अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

काका प्रचन्ड सप्रिएकै हुन ?

सुनिल मणि दाहाल २०७४ असार ६ गते १२:१७ मा प्रकाशित

खै कसरी हो, हाम्रा काका प्रचन्ड उछिट्टिएर पश्चिम तीरको जङल पसेको कुनै पत्तै भएन । मैले मादिका दाहालको बंशावली पल्टाए तर कुनै पनि रुखका हागाहरुले काका प्रचण्डलाई छोएको पाइन । काका हराएका मान्छे हुन भन्ठाने । शायद त्यसपछि होला काकाले बाटो विराएर बिरक्तिदै पश्चिमतिरको जङलतिर लागेका हुन सक्ने अनुमान गरे ।

खैर भाग्यको खेला न हो । काकालाई जङ्गल प्रिय भयो । हातमा बन्दुक र गोला वारूद सहित काका प्रचन्ड लडाकूका नाईके बनेको जानकारी पाइयो । काका भूमिगत थिए, लामो समय सम्म उनको अनुहार छायॉ सरह धमिलो रह्यो । आखिर काठमान्डौलाई घेरावन्दि गरी जनयूग्द्द जिते काकाले । राजा ज्ञानेन्द्रलाई राजगद्दीबाट गलत्याएर आम जनता सरह बनाए काकाले ।

‘हाम्रो उद्देश्य सत्ता कब्जा गरी गणतन्त्र स्थापना गर्ने हो र गरिब जनतालाई सर्वसम्पन्न बनाउने हो’ भन्थे जनयुग्दताका काका प्रचन्ड । धनी र जमिन्दारका जग्गा कब्जा गरी जनतालाई समानरूपले वितरण गर्ने आश्वासन दिएका थिए काकाले । जसको जोत उसको पोत भन्ने नाराले गरिब जनता बिच हिरो भएका प्रचन्ड काकाले पहिलो निर्वाचनमा अत्याधिक भोट ल्याई पहिलो राजनीतिक शक्तिका रूपमा आफ्नो पार्टीलाई स्थापित गराएका थिए। उनको राजनीतिक सफलतामा विश्व नै स्तव्ध भएको थियो । काका प्रचन्ड नेपालको आतड्ककारी सङ्गठनका नाईकेवाट सफल कम्युनिस्ट नेताको रूपमा उदाए ।

सुनिल मणी दाहाल

काका प्रचन्ड गणतान्त्रिक नेपालको प्रधानमन्त्री भए। हामी सबै दाहाल वंश नै हर्षले फूरूड्ग भयौ। दाहाल कुलको इज्जत राख्यो प्रचन्डले भन्दै हाम्रा वुढापाकाहरू हर्षले गदगद भए ।

यसै बिच काकाले जनयूग्दताका प्रयोग गरेका लडाकूहरूलाई समायोजनका नाममा गलत तथ्याङ्क देखाएर राष्ट्रको खरवौ रकम रित्याएको जानकारी आयो।काकाले शक्तिखोरको कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै आफूले लडाकुहरूको सङ्ख्या वढाएर तथ्याङ्क दिई ठुलो रकम हातपार्ने र उक्त रकमबाट बल्ल जनयूग्दका लागी तयारी हुने व्यहोरा सार्वजनिक गरेका थिए । उनको यस कार्यबाट हामी सबै स्तव्ध भयौ, हाम्रो खुसी सबै आक्रोसमा परिणत भयो ।

केही लडाकुहरूको समायोजन भयो, केहीले राहत पाए त केही चिचिला लडाकूहरूको विल्लिवाठ नै भयो। कोही अपांग भएर गाउँ पाखामा थन्किए त धेरै रोजिरोटिका लागी खाडीको रापमा पलायन भए।काकालाई सबैले सरापे र आक्रोस पोखे ।

तर, बन्दुकको नाल देखाएर तर्साउन जति सजिलो हुन्थ्यो, राज्य व्यवस्था सञ्चालन गर्न कहॉ सजिलो हुँदो रहेछ। सत्ताको स्वाद र पाएको कुर्सीको उम्मादले फूरूड्ग भएका काका प्रचन्ड गरिब जनतालाई दिएको आश्वासन भन्दा आफ्ना जनयूग्दताकाका सहकर्मीको कल्याण गर्न तर्फ लागे। रूक्मागत कटूवालसंग लाप्पा खेल्दा खेल्दै हाम्रा काका हारे, प्रधानमन्त्रीको कुर्सी त्याग्न बाध्य भए।

दोस्रो निर्वाचनमा तेस्रो स्थानमा पार्टी आउँदा काका त एकदम कमजोर पो देखिए ।

ओली जस्ता विपक्षी र शेरबहादुर जस्ता साथीका बिचमा च्यापिएर काका प्रचन्डले दश महिने प्रधानमन्त्रीको सौदा गरे। आफ्नो कार्यकालमा कुन बेला फेरी खरानी लगाउन पर्ने हो काकालाई पिरोली रह्यो। ओलीको घोच पेचले काका पहिले पनि झस्किनु हुन्थ्यो। प्रधानमन्त्रीकालमा पनि सपनामा बरबराउनु हुन्थ्यो रे। तर यसपालि भने काकाले इमानको राजनीति गरे । शेरवहादुर देउवालाई दिएको वाचा अनुरूप कुर्सी छाडेर एउटा असल उदाहरण र नजिर बनाउन सफल भए । काका प्रचन्डले आफू अव चैँ सप्रिएको महसुस गराए ।

काकाले आफ्नो दश महिने छोटो कार्यकालमा केही उल्लेखनीय काम पनि गरेकै हुन- लोड सेडिड्ग हटाई जनतालाई बिजुली दिए । करिब दुई दशक देखि रोकिएको स्थानीय निर्वाचन सुरु गराए । राज्यमा शान्ति सु-व्यवस्था कायम राख्न सफल भए ।

काकाले के गर्न सकेनन्?
महाभूकम्प गएको पनि दुई वर्ष कट्यो। २०७२ सालको वैशाख १२ गते महाभुकम्प गएकाे थियाे। भूकम्पले १४ वटा जिल्ला त नराम्ररी प्रभावित भए । हजारौँ मान्छेहरू मरे, बेपत्ता भए, घाइते, अपाङ्ग, घरवारविहिन र टुहुरा भए । भूकम्पमा जे जति वॉचे तिनीहरूको दैनिकी कष्टकर बन्न पुग्यो । महाभुकम्प पछिको दुई वर्षमा तिन अलग सिद्धान्त बोकेका पार्टीका नयॉ अनुहारहरू प्रधानमन्त्री भए । देशमा राष्ट्रपति, उपराष्ट्रपति लगायत सभामुख, उपसभामुख नयॉ आए । तिन चार दर्जन मन्त्री आते जाते गरे । कर्मचारीमा सचिव र प्रहरीमा प्रमुखको अनुहार फेरिए ।

गत दुई वर्षको अवधिमा दलका नेता, कार्यकर्ता,मन्त्री र प्रधानमन्त्रीले विश्वका सम्पन्न मुलुकहरूको भ्रमण गरे । सांसद र मन्त्रिपरिषदको तलब भत्ता मज्जाले बढाए । सबैले नयॉ र सुविधाजनक गाडिहरु चढे । पॉचतारे होटेल र रिसोर्टमा देश विकासका गफ गरे, भत्ता पटकाए ।

काका दोस्रो पटक प्रधानमन्त्री भए, केही गर्छन् की भन्ने आस जगाए । तर धरहरा खडा भएन, गरिवकाे छाप्राे वनेन, भूकम्प पीडितको पेट भर्ने तर्फ पहल भएको अलिकति पनि महसुस गर्न सकिएन । नाड्गो आकाश मुनि पढन बाध्य विध्यार्थीको स्कुलहरू वनेनन, अस्पताल र चिरा परेका वाटाहरू जस्ताको त्यस्तै देखिए । भूकम्पले प्रभावित सिन्धुपाल्चौक, गोरखा, दोलखाका भूकम्प पीडितहरू खाना नपाएर दयनीय अवस्थामा छन् भने धेरै केटाकेटीहरू र वुढापाकाले तातो लुगा नपाई गत हिउंदमा जाडोले कठिङ्ग्रिएर ज्यान गुमउन बाध्य भए । औषधी उपचार नपाएर बिरामी सुत्केरीहरू पीडित छन्, साना नानीहरू कुपोषणको सिकार हुदैछन ।

जनताले देशमा मौलाएको भष्ट्रचार नियन्त्रणको आभास पाउन सकेनन् । कानुनी राज्यको उपहास गर्दै टिकापुर घटनाको आरोपिहरूको मुद्दा फिर्ता लिने जस्ता कार्य गरे । आफू अनुकूलको कार्य नगरेकोमा सर्वोच्च अदालत जस्तो गरिमा बोकेको निष्पक्ष कानुनी संस्थामा हस्तक्षेप गर्दै प्रधानन्यायाधिस उपर महाअभियोग लगाए ।

उफ: देश र जनताको यस्ताे दयनीय अवस्थामा मेरा काका प्रचन्ड निरिह समान भए, जनताले प्रत्यक्ष महसुस गर्ने बिजुली बाहेक अन्य प्रमुख कार्य केही गर्न सकेनन् ।