अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

स्विजरल्याण्डका भूगर्भविद डा टोनी हेगनले खिचेका तस्बिरको प्रदर्शनी सुरु

बिआरटीनेपाल २०७४ चैत १२ गते २१:३६ मा प्रकाशित

भक्तपुर, सोमबार साँझदेखि स्विजरल्याण्डका भूगर्भविद डा. टोनी हेगनले १९५० को दशकमा नेपालमा रहँदा काठमाडौँ उपत्यकामा खिचेका तस्बिरको प्रदर्शनी भक्तपुरमा सुरु भएको छ ।भक्तपुर नगरपालिका गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा सुरु भएको प्रदर्शनीको सोमबार साँझ हेगनकी छोरी केट्रिन हेगनले उद्घाटन गर्नुभएको हो । 

डा. टोनी हागनले १९५० को दशकमा काठमाडौँ उपत्यकामा खिचेको तस्बिर

काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐतिहासिक संरचना, ऐतिहासिक पोखरी, विश्व सम्पदा सूचीमा रहेका दरबारस्क्वायरको करिब ६० देखि ७० वर्ष अघि टोनी हेगनले लिएका तस्बिर हेगनकी छोरी केट्रिन हेगनले उपलब्ध गराएपछि सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले प्रदर्शनमा ल्याएका हुन् ।

हेगनले खिचेका ५० वटा तस्बिर आगामी अप्रिल १ सम्म प्रदर्शनीमा राखिने पुरीले जानकारी दिनुभयो । विगतमा रहेका सुन्दर सम्पदा नासिएको बताउँदै उहाँले नासिन बाँकी सम्पदाको संरक्षणमा लाग्न प्रेरणा मिलोस् भनेर तस्बिर प्रदर्शनीमा राखिएको पुरीले बताउनुभयो । 

तस्बिरहरू अवलोकन गर्दै टोनीका छोरी केट्रिन हागन र सम्पदा संरक्षणकर्मी रबिन्द्र पुरी – तस्वीर: रमेश गिरी

केट्रिन हेगनले काठमाडौँ उपत्यकाभित्र रहेका ऐतिहासिक सम्पदा अति नै सुन्दर भएको र सुन्दर तस्बिरलाई कैद गर्ने आफ्ना बाबुले लिएका तस्बिर प्रदर्शन गर्दा खुसी लागेको बताउनुभयो । ६५ वर्षअघिको काठमाडौँ उपत्यकाको अवस्थालाई अहिलेको पुस्तामा जानकारी गराउन पाउँदा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घ र नेपाल सरकारअन्तर्गत रहेर नेपालमा १२ वर्षमा १४ हजार किलोमिटरको यात्रा गरेर नेपालको भूगोल र भूगर्भको अन्वेषण गर्दै नेपालसम्बन्धी अनुसन्धान, विकास योजना, वैदेशिक अनुदानसम्बद्घ कार्यमा संलग्न रहँदै हेगनले नेपालको स्वास्थ्य क्षेत्रमा समेत योगदान दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू