अमेरिका। रामगीता बाङ्मय मन्दिर, अमेरिकाले बिजोर वर्ष बि.सं २०८१ मा प्रदान गरिने दुई पुरस्कारहरू नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार तथा रामगीता विशिष्ट नागरिक सम्मान प्रथम पटक (२०८१ का लागि) निम्न विशिष्ट महानुभावहरूलाई समर्पण गर्ने निर्णय गरेको छ ।
नेपाली साहित्य, विशेष गरी गीत—सङ्गीत, कविता र गजलको क्षेत्रमा सक्रिय रही भुटानी—नेपाली समाजको रूपान्तरणमा समर्पित अभियन्ता श्री खेम रिजाललाई नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार बाट सम्मानित गर्ने ।
नेपाली साहित्य विशेष गरी आख्यान र कविताको क्षेत्रमा सक्रिय रही सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएकी स्रष्टा श्री सीता पाण्डेलाई रामगीता विशिष्ट नागरिक सम्मान समर्पित गर्ने ।
दुवै पुरस्कारमा नेपाली रुपैयाँ ५०,०००।— को नगद राशि र सम्मान पत्र रहेको छ । पुरस्कार विजेता दुवै स्रष्टाहरूको कलम कहिले बन्द नहोस् र यस्तै सत्कर्ममा मन लागिरहोस् भन्दै हार्दिक बधाई तथा शुभकामना । सुशोभन समारोहको स्थान र मिति छिट्टै तोकिने छ ।
रामगीता बाङ्मय मन्दिर, अमेरिकाले पहिलो वर्ष बि.सं २०८० मा प्रदान गरिने ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ कथाकार राजेन्द्र विमलको कथा–सङ्ग्रह ‘सरबरिया टोल’ लाई प्रदान गरेको थियो भने बि.सं २०८० सालकै अशेष मल्ल–सावित्री रङ्गकर्म पुरस्कार नेपाली रङ्मञ्च र समग्र नाट्य क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्नुहुने वरिष्ठ रङ्गकर्मी तथा कलाकार हरिहर शर्मालाई प्रदान गरिएको थियो । उक्त दुवै पुरस्कारहरूको राशि पनि नेपाली रुपैयाँ ५०,०००।— र सम्मान पत्र थियो ।