अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

महिनामा एक दिन सामाजिक कामका लागि छुट्याउन कार्यक्रम अघि सारिएको: सांसद गगन थापा

पूर्णप्रसाद मिश्र, काठमाडौँ २०७५ वैशाख १ गते ६:४१ मा प्रकाशित

सफाइमा ‘मेरो सङ्कल्प अधिकारसहितको कर्तव्य’ अभियान सुरु

नयाँ वर्षको पहिलो दिनको अवसर पारेर ‘मेरो सङ्कल्प अधिकारसहितको कर्तव्य’ मूल नाराको कार्यक्रम घोषणा गरिएको छ । सांसद गगनकुमार थापाले घोषणा गर्नुभएको कार्यक्रमको शताब्दी पुरुष सत्यमोहन जोशीले आज ज्ञानेश्वरमा उद्घाटन गर्नुभयो । महिनामा एक दिन सामाजिक कामका लागि छुट्याउन कार्यक्रम अघि सारिएको पूर्व स्वास्थ्यमन्त्रीसमेत रही सक्नुभएका सांसद गगन थापाले सुनाउनुभयो ।

अभियानअन्तर्गत प्रत्येक महिनाको पहिलो शनिवार सरसफाइ कार्यक्रम गरिने उहाँले बताउनुभयो । संस्कृतिविद् जोशीले अधिकार मागसँगै कर्तव्य पालना गर्नुपर्नेमा जोड दिनुभयो । रुद्रमती सफाइ अभियानको २१२ हप्ताको कार्यक्रम पनि सोही कार्यक्रममा समाहित भएको रुद्रमती सरोकार समाजको उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिनुभयो ।

ज्ञानेश्वरबाट चाबहिलसम्म भएको जनचेतनामूलक सफाइ ¥यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, लुम्बिनी विकास बैङ्क, काठमाडौँ उपत्यका विकास प्राधिकरण, ट्याङ्कर एसोसिएसन नेपाललगायत संस्थाको सहभागिता थियो । कार्यक्रमका लागि प्राधिकरणले फोहर उठाउन गाडीको व्यवस्था गरेको थियो भने ट्याङ्कर एसोसिएसनले सफा गरेको सडकमा पानी हालेका थिए ।

अभियानमा प्रदेशसभा सदस्यत्रय राधा घले, नरोत्तम वैद्य र न्हुच्छेनारायण श्रेष्ठ, रुद्रमती समन्वय समितिका संयोजक पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरि कुँवर, महानगर–३० का अध्यक्ष दलबहादुर कार्की, वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतको सक्रियता थियो । 

सफाइमा तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सांसद थापाले आगामी जेठ ५ गते शनिवार कमलपोखरी परिसरमा सफाइ गरी कवि गोष्ठी, साङ्गीतिक कार्यक्रमलगायत गरिने जानकारी सो अवसरमा दिनुभयो ।

यसै गरी तिलगंगाबाट सुरु भएको चक्रपथ सफाइ अभियानको ५३ औँ हप्ताको सफाइ पनि गौशालाबाट सांसद थापाको नेतृत्वमा सुरु भएको अभियानमै सहभागी भयो । चक्रपथ सफाइका क्रममा १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई जानकारी गराउनुभयो ।

बौद्ध फुलबारी क्षेत्रबाट फोहर सङ्कलन गरेर ल्याउने राजेश कटुवालले गोपीकृष्ण हल अघिको रुद्रमति पुलमुनिबाट नदीमा हालेर मिसाउने गरेको भेटिएको उहाँले सुनाउनुभयो । कटुवालले फोहर सङ्कलन गरेबापत प्रत्येक घरबाट रु ५०० देखि रु एक हजारसम्म उठाउने गरेका छन् ।

वाग्मती सफाइ महाअभियानको २५७ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको नदी क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शाखा अधिकृतको तालीम लिइरहेका १०० जना प्रशिक्षार्थी, सिस्नुपानी नेपाल, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैङ्क, रेयुकाईलगायत संस्थाका गरी ४५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २१८ औँ हप्तामा गोठाटार पुलमुनि सफाइसँगै नयाँ वर्ष मनाइयो । सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँलसहित १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

नदीमा सौन्दर्यीकरणको कार्यक्रम चलिरहे पनि आजभित्रै छिरेर सफाइ गरिएको पुडासैनीमैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । नदी किनारमा रोपिएका बिरुवा पनि सो अवसरमा गाडिएको थियो ।

तिलगंगा खण्डको वाग्मती सफाइको १६० औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । घर घरमा गएर जनचेतनामूलक अभियानसमेत गरिएको थियो ।

विष्णुमती सफाइ अभियानको १८४ औँ हप्तामा टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित मनमैँजु पुल क्षेत्रको वरपरको घरघरमा पसेर नव वर्षको शुभकामना दिँदै प्रत्येक हप्ता शनिवारको सफाइमा सहभागी हुन अनुरोध गरिएको अभियन्ता अनिल धरेलले बताउनुभयो ।

मनोहरा सफाइको ५६ औँ हप्तामा महानगरपालिका– ३२ स्थित जडीबुटी पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले सुनाउनुभयो । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाभियानबाट प्रभावित भई हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान सुरु भएको छ । रासस

सम्बन्धित सामग्रीहरू