अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

मोदीको नेपाल भ्रमणका क्रममा सरकारले देखाएको व्यवहार प्रति संसद बैठकमा सासंद गगन थापाको आक्रोस

बिआरटीनेपाल २०७५ वैशाख ३१ गते ९:५० मा प्रकाशित

नेपाली काँग्रेसका सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकारले देखाएको व्यवहार प्रति गम्भीर प्रश्न उठाएका छन् । व्यवस्थापिका संसद् बैठकमा बोल्दै नेता थापाले हिजो अरूलाई लम्पसारवादी भन्ने प्रधानमन्त्री केपी शर्मा ओली आज ‘महालम्पसारवादी’ बनेको आरोप लगाएका हुन् ।

‘हिजो दुई प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्न जाँदा सिंगडा बेच्न गएको भनियो, घुँडा टेक्न गएको भनियो,’ थापाले भने, ‘ आफूले गर्दा पुण्य अरूले गर्दा पाप ?’ हिजो भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा एमाले अध्यक्ष रहेका ओलीले ‘भ्रमण ठिक छ तर ताम झाम हेर्दा लम्पसारवादी भन्न मन लागेको’ प्रसङ्ग उल्लेख गर्दै थापाले भने, ‘वहाँकै परिभाषामा वहाँको तामझाम हेर्दै गर्दा मैले महालम्पसरवादी भन्न पाउने कि नपाउने ?’

‘हिजो अरूलाई लम्पसार पर्दा घुँडामा घाउ भयो कि भएन भन्ने प्रधानमन्त्रीलाई भारतको जिम्मा लिएर अब भारतले नाकाबन्दी गर्दैन भन्दै गर्दा तपाईँको घुँडामा भ्वाङ पर्‍यो कि परेन सोध्न पाउने कि नपाउने ?,’ थापाले प्रश्न गरे ।

उनले सुशील कोइरालालाई लम्पसरवादी भन्नेले नेपालभित्र भारतीय सेना किन आयो भनेर जवाफ दिनुपर्ने बताए । ‘सत्तासीन पार्टीका माननीय भन्दै हुनुहुन्छ सरकारले सुरक्षा दिन सकेन,’ उनको प्रश्न थियो, ‘कतै कालापानी दोहोराउन खोजिएको त होइन ?’ उनले प्रधानमन्त्रीमा निर्वाचित हुँदा गर्जिएका प्रधानमन्त्री हिजो शब्द खोज्दै गरेको प्रधानमन्त्री रूपमा पाएको जिकिर गरे । ‘मलाई अचम्म लागेन किनभने गर्जन बाँदल बर्सँदैन,’ उनले भने ।

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको भनाई आपत्तिजनक रहेको बताउँदै नेपालको विदेश नीति प्रदेशले होइन केन्द्रले निर्धारण गर्ने जिकिर गरे । परराष्ट्रमन्त्रीले यसविषयमा कदम चाल्नुपर्ने बताए ।

त्यस्तै, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नाकाबन्दीको विरोध गर्नेहरुमाथि सरकारले गरेको दमनको पनि उनले विरोध गरे । ‘हिजो एमाले कार्यकर्ता भारतीय दुतावसअघि नाकाबन्दीको विरोध गर्न पाउने तर, पार्टी कार्यालयको अगाडि ब्यानर राख्न नपाउने ? शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने ? हिजो वहाँ अरूलाई कुरिकुरि गर्नु हुन्थ्यो, आज नाङ्गो हुनुभयो ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू