अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

बर्दिवासमा पुरातात्विक मूर्ति फेला

बिआरटीनेपाल २०७४ चैत २३ गते २३:५८ मा प्रकाशित

बर्दिवास, महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वर महादेव मन्दिर परिसरमा ऐतिहासिक तथा पुरातात्विक महत्वका सामग्री र मूर्ति फेला परेका छन् ।

अति प्राचीन धार्मिकस्थल टुटेश्वरनाथ महादेव मन्दिर परिसरमा सिंगमरमर ओछ्याउन भूइँ खन्ने क्रममा आकर्षक ढुंगाका सामग्री र मूर्ति आकारका १०० भन्दा बढी सामग्री फेला परेका हुन् । पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोकबाट आठ किमी उत्तरतर्फ वन क्षेत्र छिचोलेपछि पुगिने सो मन्दिर चुरे पर्वत शृङ्खलाको एउटा थुम्कामा अवस्थित छ । गत आइतबार मर्मतसम्भार र रङ्रोगनको काम थालिएको मन्दिर परिसरमा विभिन्न खालका निकै आकर्षक चित्र कुँदिएका मूर्ति र कलात्मक ढुंगा फेला परेको मर्मतसम्भारमा संलग्न बर्दिवास नगरपालिकाका कार्यपालिका सदस्य सूर्य विकले जानकारी दिनुभयो ।

अहिले मन्दिर परिसरमा भेटिएका ढुंगामा विभिन्न लिपिमा लेखिएको अक्षर भेटिएको छ । कुन लिपिमा लेखिएको भन्ने चाहिँ कसैले अहिलेसम्म खुट्याउन नसकेको विक बताउनुहुन्छ । मन्दिर परिसरमा ऐतिहासिक तथा पुरातात्विक महत्वका सामग्री र मूर्ति फेला परेपछि तत्काल मर्मतसम्भार र खन्ने काम रोकिएको छ ।

यसअघि पनि सो मन्दिर परिसरमा ढुंगाका सामग्री र मूर्ति फेला परेका थिए । पाँच वर्षअघि मन्दिरको जीर्णोद्धार गर्दा सुनका चिम्टी र पानी खाने अङ्खोरा तथा विभिन्न गरगहनासहित बहुमूल्य सामग्री भेटिएका थिए । यसपालि फेरि पुरातात्विक महत्वका सामग्री फेला परेपछि त्यसको जाँच, परख र आवश्यक अनुसन्धानका लागि पुरातत्व विभागमा अनुरोध गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीमा आग्रह गरिएको बर्दिवास नगरपालिकाले जनाएको छ ।

“हामीले पुरातत्व विभागसँग समन्वयका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेका छौँ”, नगर प्रमुख विदुरकुमार कार्कीले भन्नुभयो, “स्थानीयस्तरमा पनि फेला परेका पुरातात्विक महत्वका सामग्रीको संरक्षणबारे ठोस नीति बनाउने छौँ ।” यहाँ फेला परेका सामग्रीमध्ये कतिपय हराउँदै गएका छन् । संरक्षणका अभावमा पुरातात्विक महत्वका सामग्री हराउँदै जानु र यहाँ वैज्ञानिक तवरले उत्खनन गर्नुपर्नेतर्फ सम्बन्धित निकाय उदासीन रहेको टुटेश्वरका बासिन्दाको गुनासो छ ।

प्रअिज बाबुराम श्रेष्ठले मन्दिर परिसरमा फेला परेका सामग्रीको संरक्षणमा स्थानीय दायित्व तोक्न आवश्यक रहेको बताउनुभयो । थप खोजका लागि भने पुरातत्व विभागसँग समन्वय गरिने प्रजिअ श्रेष्ठको भनाइ छ । टुटेश्वरनाथ महादेव मन्दिर जिल्लाकै मुख्य धार्मिकस्थल मानिँदै आएको छ । यसको वर्णन ‘श्रीस्वस्थानी व्रतकथा’मा समेत भएकाले यो अति प्राचीन शिवलिङ्ग हुन सक्ने बर्दिवास–१ का बासिन्दा पण्डित गोपीकृष्ण काफ्ले बताउनुहुन्छ ।

विसं २००१ मा भएको वन फँडानीका क्रममा सोे मन्दिर रहेको ठाउँ भेटिएको टुटेश्वरका बासिन्दा बताउँछन् । पछिल्लो पटक विसं २०३५ मा मन्दिरको थप उत्खनन भएको थियो । मन्दिरमा हरिबोधनी एकादशी, महाशिवरात्रि र साउन महिनाका सोमबार धार्मिक मेला लाग्दै आएको छ । ती पर्वमा लाखौँ श्रद्धालु भक्तजनले टुटेश्वरनाथ शिवलिङ्गको दर्शन गरेर पूजाआराधना गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू