अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 19:02

नेपालको सङ्घीयता- “बॉदरको हातमा नरिवल” नबनोस

सुनिल मणि दाहाल २०७४ फागुन ३ गते १७:४९ मा प्रकाशित

नगर विकास समितिको स्वामित्वमा रहेको घडेरी जग्गा हेटौंडा उपमहानगरपालिकाले प्रदेश ३ का सांसदलाई सरकारी दररेटमै उपलब्ध गराउने भन्ने सुन्नमा आयो। त्यस्तै, सुरुका दिन देखी नै गाडी, भवन, आवास जस्ता विलासितामा समय व्यथित गरिदैछ। यस प्रकारका गतिविधिले शिशु अवस्थाको सङ्घीयता “बॉदरको हातमा नरिवल” भने जस्तै हुँदैछ र यस्ता गतिविधिहरू नेपालका लागी आत्मघाती हुनेछन्। नेपालको राजनीतिक, सामाजिक, आर्थिक र भौतिक अवस्थालाई मनन गरी सुरुका दिन देखि नै मैले आफ्ना विचारहरू राख्दै आएको छु र पटक पटक लेखेको छु-नेपालको वर्तमान अवस्थाको सूक्ष्म अध्ययन र विश्लेषण नगरी कसैको रहर र लहडमा हतारमा गरिने सङ्घीयताको निर्णय आत्मघाती हुनेछ।

उता, नेपाली जनताहरू अझै सपनामा नै छन्। लाग्छ उनीहरूलाई “स्लिपिंग ट्यावलेट” खुवाएर मिठो निन्द्रामा सुताइएको छ।प्रतेक रातमा उनीहरू सम्वृद्धिको सपना देख्छन्, बिहान उठ्दा ती सपनाहरू अन्धकारमा परिणत भैसकेको हुन्छन्।

तर, सङ्घीयता आफैमा नराम्रो होइन। नराम्रा हुन यसलाई चलाउने ड्राईभरहरू र नेपालको वर्तमान अवस्था। नराम्रो हो आफ्नो देशको अवस्थाको उचित अध्ययन र विश्लेषण नगरी जवरजस्ति हतारमा अरूको प्रणाली अवलम्बन गर्नु र आफ्नो राजनीतिलाई सुरक्षितरूपमा अवतरण गराउने चाहाना राख्नु ।

सङ्घीयतामा जनताले आफूमाथि आफैँले शासन गर्न पाउने, घरदैलोमै अथवा सबैभन्दा नजिक सरकारको उपस्थिति प्राप्‍त गर्ने जस्ता अधिकार र सुविधा पाउछन। सङ्घीयताले जनतालाई व्यवहारमै मालिक बनाउँछ, सबै जात, जाति, वर्ग, समूह सबैलाई सम्मानका साथ उनीहरूको पहिचान दिलाउँछ, सामाजिक न्याय र समान अधिकारका पक्षमा रहने गर्दछ, राज्य सञ्‍चालनका सबै प्रक्रिया जनतासामु पारदर्शी बनाउँछ भनिन्छ। यसैले सङ्घीयतालाई प्रजातन्त्रको उत्कृष्ट स्वरूपका रूपमा गणना गर्ने गरिएको छ।

साझा पहिचान, सबै नागरिकलाई सार्वभौम अधिकार प्रदान गर्ने परिस्थिति निर्माण, कानुनी शासन, सुशासन, विभिन्न जातजाति, भाषाभाषी, धर्मावलम्बी एवं संस्कृतिकर्मीका बिच उच्चस्तरको समझदारीका साथ सम्मानयुक्त वातावरण सिर्जना गर्नु नै यस प्रणालीको सफलताका लागि अनिवार्य सर्त हुन।

सङ्घीयतामा जानु पूर्व देशको भौगोलिक अवस्थिति, स्रोतसाधनको अवस्था, जातीय र धार्मिक स्थिति, सांस्कृतिक परिवर्तन, विकास निर्माणको गति, विभिन्न भौगोलिक प्रदेशबिचको अन्तर्सम्बन्ध, सुगम वा दुर्गम क्षेत्रको जटिलता आदि सबै पक्षमा राम्ररी अध्ययन र विश्लेषण गरिनु पर्ने थियो।

नेपाल सानो देश, भौगोलिक विषमता यसको विशेषता हो। थुप्रै भाषाभाषी, जातजाति, धर्मावलम्बीको साझा फुलबारी हो नेपाल। वर्तमानमा सङ्घीयताले सबैको आकाङ्क्षा बढाएको छ, सबै उत्साहित र आशाका नजरले हेर्दैछन। सङ्घीय व्यवस्था आफैँमा प्रजातान्त्रिक व्यवस्था हो।तर विडम्बना, प्रमुख राजनीति दलहरू र तीनका नेताहरूका लागी राजनीति गर्ने संरक्षणका रूपमा सङ्घीयता र प्रदेशहरू विभाजन गरिए।यसलाई व्यवस्थापन गर्ने विषय अहिले आएर जटिल भएको छ।

कुनै वेला पन्फा देवीको नाममा विदेशमा अकूत सम्पत्ति राखेको विषयलाई लिएर आन्दोलन गरियो, ती सम्पत्तिहरू देशमा फर्काएर नेपाली जनतालाई सुख वॉडने सपना देखाइयो। कुनै वेला जसको जोत त्यसैको पोतका नारामा राजनीति चर्काईयो त कुनै वेला कलिला हातहरूमा बन्दुक बोकाई सुन्दर भविष्यको सपना देखाइयो। नतिजाका रूपमा व्यवस्था परिवर्तन भयो तर मनस्थिति र संस्कार परिवर्तन भएन। नेताहरूका लागी राजनीति गर्न सङ्घीयताका नाममा बाबुको अंश झैँ वॉडिएका प्रदेशहरूको व्यवस्थापन दशकौं सम्म घॉडो हुने पक्का छ।