली भाषा जोगाउन नेपाली विषय पढाउनै पर्ने कुरामा जोड दिँदै नेपाली भाषाको विरोधमा लागेको भन्दै शिक्षा सचिवलाई चेतावनीसमेत दिए । उनले अब विद्यार्थी सङ्गठनको ऐक्यवद्धताले मात्र नहुने कुरा गर्दै भाषा र विषय जोगाउन नेतृत्व लिएर अगाडि बढ्न आह्वानसमेत गरे ।

अनेरास्ववियु सचिवालय सदस्य तथा शिक्षा विभाग प्रमुख माधव पन्तले अभियानको माग जायज भएकाले विद्यार्थी सङ्गठनले यो विषयलाई लिएर जोडदार रूपमा लागिपर्ने प्रतिबद्धता जाहेर गरे ।
त्रि.वि.सभा सदस्य पंकज सुवेदीले नेपाली भाषा मारेर अङ्ग्रेजीकरण हुन नदिने कुरा गर्दै कक्षा ११ र १२ मा मात्रै हैन स्नातक तहका प्रत्येक सङ्कायमा समेत अनिवार्य रूपमा नेपाली विषय राखिनु पर्नेमा जोड दिए । त्यस्तै ने.वि.सङ्घका केन्द्रीय उपाध्यक्ष सागर परियारले पनि ऐक्यबद्धतासहित अभियानको माग पूरा गर्न अब विद्यार्थी सङ्गठनसमेत लागिपर्ने भन्दै पाठ्यक्रम विकास केन्द्रलाई चेतावनी दिए । कार्यक्रमा सन्तोष कार्की, गोकर्ण जोशी, देवीराम जैसीलगायतले पनि नेपाली विषयको औचित्य र अभियानका कार्यमाथि प्रकाश पारे ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू