अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 18:22

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबिच क्रसबोर्डर अप्टिकल फाइबर लिङ्कको औपचारिक शुभारम्भ

अब चाइनाबाट पनि इन्टरनेट उपलब्ध

बिआरटीनेपाल २०७४ पुष २८ गते ११:२६ मा प्रकाशित

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबिच क्रसबोर्डर अप्टिकल फाइबर लिङ्क १२ जनवरी २०१८ बाट व्यावसायिक सञ्चालनमा आएको छ । अब विश्वसँग जोडिने नेपालको सूचना महामार्ग (Information Highway) भारत र चीन दुवैतिरबाट सम्भव भएको छ ।

एक कार्यक्रमका बिच माननीय सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले फाइबर लिङ्कको औपचारिक शुभारम्भ गर्नुभयो ।

सो अवसरमा माननीय मन्त्री बस्नेतले देशव्यापी रूपमा इन्टरनेट पूर्वाधार निर्माणका लागि नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिङ्क एक कोशेढुंगा भएको बताउँदै चीन र नेपालबिच सरकारी, संस्थागत र जनस्तरमा भइरहेको सहयोगलाई अझै बढाउन यसले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले लिङ्क निर्माण गर्ने दुई देशको निकै लामो समय पहिलेको योजना भए पनि भूकम्प र अन्य विभिन्न प्राकृतिक प्रकोपका कारण ढिलाइ भएको स्मरण गर्दै मुख्य प्राथमिकतामा रहेको काठमाडौँ–केरुङ रुट सञ्चालनमा ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष केदार बहादुर अधिकारीले आर्थिक वृद्धि र देशको समग्र विकासका लागि दूरसञ्चार पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले सो लिङ्क नेपालका लागि महत्त्वपूर्ण भएको बताउनु भयो ।

नेपालका लागि चीनका राजदूत यु होङले नेपालका लागि चीन दोस्रो ठुलो व्यापारिक साझेदार राष्ट्र भएको स्मरण गर्दै सो लिङ्कले इन्टरनेट उपलब्धताका लागि छोटो रुट उपलब्ध गराएको मात्र नभई दुई देश बिचको व्यावसायिक सम्भावनालाई अझै नजिक ल्याएको बताउनु भयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकमले विगत एक सय वर्ष यता ग्राहकको चाहना अनुसारका विभिन्न सेवा उपलब्ध गराउँदै आएको बताउँदै हाल वायरलेस तर्फ फोरजी तथा वायरलाइन तर्फ फिक्स ब्रोडब्यान्डको विस्तार सँगसँगै सो रुटमार्फत हुने थप अन्तर्राष्ट्रिय आवद्धताले अहम् भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले सो लिङ्कमार्फत कम्पनीका सेवाहरूको उपलब्धता र विश्वसनीयतामा अझै अभिवृद्धि हुने अपेक्षा गर्नुभयो ।

चाइना टेलिकम ग्लोबलका मुख्य प्रतिनिधि वाङ योङलिनले फाइबर लिङ्कले केबुलमार्फत नेपाललाई चीन र हङकङ हुँदै युरोप, मध्य एसिया, उत्तर पूर्वी एसिया र अमेरिका सम्म जोड्ने बताउनु भयो । सो केबुलले भारत र चीनलाई समेत जोड्ने र दुई देश बिचको सम्बन्धलाई अझै मजबुत बनाउने तथा नेपाली कम्पनीहरूको बजार विस्तारमा सहयोग पु¥याउने बताउनु भयो ।

सो अवसरमा ब्याकबोन ट्रान्समिसन निर्देशनालयका प्रबन्धक संगीता पहाडीले क्रसबोर्डर अप्टिकल फाइबर लिङ्क बारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

इन्टरनेट सेवाको भरपर्दो सञ्चालनको लागि प्राविधिक तथा व्यावहारिक रूपमा एक भन्दा बढी सेवा प्रदायकसँग अप्टिकल फाइबरमार्फत अन्तरआवद्धता हुनु पर्ने आवश्यकताको बोध भई सन् २००३ देखि नै निम्नानुसार पहल भएको हो:

सन् २००३ को डिसेम्बर ३ मा तत्कालीन श्री ५ को सरकार र चिनियाँ सरकार बिच भएको आर्थिक तथा प्राविधिक सम्झौता बमोजिम अरनिको राजमार्ग अन्तर्गत काठमाडौँ देखि खासा झाम्सुङ सम्म १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य २००८ अगस्टमा सम्पन्न भएको थियो ।

नेपाल टेलिकम र तत्कालीन चाइना टेलिकम्युनिकेसन कर्पोरेशन बिच झाङमु र तातोपानी बिच ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन गर्ने सम्बन्धी समझदारी पत्र (MOU) मा सन् २०११ डिसेम्बर २६ मा हस्ताक्षर भएको थियो ।

सन् २०१३ डिसेम्बर २३ मा बैकल्पिक रुटको रूपमा नेपाल चीन क्रसबोर्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना–नेपाल केबुल ट्रान्समिसन सिष्टम निर्माण र मर्मत सम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेशन बिच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

सन् २०१५ को अप्रिल २५ मा आएको भूकम्पका कारण काठमाडौँ–तातोपानी रुट क्षतिग्रस्त भयो । त्यसपछि काठमाडौँ–रसुवागढी रुटका लागि आवश्यक ADSS (All-Dielectric Self-Supporting) लिङ्क निर्माण सम्बन्धी कार्य अगाडि बढेको थियो ।

तत्पश्चात् सन् २०१६ को मे महिनामा चाइना टेलिकम र नेपाल टेलिकम दुवैले अप्टिकल फाइबर कनेक्टिभिटीको परीक्षण सफलतापूर्वक सम्पन्न गरेका थिए ।

यही बिचमा सन् २०१६ को जुलाई १४ मा उक्त अप्टिकल फाइबर लिङ्कलाई व्यावसायिक प्रयोजनका लागि उपयोग गर्न नेपाल टेलिकमले सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको थियो ।

सन् २०१६ को डिसेम्बर ६ मा यस सम्बन्धी व्यावसायिक सम्झौता हङकङमा सम्पन्न भएको थियो ।

तत्पश्चात् सम्पूर्ण तयारी पछि परीक्षण कार्य गरेर आज सन् २०१८ जनवरी १२ देखि उक्त अप्टिकल फाइबर लिङ्क औपचारिक रूपमै व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।

प्रतिक्रिया