अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

व्यापारीमाथि हुने अनावश्यक दबाब, दुरव्यवहार एवं चन्दा आतङ्कको अन्त गर्छु: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

बिआरटीनेपाल २०७५ वैशाख २० गते ८:०९ मा प्रकाशित

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यापारीमाथि हुने अनावश्यक दबाब, दुरव्यवहार एवं चन्दा आतङ्कको अन्त गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सद्धारा व्यावसायिक शान्ति सुरक्षामा नेपाल प्रहरीको नयाँं सुरक्षा रणनीति विषयक बिहीबार राजधानीमा भएको अन्तरक्रिया कार्यक्रममा उहाँंले त्यसका लागि उद्योगी व्यापारीहरूले तथ्यगत जानकारी दिनुपर्ने बताउनु भयो ।

गुण्डागर्दी, उद्योग व्यापारीलाई हतोत्साहित गर्ने जोसुकैलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता उहाँंले जनाउनु भयो । आफूले निष्पक्षातापूर्वक सबैलाई सेवा दिने वचन उहाँंले दिनुभयो । राम्रो व्यवसायी र नागरिकका लागि मैत्रीपूर्ण व्यवहार हुने हुँदै अपराध गर्ने व्यक्ति जुनसुकै नाम, भेषमा आए पनि प्रहरीले कसैलाई पनि नछाड्ने विचार उहाँले व्यक्त गर्नु भयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले निर्धक्कका साथ व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गरिदिन सम्पूर्ण व्यापारी व्यवसायीहरूको तर्फबाट अनुरोध गर्नु भयो । आर्थिक समृद्धिका लागि शान्ति सुरक्षाको प्रत्याभूति पहिलो आधार भएको भन्दै उहाँंले शान्ति सुरक्षा विना आर्थिक समृद्धि सम्भव नहुने बताउनु भयो । 

उक्त कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कार्य समिति सदस्य एवं पूर्व नेपाल प्रहरीका एआईजी नवराज ढकालले शान्ति सुरक्षा कायम गर्नका लागि विना बर्दीका प्रहरी (नागरिक) को भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्नु भयो । कार्यक्रममा नेपाल चेम्बरका पदाधिकारी एवं कार्य समिति सदस्यहरूका साथै नेपाल मदिरा व्यवसायी महासङ्घ, खुद्रा व्यवसायी सङ्घ, पर्यटन तथा उद्योगी व्यवसायीहरूलगायतको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू