अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

मुलुकको ध्यान आर्थिक विकासमा हुनुपर्ने: उपराष्ट्रपति पुन

बिआरटीनेपाल २०७४ माघ १ गते १२:३९ मा प्रकाशित

काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताउनुभएको छ ।

आज भृकुटीमण्डपमा नेपाल मगर सङ्घद्वारा आयोजित ‘माघे सङ्क्रान्तिको शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम २०७४’ कार्यक्रममा उहाँले स्थानीय, प्रदेश र सङ्घको निर्वाचन सम्पन्न गरेर संविधानको पूर्ण कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजाने बताउनुभयो । उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका क्रममा असमझदारी, असन्तुष्टि रहेको उल्लेख गर्दै राजनीतिक दलहरू ती असमझदारी असन्तुष्टि हटाउने प्रक्रियामा रहेको धारणा राख्नुभयो । “मलाई विश्वास छ, दलहरू चाँडै नै एउटा सकारात्मक निष्कर्षमा पुगेर देशलाई निकास दिनेछन्”, उहाँले भन्नुभयो, “समय र सन्दर्भ ख्याल राख्ने छन् भन्ने पनि पूर्ण विश्वास छ ।”

उहाँले हिजो राजनीतिक सङ्घर्षमा एकताबद्ध भएर लागेका दलहरू त्यसरी नै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने भन्दै समृद्ध नेपाल निर्माणका लागि बलियो राष्ट्रिय एकताको जरुरी भएको धारणा राख्नुभयो । उहाँले नेपालका आदिवासी जनजातिहरू आफ्नो पहिचान, पहुँच र अधिकारका लागि निरन्तर सङ्घर्षमा रहेको उल्लेख गर्नुभयो । सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका समुदायबिचको एकताबाट मात्रै बलियो राष्ट्रिय एकता सुदृढ हुन सक्नेमा उहाँको जोड थियो ।

उपराष्ट्रपति पुनले हाम्रो देश नेपाल प्राकृतिकरुपमा विश्वकै सुन्दर देश रहेको चर्चा गर्दै विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृतिका समुदायको सम्मिश्रित बसोबासले नेपाललाई झनै सुन्दर बनाएको बताउनुभयो । “सुन्दर प्रकृति र माघे सङ्क्रान्तिलगायत हाम्रा साझा मौलिक संस्कृतिको समायोजनबाट नेपाल प्रकृति र संस्कृतिको विश्वकै धनी देश बनेको छ । यो हाम्रा लागि निकै नै गौरवको कुरा हो”, उहाँले भन्नुभयो । उपराष्ट्रपति पुनले समृद्ध नेपाल निर्माण र राष्ट्रिय एकताका लागि मगर समुदायको ठुलो भूमिका हुने बताउनुभयो ।

मगर समुदायको इतिहास निकै नै गौरवपूर्ण रहेको भन्दै उहाँले आधुनिक नेपाल राष्ट्रको निर्माणमा होस् या वर्तमानका राजनीतिक उपलब्धि प्राप्त गर्न होस्, दुवै सङ्घर्षमा मगर समुदायले अग्रभागमा वीरतापूर्वक लडेको चर्चा गर्नुभयो ।

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक शासन व्यवस्थाजस्ता ऐतिहासिक उपलब्धि प्राप्तिका लागि भएका जनयुद्धलगायत ऐतिहासिक सङ्घर्षमा सबैभन्दा धेरै मगर समुदायको रगत बगेको उहाँको भनाइ थियो ।

“वर्तमानको राजनीतिक उपलब्धि प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक सङ्घर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा मगर समुदायको ऐतिहासिक योगदान छ”, उहाँले भन्नुभयो, “यहाँहरूको सङ्घर्षबाट प्राप्त भएको समानुपातिक समावेशी व्यवस्थाले आदिवासी जनजातिलगायत उत्पीडित समुदायको राज्यमा प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ ।”

कार्यक्रममा नेपाल मगरसंघका अध्यक्ष नवीन रोकामगर, सङ्घ उपाध्यक्ष गङ्गा मगर र सल्लाहकार वमकुमारी मगरलगायतले सङ्घीयतामा राज्यले मगरात राज्यको छुट्टै स्थापना गर्न माग गर्नुभयो ।कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू