अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

यातायात व्यवस्था सेवा कार्यालयले सडकमै सवारी साधनको प्रदूषण जाँच

बिआरटीनेपाल २०७४ चैत ६ गते २२:३८ मा प्रकाशित

काठमाडौँ, स्वयम्भू स्थित यातायात व्यवस्था सेवा कार्यालयले आवश्यक स्थानका अभावमा सडकमै निजी सवारी साधनको प्रदूषणको मात्रा जाँच गर्न थालेको छ ।

कार्यालय परिसरमै सवारी साधनको प्रदूषण मात्रा जाँच गरिरहेको कार्यालयले स्थानीयवासीको विरोधपछि मंगलबारदेखि कार्यालय अगाडिको चक्रपथ सडकमै उक्त काम गर्न सुरु गरेको हो । यातायात कार्यालय अवस्थित आनन्दनगर टोलसुधार समितिले प्रदूषण जाँचका क्रममा निस्कने धुवाँले बस्तीको वातावरण दूषित भएको र सवारी साधनले सडक जाम भएको भन्दै अन्त सार्न माग गरेपछि कार्यालय परिसरबाट जाँच गर्ने काम सारिएको कार्यालयका नायव सुब्बा काजीबहादुर गिरीले बताउनुभयो ।

प्रदूषण जाँचका लागि थप जग्गा भाडामा लिन कार्यालयले यातायात व्यवस्था विभागमा माग गरे पनि विभागले बजेटको कमी देखाउँदै टार्दै आएको कार्यालयले जनाएको छ ।

कार्यालयमा हाल दैनिक करिब १०० निजी सवारी साधनको उपकरणमार्फत प्रदूषणको मात्रा जाँच गरिन्छ । निजी सवारी साधन भएकाले जाँचमा लगभग सबै सफल हुने गरेको यातायात कार्यालयले जनाएको छ । जाँचपछि कार्यालयले रु ३५ लिएर सबै सवारी साधनलाई हरियो स्टिकर दिने गरेको छ । 

मासिक रु १० करोड कर
यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भूमा सबै प्रकारका सवारी साधनबाट मासिक रु १० करोडसम्म कर सङ्कलन हुने गरेको छ । कार्यालयमा दैनिक २०० देखि ५०० सवारीधनीले कर बुझाउने गरेको लेखापाल सुदर्शन ढकालले जानकारी दिनुभयो । सवारी करबाट मासिक रु सात देखि १० करोड राजश्व आम्दानी हुने गरेको छ ।

कर सङ्कलनका हिसाबले मुलुकभरका यातायात कार्यालयमध्ये यो चौथो ठुलो कार्यालय भएको उहाँले जानकारी दिनुभयो । यातायात कार्यालयमध्ये सबैभन्दा बढी राजश्व सङ्कलन काठमाडौँको एकान्तकुनास्थित कार्यालयमा तथा त्यसपछि काठमाडौँकै गुर्जुधारा र तेस्रोमा नारायणी अञ्चल यातायात कार्यालय रहेका छन् ।

सवारी साधनको कर बुझाउन चैतदेखि असारसम्म भने तुलनात्मक बढी चाप हुने गरेको छ । मुलुकभर हाल झन्डै २३ लाख विभिन्न प्रकारका सवारी साधन छन् । कार्यालयमा कर्मचारीको दरबन्दी १० जनाको रहेको उहाँले बताउनुभयो ।

कार्यालयले गत वर्षमा रु ७३ करोड कर सङ्कलन गरेको थियो भने यस वर्ष गत फागुन सामन्तसम्म रु ७८ करोड ५२ लाख कर सङ्कलन गरिसकेको छ । मुलुकभरका यातायात कार्यालयको कर सङ्कलन गर्ने कम्प्युटर सफ्टवेयर फोकस वन नामक निजी कम्पनीले सञ्चालन गर्दै आएको छ । मुलुकभरका यातायात कार्यालयमा कर सङ्कलनमा सहयोग गर्न उक्त कम्पनीका ११४ कर्मचारी कार्यरत छन् ।

विसं २०६६ देखि उक्त कम्पनीले यातायात कार्यालयको कर सङ्कलनको सफ्टवेयर सञ्चालन गर्दै आएको लेखापाल ढकालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू