अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

समीक्षा : कवि मनु र उनका पहाड चढिरहने कविता

कृष्ण धरावासी २०७४ पुष १० गते ३:३६ मा प्रकाशित

अर्थबेगर हामी जीवनमा कत्ति पनि अघि बढ्न सक्दैनौं । अर्थ नभए आफ्नै नाम पनि हामी चिन्दैनौं । अर्थ भनेको सङ्केत हो, जसले वस्तुलाई चिनाउँछ । जीवनको यात्रा नै अर्थको खोजीमा छ । के हो ? किन हो ? भन्न खोजेको के हो ? आदि । अर्थ र उत्तरहरूले जीवनलाई परिभाषित गरिरहेका हुन्छन् तर के ती अर्थ र उत्तरहरूले कहिल्यै पूर्णता पाउँछन् ? तिनले दिएका अर्थहरू नै जीवनलाई बुझन अन्तिम उत्तर हुन् त ? यही छ समस्या । र कविताको त वास्तवमा के अर्थ हुन्छ र ? बरु, त्यसमा त भाव, सङ्केत, संवेग कल्पनाहरू नै हुन्छन् । वास्तवमा तिनमा हाम्रा आफ्नै कल्पनाहरू अटाउने कत्ति ठाउँहरू पनि हुन्छन्, जसले हामीलाई रमाउन मद्दत गर्छन् ।

आज पनि हामी रुमल्लिइरहेका हुन्छौं । काव्यहरूभित्र अर्थको खोजमा आ-आफ्नै अर्थहरू भेट्टाएर रमाइरहेका पनि हुन्छौं । आत्मपरक अर्थहरूले कवितालाई ज्यादै गतिशील र चिप्लो पनि बनाइरहेको हुन्छ । तर कवितामा आत्मपरक अर्थ भेट्टाउन कठिन कविता आफैं विम्ब र प्रतीकको जङ्गलमा कतै अल्झिएकाले पनि हो । रूढ कविताका रूढ अर्थहरू सहजै भेटिन्छन् । र ती रूढ अविधात्मक कविता वास्तवमा कविता नभएर कविताको ढाँचामा लेखिएका कुराहरू मात्र हुन्छन् । कुरालाई नै कविता मान्ने जमातका अघि-विम्ब-प्रतीक र मिथकको कविता यात्रा दुर्बोध्य लाग्नु स्वाभाविक नै छ ।

पाठकहरू भन्छन् – “नेपाली कवितामा क्लिष्टता एउटा पीडा भएर रहेको छ । नबुझिनुको समस्याले हामी ग्रस्त छौं ।”

केही कविताहरू त्यस्ता नबुझिने छन् होला तर ती किन बुझिएनन् भन्ने पनि प्रश्न सँगै छ । पाठकको कल्पनाको सीमाभन्दा अलिक परैको दूरीमा यदि कविता-चेत् उभिएको भए ती बुझिँदैनन् वा पाठकको पढ्ने परम्परागत अभ्यासभन्दा भिन्दै शैलीमा आएका भए पनि ती बुझिँदैनन् । आज नबुझिएको कुरा सधैं नबुझिने त हुँदैन नि ! हामी नबुझिएकोलाई बुझदै, रमाउँदै, थाहा पाउँदै त अघि बढिरहेका छौं, जीवनमा । नबुझेको कुरा बुझेको क्षण कति खुशी पनि भएका छौं । कविता नबुझदै फेरि बुझदै आइरहेकै हुन्छौं, सधैं । जीवन नै त्यस्तै नबुझिने- अलिक दिनपछि बुझिने, फेरि नबुझिने भइरहेको हुन्छ ।

अपरम्परित शब्दको प्रयोग, मिथकहरूको नयाँ अर्थ-प्रक्षेपण आदिमात्र दुर्बोध्यताको कारण बन्दैनन् कवितामा । अत्यन्त सरल भाषामा लेखिएका र सरल प्रतीक-मिथकले पनि तर कविता दुर्बोध्य हुन्छन् । भावको सघनताले, कविको भावसँग पाठकको भावको सामीप्य नहुनाले पनि कविता बुझिँदैनन् तर नबुझिएरै पनि ती राम्रा लागिरहेका, पढ्न मन भइरहेका हुन्छन् नै ।

आजका कविता बीसको दशकका कविताका तुलनामा धेरै नै सरल र सुबोध छन् तर यिनको सुबोधताभित्र पनि क्लिष्टताको मात्रा भने कमजोर भएको छैन । पढ्दै गयो बुझेको जस्तो लाग्दै मेटिँदै जाने चरित्रका कविता धेरै छन् । आज भावको गम्भीरता र प्रतीक विम्बको प्रधानताका यी नूतन विशेषता हुन् ।

बीसको दशकको प्रयोगवादी कविताको युगले क्लिष्टताको धेरै लामो आरोप खप्नुपरेको थियो । आज पनि क्लिष्टताको कुरा उठ्दा मोहन कोइराला, वैरागी काइँला र इश्वर बल्लभका नामहरू उदाहरणमा आउँछन् । त्यस कालका अरू पनि धेरै कविहरू क्लिष्टताको आरोपले सुशोभित छन् नै तर तीसको दशकमा प्रवेश गरेपछि कविताहरूले क्लिष्टताको मार्गबाट क्रमशः मुक्ति पाएको अनुभव गरेका हुन् पाठकले । यद्यपि समकालीन कविताको नाम पाएका तीसको दशकका कवितालाई पनि त्यति सरल त कहाँ मान्न सकिएला र ? तर समकालीन नेपाली कविताले २०४६ सालसम्मको प्रतिनिधित्व गर्दा यस १५ वर्ष भित्रको नेपाली राजनैतिक जीवनलाई पनि नजिकैबाट हेरेको देखिन्छ । शान्ति क्षेत्र, युद्धको विरोध, मानवतावाद, अन्तर्राष्ट्रियतावाद, विकासको चाहना, राष्ट्रवादी सोच प्रजातन्त्रको आग्रह आदि यस कालका कविताका मूल स्वर सुनिन्छन् ।

२०४६ सालपछि नेपाली राजनीतिमा आमूल परिवर्तन आयो । कविहरूका आग्रह र कविताले रोजेका क्षेत्रहरू भताभुङ्ग भए । प्रजातन्त्र प्राप्ति पछि हिजोका कुण्ठाहरू स्थगित भए । खुल्ला संसारमा प्रवेश भएको अचम्मको युग आयो । समकालीन कवि र तिनका कविताहरू २०४६ सालकै लक्ष्मणरेखामा थुनिए; तिनले त्यो रेखा नाघेर यता पस्नै सकेनन् । हिंडिरहेको बाटो अलमलिएझैं, सदा सुत्ने ओछयान साटिएझैं, आसन बदलिएको शरीरझैं भए कविहरू । तर नयाँ युगमा नयाँ चेतले नयाँ कविहरू फेरि पलाएर आए । हिजोको आदर्शवादी सोच, चेत् र आग्रहभन्दा भिन्दै प्रकारको माग र समस्याहरू देख्न थाले, नयाँ आँखाहरूले । अचम्मै राम्रा र अनौठा कविताहरू पनि आउन थाले । त्यसो त त्यत्तिकै नाप्पिएका, पात्तिएका नारा, गाली र फोहोरी कविताहरू पनि आए । सबै खाले अनुशासनका बाँधहरू भत्किएका गैरजिम्मेवार कवि पनि देखा पर्न थाले, तर आउने, उभिने र वास्तवमै नवचेतना बोकी आएकाहरू भने बिस्तारै जुँगा पलाउँदै, दारी पस्दै, छिप्पिँदै गइरहे ।

पचासको दशक नेपाली कविताको गौरवमय दशक हो । त्यसो त यस दशकले साहित्यका सबै विधालाई नै अत्यन्तै मुक्त र स्वतन्त्र आकाश दिएको हो । कविताले त झन् खुल्ला मैदान पायो । यसै आकाशमा कावा खाँदै विचरण गरिरहने एक्लै, छुट्टै र स्वतन्त्र उडिरहेको देखिने कवि हुन् – मनु मन्जिल । राजधानी बाहिर रहेर कवितालाई एउटा कलाकारले झैं बडा मेहनतका साथ गोड्ने परिस्कार गर्ने र सुन्दर प्रस्तुतिले भावको सम्प्रेषण गर्ने कलम पाएका, ‘आँधीको आवेग’ नामक कृतिका स्रष्टा आजका युवा कवि हुन् – मनु मन्जिल ।

हरेक युगमा कविताले नयाँ नयाँ परिभाषाहरू टेक्दै हिँड्नुपरेको छ । कहीँ चट्टानमा कहीँ सिस्नोघारीमा, कहीँ खुल्ला राजमार्गमा जहाँ जसरी हिँड्नु परे पनि तर यसले हिँड्नु परेकै छ, उभिन पाएको छैन । पाठकहरू यसका विशिष्ट छन्, पाठकीय विशिष्टता पनि कविताको समस्या बन्दछ । पाठक जति बौद्धिक र स्वयम् कल्पनाशील हुन्छ- कविताले त्यति नै द्रुत गतिमा अघि भाग्नुपर्छ । पाठकबाट भेटिनु हुँदैन कविताले । तर आजका पाठक स्वयम् यति गतिशील छन्, झण्डै-झण्डै छुन खोजिहाल्छन् चेतनाले । कविताको स्तरीयताको सधैँ प्रश्न उठिरहन्छ । सधैं कवितामा असन्तुष्टिहरू आइरहन्छन् । बोध गर्नुपर्छ त्यसबेला पाठकीय चेतनाले कविताको संवेगलाई भेट्न खोजिरहेको छ कि –

आजको एउटा समस्या यो पनि हो । पाठकीय प्रतिक्रिया वर्तमान कवितातिर भन्दा विगत तिरै फेरि फर्किएको पनि हामी पाउँछौं । अझै पनि देवकोटा, सम, लेखनाथ, रिमाल, मोहन कोइराला र वैरागीकै कविताका पुस्तक किन बाक्लै खोजिइन्छन् < के ती धेरै राम्रा भएर हो ? वा हाम्रा आजका कविताले तिनको भन्दा अघिल्लो चेतना दिन नसकेर हो ? युग आजको टेकेर बोध हिजोकै बोक्नुपर्ने बाध्यता पाठकलाई छोडिरहेका छौं कि हामी वर्तमान कविहरूले ? हाम्रा कवितामा शाश्वतताको कमी र क्षेत्रिक समसामयिकताको मात्र व्याप्ति भयो कि ? भरेनै भोलिनै पुरानो भइजाने विषयहरू पो हाम्रा कविताको मूलधार हुन पुगे कि ? यो आजको कविको लागि चुनौती हो ।

कविता कस्ता लेख्ने वा किन लेख्ने ? कवितामा के लेख्ने र कसका लागि लेख्ने ? यी शाश्वत प्रश्नहरू हुन् । तर यिनका उत्तरले कहिल्यै पूर्णता पाएका छैनन् । जसको उत्तर हुँदैन त्यसले के पूर्णता पाउनु ? एउटा प्रश्नका अनेक उत्तरहरू उहिलेदेखि नै छन् । धेरै विकल्पहरूले सुशोभित छौं हामी । विकल्प धेरै भएकैले बाँच्न सजिलो भएको पनि हो । यिनै अनेक वैकल्पिक उत्तरहरूको सुगमताले नै हामीलाई दिनदिनै नयाँ कविता लेखिरहन मन लाग्छ, पढिरहन मन लाग्छ । केही रूढ उत्तरहरू पनि छन् , जसले भन्छन्- ‘कविता खास वस्तुका लागि, खास समूहका लागि र खास उद्देश्यका लागि लेख्नुपर्छ ।’ त्यसरी लेखिन्छन् पनि, त्यसरी लेखिएका कविताहरू कुनै जन्मोत्सव-अङ्क, स्मृति-अङ्क वा स्मारिकाको सजावट जस्तोमात्र भएर रहन्छन् । त्यस्ता कवितामा गति हुँदैन । ती चेप्टा हुन्छन्, गुड्दैनन् । त्यहीँको त्यहीँ बसिरहन्छन् । सदा कालका लागि लेखिएको महान् भ्रममा तत्कालै मरिरहेका हुन्छन्, कैयौं यस्ता कविताहरू ।

“अर्थ” नै कविता हो ? गहिरिएर हेरे प्रष्ट हुन्छ – अर्थ कविता होइन । ती अर्थहरूले जन्माउन सकेका भावहरू, कल्पनाहरू, सङ्केतहरू कविता हुन् । कवितामा कविता जन्माउने सघन अर्थ छ ।’ (इ.ब.राई – सन्दर्भमा इश्वर बल्लभको कविता)

इन्द्रबहादुर राईको यो भनाइ कविहरू र कविताका समीक्षकहरूका लागि एउटा निकै ठूलो चुनौती हो । कवितामा अर्थको खोजी एउटा व्यर्थ यात्रा देखाउँछ यस भनाइले । र वास्तवमै एउटा प्रश्न जन्मन्छ नै- साँच्चै के अर्थ नै कविता हो त ?

मन्जिलको तुलना कसैसँग गरिरहन पर्दैन । उनकै कविता पनि कतिपय उनका आफ्नै कविताहरूसँग अतुलनीय छन् । गहिरो अध्ययन, गम्भीर चिन्तन र विषयप्रतिको मोहनीय अनुरागले कवि मनु एउटा छुट्टै चिनिने प्रतिभा हुन् । प्रकृतिले उनलाई दिएको गला र शरीर पनि एउटा व्यक्तित्ववान् कविको लागि सुहाउँदो छ । मनु मन्जिल मञ्चमा पुगेपछि सारा श्रोताहरू चुपचाप हुन्छन् र मनुमात्र एक्लै कवितापाठ गरिरहन्छन् । गहिरो कुवाबाट निस्किएर आएको कुनै तापसीको गूढ रहस्य बोकेको जस्तो ध्वनिले वातावरणलाई च्याप्पै समातेको हुन्छ र कविता ….. । ती त त्यसै पनि चम्किलो चेतनाका ज्योतिजस्ता लाग्छन् । सुन्दै गयो कहाँकहाँबाट आइरहेको देववाणीजस्तो कानमा र मनमा ठोकिन्छन्, सूक्तिमय भएर कविताका पङ्क्तिहरू ।

मञ्चहरूमा उनले पाठ गरी सुनाएका र पत्रपत्रिकामा फाट्टफुट्ट प्रकाशित उनका कविताहरू पढेर सधैं खुसी भइरहन्थें म । गहिरै प्रभाव पारेका थिए मनुका कविताले । एकताका विष्णुविभु, अशेष मल्ल, मिन बहादुर विष्ट र कृष्णभूषण बलका कविताले यस्तै लठ्ठ पर्थें म । निकै लामो समयपछि गाँजाको जस्तो नशा लाग्यो मनुका यी कविता पढेर ।

साह्रै आह्रिस लागेर आयो मलाई मनुका कविताहरूको । निकै मन परेको वस्तु जे पनि आफ्नै होस्, आफ्नै पारूँ जस्तो लोभ जसलाई पनि लाग्छ । मन परेको वस्तु अर्काको नहोस् । खुसी, रमाइलो र प्रशंसाहरू आफूसँगै मात्र रहून् जस्तो लागिरहन्छ मलाई सधैँ । मनुका कविताले त्यस्तै पार्‍यो । जुन हेर्‍यो- ‘यो त मैले लेख्नसकेको भए ….. ।’ जस्तो लागि हाल्ने । धेरै राम्रो र मनपर्दो वस्तु बढ्तै आफ्नो पार्न खोज्दा नष्ट पनि गरिन्छ नि हगि ! मलाई कुनैकुनै कविता त च्यातिनै दिऊँ जस्तो पनि लाग्यो – किन त्यति राम्रा, मीठा त ती ।

मनुका कवितालाई कहाँबाट चर्चा प्रारम्भ गर्ने ? उनका कविताको विषय, स्वर, सनदर्भ यति सशक्त र सुस्पष्ट छन्, ती प्रत्येक पाठकलाई पारदर्शी संगीत हुन्छन् । उनका कविता बुझन सहयोगीको आवश्यकता पर्दैन तर बुझिसकेपछि बुझन पो फेरि अर्कोपल्ट नदोहोर्‍याई हुँदैहुँदैन । यो बुझिसकेर फेरि बुझनुपर्ने, बोधभित्रको दुर्बोध्य परतचाहिं मनुले कसरी बुनेहोलान् ? मलाई अचम्म लाग्यो । यसै त मनुका कवितामा, भूपी, कृष्णभूषण वल, विष्णुविभु, कालीप्रसादका जस्तै सजिला विम्ब, प्रतीक र वाक्य संरचनाहरू छन् तर मीठो दुख्नेगरी च्याप्प मुटु समात्ने उनको बानी पो खराब । कविता पढ्दापढ्दै खै कहाँ त्यो गाँठो पर्छ – आफैं हुरुक्क ।

उनका कवितालाई प्रशंसाको यति लामो पुल नै किन हालिरहनुपर्ला र ! ती आफैं उठेर जुरुक्क – जुरुक्क कुद्न थालिहाल्छन्, संवेदनशील पाठकीय भावनाको मैदानमा । उछिनपाछिन गर्दै आउने पाठक मनलाई पनि एकछिन छेउमै चुपचाप उभिन बाध्य गर्राई जिम्नाष्टिक गर्छन् मनुका कविता । धेरै लामो अवधिपछि कवितामा यो सन्तुष्टि प्राप्त गरें मैले ।

कवितालाई विचारको भारी, सिद्धान्तको नोकर, आदर्शको हली बनाएर हिंडाउने परम्पराले दिक्क भएको यो पाठकमन कुनै कविता यसो शीर्षक र केही वाक्य पढ्दै थन्क्याउने भइसकेको थियो । छिचोल्नै मन नलाग्ने वाक्यहरूले पोतिएका चट्ट मिलाई बाइन्डिङ गरिएका आकर्षक चित्र खोलसहितका कागजको प्याकेट हातमा परिरहन्थे । हेर्दै थन्क्याउँदै । कविता मानिएकाहरूमा कुरा हुन्थे, कुरा भन्दा धेरै नारा हुन्थे, नाराभन्दा धेरै’ प्यारा’ हुन्थे । साँच्चै भनेको यो पचासको दशकले यति धेरै कविता लेख्यो कि वास्तवमा कवितै लेखेन कागजमा अक्षरहरू लेख्यो, वाक्यहरू लेख्यो ।

तर मनुका यी कविताले मेरो पूर्वाग्रही दृष्टिकोणलाई ठूलो धक्का दिएका छन् । मैले कवितामाथि नै अयोग्यताको आरोप लगाउनु गल्ती थियो भन्ने बोध गराएको छ । वास्तवमा कविताको आफ्नो छुट्टै पहिचान हुन्छ र त्यो मरेको छैन । नेपाली भावना र चेतनामा कविता नमरेको यी कविताहरू उदाहरण हुन् ।

तीसको दशकका कविताले विकास गरेको विम्ब र प्रतीकको प्रयोगको निरन्तरतामा छन् अधिकांश कविताहरू । मोहन कोइरालाका कविताहरूले जन्माउने गरेका विम्ब, प्रतीकहरूलाई नाघ्दै बीसको दशकमा प्रयोगवादी कविताले मिथकको ज्यादा प्रयोग गरे । नेपाली कवितामा अत्यधिक मिथकको प्रयोग बीसकै दशकमा भएको छ । अझ खोलेरै भन्दा नेपाली कवितामा मिथकको प्रयोगलाई व्यवस्थित गरिएको दशक नै बीसको थियो । मिथकका कारण दुर्बोधताको धेरै आरोप बोके त्यस कालका कविताले । एउटा-एउटा शब्दले युगयुगको पुरा कथा बोक्ने हुँदा पाठकको ज्ञानको सीमाका अघि ती जङ्गल जस्ता लाग्थे । तर कविता धेरै नै शक्तिशाली र सघन बनेको पनि मिथकले नै थियो ।

तीसको दशकका समकालीन कविताले मिथकलाई भन्दा प्रतीक र विम्बलाई बढी महत्व प्रदान गरे । यसबाट दुर्बोधताको अघिल्लो दशकको खुड्किलो एउटा उक्लिए कविहरू । जनजीवनले देखे-भोगेका विम्ब र प्रतीकहरू कवितालाई बुझाउन सक्नेथिए । धेरै नै लोकप्रिय बने तीसको दशकमा कविताहरू । अझ प्रजातान्त्रिक आन्दोलनका क्रममा होमिएका कविहरूको चेतनयात्राले पनि पाठकमा नयाँ उत्साह र पढ्ने जाँगर थप्यो । सडक कविता-आन्दोलन तीसको दशकका कविहरूका लागि एउटा ठूलो चौतारी बन्यो जहाँ आएर भेट भए सबै विचार र चेतनाले हिंडिरहेका कविहरू ।

मनुका कविताले हिँडेको बाटो पनि प्रतीक र विम्बकै राजमार्ग हो तर नयाँ नयाँ विम्ब प्रतीकहरूको सिर्जना गरी यी कविता चेतनामा मार्तोलझैं ‘ठङ-ठङ’ ठोक्किन आइरहन्छन् । परम्परागत विम्बहरू झन्डै बहिस्कृत छन् यहाँ । आजको सन्दर्भमा आजकै नव प्रतीकहरू पाठकलाई झस्काउन र छ्याङ्ग पार्न उभिन्छन् अगाडि ।

आख्यानले उभिएका यी कविताहरू कतिकति बेला आफ्नै प्यारी बहिनीजस्ता लाग्छन्, जसलाई माया गरेर हेरिरहूँ, छेउमा बसाऊँ र सोधूँ- “बहिनी कस्तो छ ? खुसी नै छौ त ?”

तर कविताहरू कुनै ठाउँमा दुःख पाएर, गलाभरि अवरुद्धता र आँखाभरि आँसु बोकेर माइत आएकी बहिनीजस्ता छन्, कुनै बेला रोइ पनि हाल्छन् कुनै बेला मनमा एकथोक भए पनि मुखले अर्थोक नै भनी ढाँट्न खोजिरहेका हुन्छन् । कुनैकुनै कविता-बहिनीले मज्जाले रुन आमा खोजिरहेजस्ता पनि छन् । केही ठाउँमा निक्कै रिसाएकी र अब त्यस घरमा मर्दा पनि फर्किएर जान्न भन्न खोजेकी जस्ता पनि छन् । जे होस् कविता पढ्दै जाँदा प्रत्येक कविताले भित्र कहाँ कहाँ भावुक, संवेदनशील, विद्रोही के – के, के- के बनाइरहन्छ ।

नारीलाई हेर्ने दृष्टिकोण राष्ट्रलाई हेर्ने दृष्टिकोण, युग र समयको मूल्याङ्कन, प्रजातन्त्रप्रतिको सचेतना यी कविताका आधार भूमिहरू हुन् । झन् मज्जाले नै दिल खोलेर कुरा गर्ने हो भने – मनुका कविता प्रजातन्त्रका लागि मर्न तयार सहीदीय आकाङ्क्षाले प्रेरित पनि हुन् । उनले समसामयिक विकृति र विडम्बनामा अल्झेर, अलमलिएर प्रजातन्त्रको खिल्ली उडाइरहने आजको कराँसे बौद्धिकहरूको सोचलाई आफूछेऊ आउन दिएका छैनन्, स्पष्ट छन् उनी आफूसँग र समय चेतसँग । इतिहासका हरेक उचाइ र गहिराइलाई चिनेका तिनले समसामयिक संवेग नै युगान्तकारी निर्णय होइन भन्ने बुझेका रहेछन् । त्यसैले उनका कविता आत्तिएका पनि छैनन्, हतारिएका पनि छैनन्, निराश पनि छैनन् । एउटा धैर्यशील र दूरदर्शी तापसीझैं शान्त र त्रिकालीय दृष्टि चेतले उभिएका लाग्छन् यी कविता ।

पत्नी, छोराछोरी, आमाबाबु, समाज सबै छन् कवितामा । पत्नीको घरभित्रको जीवनलाई मिहिनपाराले हेरिएको कविता ‘उनी कविता जीवनको रङ्गले लेख्छिन्’ले प्रत्येक पाठकलाई आफ्नी पत्नीप्रति सोच्न र तिनको जीवनलाई हेर्न बाध्य गराउँछन् आज तिनै पत्नी रिसाउँदा- ‘घरको आँधी’ कस्तो हुन्छले छर्लङ्ग पार्छ । तिनले केही नबोली सुरुसुरु काम गरिरहँदाको घर र तिनले चित्त दुखाई रिसाउँदाको घरभित्रको चित्रण प्रत्येक परिवारको जीवन्त कथा हुन्छ । सरदर समयमा उनी –

उनी अक्षर जान्दिनन्

तर सुन्दर कविताहरू लेख्छिन् ।

सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन्

घामले मझेरी र आँगन पोतिसक्छिन्

अँगेनामा न्यानो पोखिसक्छिन्

बिहानै घरभरि बिहान छिरिसक्छ

पूजाकोठामा बलेको धूप

आशीर्वादको महक बोकेर चोटाकोठा पुगिसक्छ

म ब्यूँझदा उनी घरभरि जीवन लेखिसक्छिन् ।

(उनी कविता जीवनको रङ्गले लेख्छिन्)

तर उनी रिसाइन् भने-

उनी रिसाउँदा घरभित्र यौटा आँधी पस्छ

झयाल-ढोका, थाल र रिकापीहरू

मस्तिष्क चर्कने गरी बज्छन् ।

सारीको सप्को उनको पटुकीभित्र खाँदिन्छ

चुल्ठो फुक्छ असरल्ल

तूफान उठ्ताको कालो बादलजस्तो ।

(घरको आँधी)

ला ….. । उनी रिसाएको यस्तो बेला अब कतिञ्जेल रहला ? घर अब के होला ? मन त्यसै डराइरहेकोमा –

तर एकैछिन हो,

आँधी घर हल्लाएर गैसकेको हुन्छ

हेर्नू, अझै उनको अधरबाट जून खसेको हुँदैन ।

(घरको आँधी)

ए ….. । तर त्यो आँधी एकैछिनको हुँदो रहेछ । विस्तारै उनी फेरि जीवनको रङ्गले कविता लेख्न थाल्दिरहिछन् । घरभित्रको जीवनलाई कविले यी दुइवटा कविताबाट दुइ अवस्थाको चित्रण गरेका छन् । घरभित्र पत्नीको महत्व, हैसियत र स्थानको सुन्दर मीमांसा भएको छ यहाँ । तिनको सामान्यताको जीवन जो घरको प्राण हो, तिनको असन्तुष्टि र विद्रोह घरको एउटा भयङ्कर आँधी । आमाहरूको महत्वलाई हेरिएको यस कविताले नारीको जीवन पुरुषसँग कसरी अविभाज्य रहेछ चिनाउन खोज्दछ ।

पत्नीबाट केटाकेटीतिर सर्छन् उनी –

लुकामारी खेल्दाखेल्दै केटाकेटीहरू

मेरो बस्तीमा बाक्लै लाग्ने हुस्सुमा गएर हराउँछन्

बताससँगै कहाँकहाँ कुदेर आउँछन्

घरी पानीसँगै रुझेर आउँछन्

घरी यी मसिना साँढेहरू

चोटै लाग्ने गरी कतै जुधेर आउँछन् ।

लाग्छ- मकैबारीबाट

बट्टाई लखेटेझैं लखेटूँ सैतानहरूलाई

र ढुक्क बसूँ !

तर बालक बिनाको घर

धुन रित्तिएको सारङ्गी बन्छ

तारा नभएको रातको आकाश बन्छ

म के गरुँ –

(केटाकेटीहरू)

बालकहरूको चकचके जीवनलाई सरल र मिहिन पाराले हेरेका तिनले तर यो केटाकेटीपनलाई राष्ट्रको बेथितिसँग पनि जोडी व्यङ्ग्य गरेका छन् –

केटाकेटीहरू त चकचके नै राम्रा !

केटाकेटीलाई जत्तिको कसैलाई सुहाउँदैन

बदमासी, होहल्ला, झूट र केटाकेटीपन ।

तर केटाकेटीहरूबाहेक

यो देशका अरू मान्छेहरूले चाहिँ

अलिक गम्भीर भैदिएकै सुहाउँथ्यो कि –

(केटाकेटीहरू )

यो देशका ठूला मान्छेहरू केटाकेटीभन्दा पनि गैर-जिम्मेवार भएका र राष्ट्रमाथि धेरै नै बदमासी, होहल्ला, झुठ र केटाकेटीपना गरेका माथि चित्त दुखाएका छन् । कवि कवितामैं यति राम्ररी कुराहरू भन्न सक्छन् कि तिनलाई लामै व्याख्या गर्दा पनि नपुगेको भान हुन्छ ।

पुर्खाले कमाएर छोडिदिएको पैतृक सम्पत्तिले परितृप्त भई बसिरहेको अल्छी सन्तानका रूपमा नेपाली राष्ट्रिय जीवनलाई देखेका छन् कविले । यथार्थमा अवस्था यस्तै छ आजको हाम्रो । हामीलाई पुर्खाले छँदै नभएको देश बनाइदिएका थिए तर त्यसलाई सिङ्गारपेटार समेत गर्न नसकी त्यत्तिकै बसिरहेका हामीलाई कवि भन्छन् –

म पुर्खाले छाएको छानोले वर्षात् रोक्छु

पुर्खाहरूले उभ्याएको आँगनले आँधी छेक्छु

मसित मैले नबनाएको यौटा सुन्दर घर छ

मैले नकमाएको ऐश्वर्य छ ।

(पुर्खाहरूप्रति)

देशको वर्तमान स्थितिलाई कति सरल पाराले तर डरलाग्दोसँग देखेका छन् तिनले तिनी भन्छन्-

खुसीको कुरा

यो रात पनि सरकारले

कर्फ्यूको आदेश जारी गरेन ।

(कर्फ्यू नलागेको रात)

प्रत्येक रात कर्फ्यू भोगिरहन बाध्य भएको हाम्रो जीवन कुनै रात कर्फ्यू नलाग्दा कति खुसी हुन थालेको छ । देश आफ्नो भएर पनि अब नागरिकहरू देशका हुनसकेका छैनन् । एक ठाउँबाट अर्को ठाउँमा जान प्रतिबन्ध छ । आतङ्कको अज्ञात भयले मानिसहरू आफ्नै घरभित्र स्वकैद जीवन भोगिरहेको आजको वर्तमानलाई भन्न यत्ति तीन हरफ अभिव्यक्तिनै पूर्ण देखिन्छ । त्यसमा अर्को कविताले थप्छ केही कुरा यसरी –

यो बेला

जीवन बोधले ओतप्रोत

उत्साहित मान्छेहरूको लहर सम्भव छैन

र, तानाशाह प्रसन्न छ

आज जुलुस निक्लने सम्भावना छैन ।

(शीतलहर)

यी दुइ कविताले भिन्दाभिन्दै पृष्ठबाट एउटै कुरा भन्दै छन् अलगअलग शीर्षकमा कर्फ्यू आदेश जारी नहुनुमा जुलुस निक्लने सम्भावना नहुनुरहेछ । प्रत्येक जुलुस कर्फ्यूको उत्पादक बन्दो रहेछ अचेल । अचेल यहाँ स्वतन्त्रताको र मानवीय मूल्यको अनायासै ह्रास भएको बेला हो । उनी वर्तमान नेपाली राजनैतिक जीवनमाथि व्यङ्ग्य प्रहार गर्दै भन्छन् –

धरतीमा साँझ ओर्लेको समय

मेरो देशको

सबभन्दा शालीन र सुन्दर समय हो ।

(साँझ)

अर्थात्, प्रजातन्त्रका सबै अधिकारहरू निलम्वित जस्तो भएको भावनात्मक रूपमा अन्धकारबोध हुने यो समय तर कसैलाई त सबैभन्दा शालीन र सुन्दर नै लागेको छ । त्यसैमा प्रफुल्ल र सन्तुष्ट पनि छन् । तानाशाहीभित्र पनि प्रजातन्त्र हुन्छ, त्यसलाई स्वीकार गरेपछि । तानाशाहीलाई स्वीकार गर्नेहरूलाई कहाँ छ जेल, नेल र हत्कडी, कहाँ छ रोकटोक, कहाँ छ स्थानहद – संसारमै प्रजातन्त्र भनेको आफ्नो तन्त्रप्रतिको समर्थकलाई उपलब्ध हुने अधिकार त हो नि ।

तर प्रजातन्त्र प्रतिको उनको विश्वास यति अटल देखिन्छ, उनी लेख्छन्-

बगून समयका यी बगरमा केही उत्ताल भेलहरू

केही त बगोस् पनि पग्लेर

ज्यादै भो जमेको यो आँसुको हिमाल

लागोस् केही चोट यो लाटोपन उँगिबसेको पनि धेरै भो ।

भरिएनन् दुखद् कहानीले इतिहासका केही पृष्ठहरू

यति अप्ठेरो कुदेर नथाक्ला समय

केही त्रासद् अनुच्छेदहरू लेखिएर इतिहासको बिट नमारिएला ।

नयाँ पृष्ठहरूमा फेरि मान्छेका अनगिन्ती सुखद् कथाहरू पढ्न पाइने तिर्खामा

म एक दुइ घुड्को अमिलो पानी प्यूँन तयार छु ।

(उज्यालाको गीत)

कुनै दिन उज्यालो आउलाको प्रतीक्षामा वर्तमान अँध्यारोलाई स्वीकार गर्दै बाँचिरहेको एक प्रतीक्षित मन यहाँ उभिएको छ । निराशा, कुण्ठा र हीनताले ग्रस्त नभई, आशाजनक जीवन बोकेको छ कविले आफ्नो मनमा ।

प्रत्येक कविताले छुट्टाछुट्टै व्याख्या माग्छन् । लामो-लामो व्याख्याका पृष्ठहरू मागिबसेका मनुका कवितालाई म हृदयदेखि नै स्वागत गर्छु

पचासको दशकको मध्यतिर देखि साठीको प्रवेश वर्षसम्म लेखिएका कविताहरू समाहित मन्जिलको कवितासंग्रह २०६२ भदौ ३१, विराटनगर वाणी प्रकाशनबाट प्रकाशित भएको हो । यस संग्रहभित्रका कविताले (२०५६-०६१) ६ वर्षको कविको र देशको मनस्थितिको चित्रण गरेका छन् । तर कविताले समसामयिकताको घेरोलाई यसरी नाघेका छन् कि यिनलाई जहिले र जुन युगमा पनि रमाउँदै आफ्नो जीवन पढ्न सक्नेछ भविष्यले ।

नकारात्मक सोच नभएका, अनियन्त्रित विद्रोह नबोकेका, हीनता, पलायनता र निराशा वर्जित रहेका, जीवनसँग ज्यादै घनिष्ठ सम्बन्ध राख्ने यी कविता जति पढ्यो त्यति मीठो र रमाइलो हुन्छ यहाँ । विषयलाई हेर्ने मनुको कोल्टे आँखै रमाइलो । ‘दुस्मन’ शीर्षकको कवितामा उनले देखेको दुस्मन कति प्यारोप्यारो –

दुस्मन नहुनु भनेको त

आफूतिर हरदम फर्किरहने

जीवनको यौटा रमाइलो पाटै नहुनु हो रहेछ

म त्यो पाटोलाई फूलजत्तिकै मन पराउँछु ।

(दुस्मन)

 

ओ ! दार्शनिक कवि ! बधाई छ ।

जीवनलाई हेर्ने यो दृष्टिचेतको स्वागत गर्दछु ।

नेपाली कवितामा एउटा थप भो यो इँटा

माथि चढ्न प्रेरित गर्ने लिस्नो बनोस्

उठौं तिम्रै कविताहरू पनि टेक्दै माथि-माथि जीवनमा ।