अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 03:40

खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा

बिआरटीनेपाल २०७५ वैशाख ९ गते २०:१० मा प्रकाशित

नवलपरासी, पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । सो अवधिभर कूल ११० जना नेपाली कामदारको खाडीमुलुकमा विविध कारणले मृत्यु भएको तथ्यांक रहेको सुरक्षित आप्रवासन परियोजना नवलपरासीका कार्यक्रम अधिकृत ज्ञानेश्वर भण्डारीले जानकारी दिनुभयो ।

खासगरी पैसा लिने तर विदेश नपठाउने, समयमा तोकेबमोजिम तलब नपाइने, भनेको कामभन्दा कडा र जोखिम काममा लगाउनेलगायतका समस्या वैदेशिक रोजगारका क्रममा देखिएको भण्डारीको भनाइ छ । चार वर्षको अवधिमा जिल्लाका एक हजार १०० विभिन्न प्रकारका उजुरीको समाधान भएको छ भने पीडित पक्षलाई रु १२ करोड क्षतिपूर्ति उपलब्ध गराउन विभिन्न निकायसँग समन्वयकारी भूमिका निर्वाह गरिएको छ । वैदेशिक रोजगारको जोखिमको हिसाबले नवलपरासी पाँचाँै जिल्लामा पर्दछ भने रोजगारीको सिलसिलामा विदेशमा मृत्यु हुने जोखिमको हिसाबले तेस्रो जिल्लामा पर्दछ । 

नवलपरासीबाट मात्रै करीब ८० हजार वैदेशिक रोजगारमा गएको सुरक्षित आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । पश्चिम नवलपरासी जिल्लाको सीमावर्ती क्षेत्रका कतिपय नागरिक भारतीय उडानबाट समेत तेस्रो मुलुक जाने गरेका छन् । यसमध्ये करीब छ हजार महिला रहेको बताइएको छ । जिल्लामा करीब ६०० बढी विदेश पठाउने एजेण्ट (दलाल) रहेका छन् । गाउँपिच्छे नै दलाल रहे पनि त्यसमध्ये जम्मा १२ जनाले लाइसेन्स लिएको तथ्यांक छ । अन्यले भने कमिसनमा विदेश जाने युवायुवती खोजेर विभिन्न म्यानपावरलाई दिने गरेका छन् ।

म्यानपावरको लाइसेन्स लिन वैदेशिक रोजगार विभागबाट स्वीकृति लिई रु दुई लाख धरौटी राख्नुपर्ने प्रावधान छ । लाइसेन्स नलिई वैदेशिक रोजगारसम्बन्धी उद्योग गर्ने वा ठगी गर्नेलाई तीनदेखि सात वर्षसम्म कैद र रु तीनदेखि पाँच लाख जरिवाना गर्ने प्रावधान रहे पनि दलालले राजनीतिकसहित विभिन्न माध्यमबाट संरक्षण पाएका छन् ।

कानूनको प्रभावकारी रुपमा कार्यान्वयन नहँुदा ठगी गर्न सहयोग पु¥याउने एजेण्ट वा दलाललाई कारबाही नभएको बताइएको छ । वैदेशिक रोजगारमा देखिएको समस्या न्यूनीकरण गर्न वैदेशिक रोजगारबारे परामर्श, निःशुल्क सीपमूलक तालीमलगायतका काम आप्रवासन परियोजनाले गर्दै आएको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू