अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४५ | Colorodo: 05:00

भत्केको धरहरा बन्नुपर्नेमा व्यापारिक भवनको जग खनियो, स्थानीयहरू आन्दोलित

हरिशरण न्यौपाने, काठमाडौँ २०७४ फागुन १६ गते ११:०७ मा प्रकाशित

२०७२ साल वैशाख १२ गते भत्केको नेपालको ऐतिहासिक धरोहर धरहरा निर्माण हुनुपर्नेमा यसकै मापदण्ड क्षेत्रभित्र धमाधम व्यापारिक भवन उठाउन जग खनिएको छ । काठमाडौँ वडा नं ११ मा अवस्थित धरहराको कम्पाउण्डसँगै सडकको मापदण्डलाई समेत मिचेर भवनको जग खनिएको भन्दै स्थानीय तथा व्यापारीहरू यति बेला आन्दोलित बनेका छन् । 

कुनै सूचना नै नदिई रातारात राष्ट्रिय सम्पदा नै नाश्नेगरी धरहराको मापदण्ड क्षेत्रभित्र बन्न लागेको संरचना निर्माण कार्य तत्काल रोकेर धरहराको निर्माण अगाडि बढाइनुपर्ने भन्दै उनीहरू विभिन्न निकाय धाईरहेका छन् । धरहरा बचाउ अभियान सङ्घर्ष समिति नै बनाएर स्थानीयहरू आन्दोलित भएका हुन् । मङ्गलवार उनीहरूले पुरातत्व विभागका महानिर्देशकसहित पदाधिकारीहरूलाई भेटेर उक्त निर्माण संरचनाबारे अवगत गराउँदै ध्यानाकर्षण गराएका थिए । त्यस्तै बुधवार उनीहरूले वडा नं ११ का अध्यक्ष तथा जनप्रतिनिधिहरूलाई उक्त कार्यबारे ध्यानाकर्षण गराएका छन् ।

पुरातत्व विभागले धरहराको आसपासमा रहेको गुठी संस्थाले पार्किङगरी गुठीलाई आम्दानी गराउनसक्ने मौखिक स्वीकृति दिएको तर संरचना बनाउन नदिएको बताएपनि बलजफ्तरुपमा राष्ट्रिय धरोहर मास्ने खेल भइरहेको उनीहरूको आरोप छ । यसबारे पुरातत्व विभागले रिपोर्ट पनि लिएर गईसकेको स्थानीयहरू बताउँछन् । मेरो धरहरा मै बनाउँछु भन्नेहरूले खोइ चासो दिएका धरहरा बनाउन सुरु गर्नुपर्नेमा घर बनाउन सुरु गरेर हुन्छ । सङ्घर्ष समितिका वेदप्रकाश गौतमले भने । अब धरहरा बन्दा खुला स्थान राखेर बनाईनुपर्छ । यो राष्ट्रको धरोहरलाई नमुना पर्यटकीय स्थल बनाईनुपर्छ, कम्पाउण्डभित्र व्यापारिक भवन बनाउने होइन ।

अन्य स्थानमा सडक छेउका करोडौं भवन भत्काउने सरकार के हेरेर बसेको छ, गुठीको जग्गा भन्दैमा सडक मिचेरै संरचना बनाउन पाउँछ । आक्रोशित स्थानीयले भने, विना सूचना अरूको घर अगाडि खाल्डो खन्न पाउँछ ।

स्थानीयले धरहरा अगाडि फागुन ३ गते जस्ता बारेपछि मात्र व्यापारिक भवन बन्न लागेको थाहा पाएको बताए । त्यसको सात दिनपछि डोजर ल्याएर खाल्डो खनेको र रातीको समय पारेर निर्माण कार्य अगाडि बढाईंदै लगेको उनीहरूले बताएका छन् ।

स्थानीय सुशील विक्रम थापाले भने, विभिन्न विवादकाबीच यो जग्गा गुठीको नाममा आएको भन्ने बुझेको छु । तर नगरपालिकाले संरचना निर्माणमा कसरी स्वीकृति दियो अचम्ममा छौँ ।

भू–माफियासँगको चलखेलका कारण उक्त निर्माण कार्य भइरहेको भन्दै आक्रोशित स्थानीयहरूले व्यापारिक भवन निर्माण कार्य रोकिएर तत्काल राष्ट्रिय सम्पदा धरहरा बनाईनुपर्ने माग गरेका छन् ।

पहिले भिमसेन स्तम्भको नामले प्रचलित धरहरा १९९० को भूकम्पले भत्काएपछि १२ तलाबाट धरहरा ९ तल्लामा सीमित गरिएको थियो । दोस्रोपटक निर्माण भएको धरहरा २०७२ वैशाख १२ को भूकम्पले भत्काएको थियो ।

प्रतिक्रिया