अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

प्रदेश नं ७ का प्रदेशसभा सदस्यद्वारा शपथ ग्रहण

बिआरटीनेपाल २०७४ माघ ७ गते ६:०९ मा प्रकाशित

 प्रदेश नं ७ का प्रदेशसभा सदस्यले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ का ५२ जनाले शपथ लिनुभएको छ ।

शपथ ग्रहणमा डोटीबाट निर्वाचित प्रदेशसभा सदस्य भरतबहादुर खड्का अनुपस्थित रहनुभयो । प्रदेश नं ७ का प्रमुख मोहनराज मल्लले ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाउनुभयो । त्यसपछि ज्येष्ठ सदस्य शाहले अन्य प्रदेशसभा सदस्यलाई शपथ खुवाउनुभएको थियो ।

धनगढीस्थित जिल्ला समन्वय समिति कार्यालयको सभा कक्षमा गरिएको शपथ ग्रहणमा विभिन्न समुदायबाट प्रतिनिधित्व गरेर आउनुभएका केही प्रदेश सदस्यहरु आफ्नो परम्परागत वेशभूषामा आउनुभएको थियो ।

प्रदेश नं ७ का प्रमुख मोहनराज मल्ल काठमाडौँबाट फर्किने क्रममा भएको ढिलाइका कारण आइतबार शपथ ग्रहण कार्यक्रम पनि ढिलोगरी शुरु भएको थियो । धनगढी आइपुग्नुभएका प्रदेश प्रमुख मल्लले प्रदेश कार्यालयमा पदबहाली गर्नुभएको थियो । पदबहालीपछि उहाँ शपथग्रहण स्थल आउनुभएको थियो ।

विकास र समृद्धिमा लाग्ने प्रतिक्रिया 

शपथ ग्रहणपछि प्रदेशसभा सदस्यले विकास र समृद्धिका लागि काम गर्ने प्रतिक्रिया दिएका छन । “स्थायी सरकार भए विकास गर्न सहज हुन्छ”–कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रदेशसभा सांसद कुलवीर चौधरीले भन्नुभयो, “सम्भावना र चुनाती दुवै छन् ।”

त्यसैगरी अछामबाट निर्वाचित प्रदेशसभा सांसद झपट बोहराले प्रदेशको विकासमा यहाँ थुप्रै सम्भावना रहेपनि स्रोत नरहेको बताउनुभयो । “अहिले यो प्रदेशले केन्द्रको विशेष अनुदानमा भर पर्नुपर्ने छ”–उहाँले भन्नुभयो, “विकास र व्यापारलाई वृद्धि गरेर समुन्नत बनाउनुपर्नेछ ।”

त्यस्तै डडेल्धुराबाट नेपाली काँग्रेसका समानुपातिक प्रदेशसभा सदस्य गोविन्द बोहराले संघीयता र लोकतन्त्रलाई बलियो बनाउन आजको दिनले थप प्रेरणा मिलेको बताउनुभयो ।

त्यसैगरी प्रदेश नं ७ बाट वादी समुदायका एक्लो महिला प्रदेशसभा सदस्य उमादेवी वादीले आफ्नो समुदायको हकहितका लागि संघर्ष गर्न सहज हुने बताउनुभयो । “अधिकारका लागि बोल्नसक्ने स्थानमा म पुगेको छु”–उहाँले भन्नुभयो, “मेरो समुदायसँगै समाज र महिलालगायत वर्ग समुदायका लागि पनि लागिपर्छु ।”

प्रदेश नं ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ सांसद रहनुभएको छ । जसमध्ये नेकपा (एमाले) का २५, नेकपा (माओवादी केन्द्र)का १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना हुनुहुन्छ ।

शपथ ग्रहण समारोहमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य, पूर्वसांसद, सामाजिक संघ÷संस्थाका प्रतिनिधि लगायत सर्वसाधारणको सहभागिता थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू