अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनलाई पाकिस्तान र बंगलादेशको बधाई

बिआरटीनेपाल २०७४ चैत ६ गते ७:१८ मा प्रकाशित

नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई पाकिस्तान र बंगलादेशले बधाई दिनुभएको छ । मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जावेद र बंगलादेशका राजदूत मासफी बिन्टे शाम्सले उपराष्ट्रपतिलाई छुट्टा–छुट्टै बधाई तथा शुभकामना दिनुभएको हो ।

उपराष्ट्रपतिले पाकिस्तानी राजदूतसँगको भेटमा आफूलाई बधाई दिएकोमा पाकिस्तान सरकार, पाकिस्तानी जनता र नेपालका लागि पाकिस्तानी राजदूतलाई धन्यवाद दिनुभयो । संविधान कार्यान्वयनको क्रममा नेपालमा सबै प्रकारका निर्वाचन सम्पन्न भएकोले नेपाल आर्थिक समृद्धि, विकास र सामाजिक रुपान्तरणको युगमा प्रवेश गरेको बताउनुभयो । उहाँले नेपालका समृद्धिका लागि पक्षसँग सहकार्य गर्न चाहेको बताउनुभयो ।

उहाँले नेपाल पाकिस्तान सम्बन्ध समधुर रहेको बताउनुहुँदै दुई देशले भोगिरहेका समस्यामा सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले पाकिस्तानले छिट्टै सार्क शिखर सम्मेलनको आयोजना गर्न सकोस् भन्ने शुभकामना दिनुभयो । भेटमा पाकिस्तानका राजदूत जावेदले उपराष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा उपराष्ट्रपतिलाई पाकिस्तान सरकारको तर्फबाट बधाई दिनुभयो ।

भेटमा पाकिस्तानी राजदूतले नेपाल पाकिस्तानको सहकार्य धेरै क्षेत्र रहेको बताउनुभयो । उहाँले नेपालसँगको हरेक सहकार्यमा पाकिस्तान अत्यन्त खुशी रहेको बताउनुभयो । केहीं समय अगाडि भएको पाकिस्तानका प्रधानमनमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचका सम्बन्ध अझै घनिष्ठ बनाएको उल्लेख गर्नुहुँदै दुई देशबीच उच्चस्तरीय भ्रमण जारी राख्नुपर्ने बताउनुभयो ।

यसैगरी बंगलादेशका राजदूतसँगको भेटमा उपराष्ट्रपति ‘पासाङ’ले दुई देशको सम्बन्ध अत्यन्त घनिष्ठ भएको उल्लेख गर्नुहुँदै अझै प्रगाढ बनाउनुपर्ने बताउनुभयो । उहाँले केहीं दिन अघि त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरलाईन्सको विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।

भेटमा बंगलादेशका राजदूतले उपराष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा बंगलादेश सरकारको तर्फबाट बधाई दिनुभयो । उहाँले त्रीभुवन विमान स्थलमा यूएस बंगलाको विमान दुर्घटना हुँदा उद्धार र घाइतेहरुको उपचारमा नेपालले उच्चस्तरीय प्रवन्ध मिलाएको बताउनुहुँदै धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू