अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

शत्रु गतेले तेस्रो सातामा ८ करोड भन्दा बढीको ग्रस कलेक्सन

प्रदिप कार्की, काठमाडौँ २०७४ चैत २२ गते २३:१० मा प्रकाशित

फिल्म ‘शत्रु गते’ सफलतापुर्वक प्रदर्शन भइरहेको छ । गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ लाई दर्शक मार्फत वर्ड अफ माउथ राम्रो मिलेकै कारण तेस्रो सातामा शानदार प्रवेश गर्न सफल भएको छ । फ्यामिली ड्रामा फिल्मलाई दर्शकले रुचाएपछी फिल्म प्रदर्शन भइरहेको अधिकांश हलमा यसले निरन्तरता पाएको छ ।

‘फिल्मको कलेक्सन राम्रो छ , त्यसैले अधिकांश हलमा यसले नै निरन्तरता पाएको छ’ वितरक विक्रम पराजुलीले बताए । उनी फिल्म वितरणको जिम्मा पाएको एफडी कम्पनीका सदस्य हुन् । उपत्यकाको अधिकांश हममा पनि फिल्मले निरन्तरता पाएको छ । ‘फिल्म हेर्ने दर्शकको सङ्ख्या बढ्दो नै छ , त्यसैले मल्टिप्लेक्समा राम्रो सो पाएको छ भने सिंगलमा पनि राम्रो सङ्ख्यामा हल छ’ उपत्यका वितरक गोपाल काजी कायस्थले बताए । फिल्मले तेस्रो सातामा प्रवेश गर्दा ८ करोड भन्दा बढीको ग्रस कलेक्सन गरिसकेको छ ।

फिल्म राजधानीमा रहेको क्युएफएक्स च्यानल अन्तर्गतको हलमा सिभिल मलमा ५ सो , लबीमा मलमा ६ सो , छायाँ सेन्टरमा ५ , कुमारी हलमा ४ र जय नेपालमा २ सो गरी कुल २२ सो पाएको छ । यसै गरी अन्य मल्टिप्लेक्स अन्तर्गत सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ सो , राइजिङ मलमा रहेको क्युज सिनेमामा ३ सो , बिझी मलमा रहेको बीएसआर मुभिजमा ४ सो , केएल टावरमा रहेको एफक्युबमा ७ सो र सिटिसी मलमा रहेको सिने डी सेफमा २ सो पाएको छ ।

फिल्मलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टाराईले निर्देशन गरेका छन् । ‘फिल्म रिलिजको समयमा एसईई लगायतका धेरै परीक्षा थियो , त्यसैले त्यस बेला फिल्म हेर्न नपाएका दर्शक यति बेला हल आइरहनु भएको छ’ निर्देशक भट्टराई भन्छन् ‘फिल्मलाई दर्शकले रुचाउनु भएको यो नै हाम्रो सफलता हो ।’ फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , दीपकराज गिरी , दीपाश्री निरौला , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , राजाराम पौडेल , शिवहरी पौडेल , बसुन्धरा भुषाल , रमेश रञ्जन झा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् । यसमा छायाङ्कन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , स्व.यसोदा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

सम्बन्धित सामग्रीहरू