अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

यस्तो बन्दै छ ओलीको टिम: गठन हुँदै छ ‘थिंकट्यांक’

बिआरटीनेपाल २०७५ वैशाख ८ गते १८:५५ मा प्रकाशित

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत रहने गरी अध्ययन/अनुसन्धान गर्दै नीतिगत सुझाव दिने शक्तिशाली अध्ययन/अनुसन्धान संस्था थिंकट्यांक गठनको गृहकार्य अघि बढाएका छन् । यस्तो निकायले अमेरिका, भारतलगायतका मुलुकमा जस्तै सरकारलाई सुझाव दिनेछ ।

थिंकट्यांक गठनका लागि ओलीले एक महिनाअघि विभिन्न क्षेत्रका एक दर्जन विज्ञसँग परामर्शसमेत गरिसकेका छन् । प्रारम्भिक गृहकार्य सकिएपछि थिंकट्यांक गठनका लागि ऐनको मस्यौदा बनाउने प्रधानमन्त्री ओलीको योजना छ ।

तीन सल्लाहकार दुई स्वकीय सचिव
प्रधानमन्त्री ओलीले अहिलेसम्म तीन सल्लाहकार मात्र नियुक्त गरेका छन् । एमाले पोलिटब्युरो सदस्य विष्णु रिमाल मुख्य सल्लाहकार छन् । प्रधानमन्त्रीसँग समन्वय गर्दै अन्य सल्लाहकारलाई पनि निर्देशन दिने काम रिमालले नै गर्छन् । त्यस्तै, प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा पूर्वसांसद अच्युत मैनाली नियुक्त गरिएका छन् ।

स्वकीय सचिवालयको नेतृत्व राजेश बज्राचार्यले सम्हालेका छन् । उनी लामो समयदेखि ओलीको सचिवालयमा थिए । उनलाई सहयोग गर्ने गरी झापाका दीपेन्द्र दाहाल उपस्वकीय सचिवको जिम्मेवारीमा छन् । सरकारमा २२ मन्त्री भए पनि सरकार सञ्चालनबारे प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटासँग परामर्श गर्छन् ।

त्यस्तै, प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल छन् भने बाराका पूर्वसांसद अच्युत मैनाली जनसम्पर्क सल्लाहकारमा नियुक्त भएका छन् । दुवैलाई विशिष्ट श्रेणी (सचिवसरह)को सेवासुविधा दिइएको छ । सूचना तथा प्रेस समूहअन्तर्गत अर्यालको नेतृत्वमा चेतन अधिकारी, रामशरण बजगाईं र कृष्ण पौडेल छन् ।

अधिकारीलाई सार्वजनिक कार्यक्रमको प्रेस विज्ञप्ति तयार पार्ने, अभिलेख राख्नेलगायतको जिम्मेवारी दिइएको छ । बजगाईंले महत्त्वपूर्ण सूचना अभिलेख राख्ने, प्रतिवेदन तयार पार्ने र प्रधानमन्त्रीलाई जानकारी गराउनेसहितको सूचना सम्प्रेषकको जिम्मेवारी सम्हालेका छन् ।

पौडेलले भने फोटोग्राफीको जिम्मेवारी सम्हालेका छन् । त्यस्तै, यही समूहमा सूचना प्रविधि विज्ञका रूपमा अलि अस्गर नियुक्त भएका छन् । अवैतनिक सल्लाहकारका रूपमा नियुक्त उनले आवश्यकताअनुसार सूचनाप्रविधिसँग सम्बन्धित सुझावहरू प्रधानमन्त्रीलाई दिने गर्छन् ।

स्वकीय सचिवालयको नेतृत्व राजेश बज्राचार्यले सम्हालेका छन् । स्वकीयसचिवको जिम्मेवारीमा रहेका बज्राचार्य लामो समयदेखि ओलीको सचिवालय सम्हाल्दै आएका व्यक्ति हुन् । उनलाई सहयोग गर्नेगरी दीपेन्द्र दाहालले उपस्वकीयसचिवको जिम्मेवारी सम्हालेका छन् ।

स्वकीय सचिवालय थप विस्तार नभएका कारण अझै व्यवस्थित हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । यद्यपि, प्रधानमन्त्री ओलीले थप नियुक्तिमा खासै रुचि राखेका छैनन् ।

आफैँ अपडेटेड हुन्छन् प्रधानमन्त्री
सल्लाहकार समूह र स्वकीय सचिवालयमा कामलाई व्यवस्थित गर्न नियुक्ति भए पनि प्रधानमन्त्री ओली आफ्नै सूचना स्रोतमा बढी भर पर्छन् । राति अबेरसम्म सक्रिय रहने प्रधानमन्त्री ओलीको दैनिकी छ । दिनमा कम्तीमा ३ घण्टासम्म विभिन्न पुस्तक र पत्रपत्रिका पढ्ने तथा सामाजिक सञ्जालमा आएका सूचनामाथि पनि गहिरिएर अध्ययन गर्ने बानी रहेको एक सल्लाहकारले बताए ।

नियमित बैठकविनै किचेन क्याबिनेट सञ्चालन
ओलीको ‘किचेन क्याबिनेट’को नियमित बैठक बस्दैन । एक सल्लाहकारका अनुसार दुई महिनामा सल्लाहकार समूह र स्वकीय सचिवालय समूहको जम्मा दुईपटक मात्र बैठक बसेको छ । ‘सबैलाई परिभाषित जिम्मेवारी दिइएकाले खासै नियमित बैठक बस्दैन,’ एक सल्लाहकारले भने, ‘भारत भ्रमणअघि र पछि गरेर अहिलेसम्म जम्मा दुईपटक मात्र बैठक बसेको छ ।’

