अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 15:20

एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७५ वैशाख १० गते १०:५८ मा प्रकाशित

रत्ननगर, चितवन,  गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज अपराह्न भरतपुर अस्पताल पुगेर उहाँले सो जानकारी लिनुभएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए । खनियाँलाई निलम्बन गरी कारबाही थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

गृहमन्त्री थापासँग पीडित श्रेष्ठले विगतदेखि नै एसिड हान्ने प्रयास गरेको भन्दै कडा कारबाहीको माग गर्नुभएको थियो । अस्पताल पुगेर महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री थापाले दोषीलाई कडा कारबाही गर्र्न मातहतका निकायलाई निर्देशन दिनुभयो । “यो दुःखद घटना घटेको हो,” उहाँले भन्नुभयो, “यस घटनाले मन्त्रालयलाई नै स्तब्ध बनाएको छ ।” गृहमन्त्री थापाले राष्ट्र सेवकबाटै महिलाहरू असुरक्षित हुनु दुःखद भएको भन्दै प्रहरीको आचरण सुधारका लागि सरकारले ठोस कदम चाल्ने बताउनुभयो । सो अवसरमा चितवनका प्रहरी उपरीक्षक दीपक थापाले घटना तथा खनियाँमाथि गरिएको कानुनी कारबाहीका बारेमा जानकारी गराउँदै खनियाँलाई निलम्बन गरी छ दिनको म्याद थपेर मुद्दा अगाडि बढाइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू