अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

ह्युस्टनमा दशैं शुभकामना साँस्कृतिक कार्यक्रम: शीला आले र मिलन लामाले नचाए दर्शकलाई (फोटो फिचर सहित)

बिआरटीनेपाल २०७४ असोज ९ गते ७:५३ मा प्रकाशित
सुजन पण्डित, ह्युस्टन,

प्रवासमा दसैँ मनाउनु धार्मिक-सांस्कृतिक परम्पराको निरन्तरता मात्र होइन एउटा बृहत् नेपाली एकता र भाइचारा अभिबृद्दी गर्ने र आपसी शुभकामना आदान-प्रदानको अवसर समेत हो। यसै सन्दर्भमा नेपाली समाज, ह्युस्टनको आयोजनामा स्थानीय ताजहलमा दसैँ शुभकामना सहितको सांस्कृतिक कार्यक्रम सम्पन्न भएकोछ। शनिवार साँझ(सेप्टेम्बर २३,२०१७)आयोजित कार्यक्रममा चर्चित लोक तथा दोहरी गायक मिलन लामा तथा गायिका शीला आले सहित स्थानीय कलाकारहरू समेतको निकै रमाइलो प्रस्तुति रहेको थियो।‘हंगकंग आईडीले’, ‘माझीदाई पोखरा फेवातालको’ जस्ता चर्चित लोकगीत गाएर दर्शकहरुलाई छमछमी नचाएका मिलन लामाले शीला आलेसंगको दोहरीमा समेत दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए। शीलाले ‘छम्म छम्म.. नाचीदेउ कम्मर भाँचिदेउ, दिनरात झल्को आइरहन्छ’ जस्ता गीत गाएर साङ्गीतिक माहौल तताएकी थिइन्।

साँझ ८ बजेदेखि करिब १२.३० बजेसम्म चलेको साङ्गीतिक कार्यक्रममा स्थानीय कलाकार कृति सापकोटाले ‘डाँफेझैं नाच्ने हिमाल झैँ हाँस्ने, नेपालकी छोरी हुँ म’ बोलको गीतमा गरेको सुन्दर नृत्यले सबैको ध्यान खिचेको थियो। बालकलाकार सुमनराज घिमिरेले तोतेबोलीमा गाएको ‘सम्झी दिनेलाई भुलिदिनेलाई, माया त माया हो’ गीत होस् वा बालकलाकार द्वय काव्या नेपाल र आर्या जोशीको ‘मै छोरी सुन्दरी, कसरी भरौं पानी’ गीतमा गरिएको नृत्य निकै राम्रो थियो। केही महिना पहिले मात्र ह्युस्टनमै दिवङ्गत गायक वसन्त सुनारका दुई छोरीहरुको गीत तथा नृत्यलाई सबैले मन पराए र उनीहरू मार्फत उनका स्वर्गीय बाबुलाई एक पटक फेरी सबैले सम्झिए।

नेपाली तथा अमेरिकी राष्टियगानबाट सुरु भएको दसैँ शुभकामना कार्यक्रमको पहिलो सत्र समाजका अध्यक्ष ज्योति घिमिरेको स्वागत मन्तव्य सहित एनएएचले गत छ महिनामा गरेको महत्त्वपूर्ण सामाजिक कामहरूको विवरणबाट सुरु भएको थियो। नेपाली समाजले यो वर्ष नेपालीहरूको आफ्नै मन्दिर बनाउने अभियानले सार्थकता पाएकोछ। ‘नेपाली समुदायकै सहयोगमा अर्को महिनासम्म नेपालीहरूको आफ्नै पशुपति मन्दिर र सामुदायिक भवन हुँदैछ भन्दा ह्युस्टनमा बस्ने सबै नेपालीलाई गर्व महसुस भएको हुनुपर्छ’, सहभागी दर्शक तथा कलाकारहरुलाई स्वागत गर्दै अध्यक्ष घिमिरेले बताए। मन्दिर अभियानका लागि ह्युस्टनवासी नेपालीहरूलाई अझै दिलखोलेर सहयोग गर्न पनि घिमिरेले आव्हान गरेका थिए। नेपालमा आएको बाढीबाट प्रभावितहरुलाई सहयोग, ह्युस्टनमा ‘हर्रिकेन हार्भी’का कारण आएको बाढीबाट प्रभावित नेपालीहरूका लागि सहयोग, नेपाली समुदायका विभिन्न सदस्यहरूको उपचार तथा मृ्त्यु संस्कारमा सहयोग लगाएतका असल कामहरू नेपाली समाज ह्युस्टनले गत छ महिना भित्र गरेकोछ।

कार्यक्रममा हालसालै निर्वाचित एनआरएन टेक्सस च्याप्टरका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष द्रोण गौतमले एनआरएन एनसीसी, अमेरिका- टेक्सस च्याप्टरका तर्फबाट हर्रिकेन हार्भी प्रभावित नेपाली समुदायका आठ परिवारका लागि राहत स्वरूप ८ हजार डलर सहयोग घोषणा र प्रतिबद्धता पत्र हस्तान्तरण गरेका थिए। गौतमले सो प्रतिबद्धता पत्र एनएएचका उपाध्यक्ष विजय बोखिमलाई हस्तान्तरण गर्दै एनआरएन एनसीसी, अमेरिका सधैँ नेपालीहरूका हक हितकालागि सक्रिय रहने जानकारी गराए।

नेपाली समाज ह्युस्टनको महासचिव विष्णु नेपालद्वारा सञ्चालित औपचारिक सत्रमा एनएएचका दशैंसाँझको सुरुमा छोटो औपचारिक कार्यक्रममा नेपाली समाज ह्युस्टनका वरिष्ठ उपाध्यक्ष समीर रावलले एनएएचका विविध गतिविधिहरूमा सहयोग पुय्राउने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए भने एनएएचका कोषाध्यक्ष रविन श्रेष्ठले नेपाली मन्दिर सहयोग सङ्कलन अभियानका बारेमा जानकारी गराएका थिए।

कलाकार द्वय मिलन लामा र शीला आलेको प्रस्तुतिको प्रशंसा सहित स्थानीय समाजसेवी एवं एनएएचका सदस्य चन्द्रकान्त शर्साँमाले आफ्नो व्यक्तिगत तर्फबाट २ सय डलर समेत प्रदानगरेका थिए। यसअघिका सास्कृतिक जमघटमा भन्दा कम सहभागिता रहेको सांस्कृतिक कार्यक्रमको सञ्चालन जनक थापा र गङ्गा गौतम पोखरेलले संयुक्त रूपमा गरेका थिए ।

video

फोटो: सुजन पन्डित 



















प्रतिक्रिया