किचेन क्याबिनेटको दरबन्दी घट्यो
सल्लाहकार समूह र सचिवालय समूहको ८२ जनाको दरबन्दीलाई ओली नेतृत्वको पछिल्लो क्याबिनेट बैठकले ५१ जनामा झारेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए । दुवै समूहमा अधिकृतभन्दा तल्लो स्तरका कर्मचारी सरकारी कर्मचारीबाटै पूर्ति गर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले बढीमा २५/३० जनाको टिम बनाउने तयारी गरेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए । ओलीले आफ्नो टिमलाई आवश्यकताअनुसार ठुलो या सानो बनाउन सक्ने भएकाले अहिलेको दरबन्दीमा भने फेरबदल हुन सक्ने प्रधानमन्त्री कार्यालयले जनाएको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

सरकार सञ्चालनको किचेन क्याबिनेट
ओली नेतृत्वको सरकारमा २२ जना मन्त्री छन् । सरकार सञ्चालन र पार्टीका विषयमा उनले सीमित मन्त्री र थोरै पार्टी नेतासँग मात्र परामर्श गर्ने गर्छन् । वर्तमान मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री ओलीका सबैभन्दा विश्वासिला पात्र हुन् । एमाले केन्द्रीय सचिवालय सचिवसमेत रहेका ज्ञवालीसँग ओलीले अरूसँगभन्दा बढी नै अन्तक्र्रिया गर्छन् ।

ज्ञवालीपछि अर्थमन्त्री डा. युवराज खतिवडा र सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा प्रधानमन्त्री ओलीले रुचाएका पात्र हुन् । यी दुवै मन्त्रीसँग पनि उनले बढी नै कुराकानी गर्छन् । रक्षामन्त्री रहेका पार्टी महासचिव ईश्वर पोखरेलसँग पछिल्ला दिनमा ओलीको कमै भेटघाट हुने गरेको बालुवाटार स्रोतले जनायो ।

नेता माधवकुमार नेपालसँग सम्बन्ध सुध्रिँदै गएकाले पछिल्ला दिन राजनीतिक विषयमा छलफल गर्ने गरेका छन् । त्यस्तै, नेता सुवास नेम्बाङ, उपमहासचिव विष्णु पौडेल अरू नेताभन्दा बालुवाटारमा बढी आवतजावत गर्छन् र ओलीलाई परामर्श दिन्छन् ।

‘थिंकट्यांक’ बनाउने गृहकार्य
ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत रहनेगरी नीतिगत फिडब्याक (सुझाव) दिने शक्तिशाली अध्ययन–अनुसन्धान संस्था ‘थिंकट्यांक’ गठनको गृहकार्य अघि बढाएका छन् । अमेरिका, भारतजस्ता थुप्रै शक्तिशाली मुलुकमा जस्तै कार्यकारीको मातहत रहने शक्तिशाली स्वायत्त संस्था थिंकट्यांक बनाउने गृहकार्य अघि बढाइएको हो । करिब एक महिनाअघि विभिन्न क्षेत्रका एक दर्जन विज्ञहरूसँग प्रधानमन्त्री ओलीले परामर्शसमेत गरिसकेको नेता डा. राजन भट्टराईले जानकारी दिए । भट्टराई प्रधानमन्त्रीका परराष्ट्र र सुरक्षा मामिला विज्ञसमेत हुन् ।

प्रधानमन्त्रीलाई एक दर्जन बुद्धिजीवीले ‘थिंकट्यांक’का विषयमा सुझाव पनि दिएका छन् । छलफलमा नेता डा. भट्टराई, अर्थमन्त्री डा. खतिवडा, डा. पीताम्बर शर्मा, डा. चैतन्य मिश्र, डा. विपिन अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, डा. डिल्लीराज खनाल, डा. गोविन्द नेपाल, डा. प्रत्युष वन्त, डा. पुष्प कँडेलसहित एक दर्जन बढी बुद्धिजीवी सहभागी थिए । ‘विदेशका धेरै मुलुकमा पनि प्रधानमन्त्रीलाई सुझाव दिन थिंकट्यांक बनाउने प्रचलन रहेकाले हाम्रोमा पनि बनाउने उद्देश्यका साथ प्रधानमन्त्रीज्यूले प्रारम्भिक छलफल सुरु गर्नुभएको हो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै डा. भट्टराईले भने ।

थिंकट्यांकको उद्देश्य
प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तरको थिंकट्यांकमार्फत सामाजिक, आर्थिक, राष्ट्रिय सुरक्षा, विदेश नीतिलगायतका विषयमा अध्ययन–अनुसन्धान गरेर नीतिगत सुझाव लिने तयारी गरेका छन् । नयाँ–नयाँ विषय आइरहने भएकाले यो संस्थाले निरन्तर अनुसन्धान गर्ने स्रोतले जनायो ।

त्यस्तो समितिमा विभिन्न विषय विज्ञ, विशिष्ट श्रेणीका पूर्वकर्मचारी या सुरक्षा अङ्गका विशिष्ट श्रेणीका अधिकृतसमेत नियुक्त हुन सक्ने प्रधानमन्त्रीनिकट स्रोतले बतायो । प्रारम्भिक गृहकार्य सकिएपछि थिंकट्यांक गठनका लागि ऐनको मस्यौदा बनाउने प्रधानमन्त्री ओलीको योजना छ । संस्थाको संरचना, अकार, नेतृत्व र क्षेत्राधिकारलगायत विषय ऐनको मस्यौदामा प्रस्ट बनाएर संसद्बाटै पारित गर्ने उनको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू